
काठमाडौँ
सर्वोच्च अदालतले नेकपाको नाम विवादको फैसला टुंगो लगाउँदै २३ फागुनमा पूर्व एमाले र पूर्व माओवादी ब्युँताएपछि वर्तमान एमालेभित्र पेलाईमा परेको माधव नेपाल समूहले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाएको छ।
नेपाल पक्षका २ निकट कार्यकर्ताले दुई दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत राखिएको छ । उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
नयाँ दल दर्ता गर्दा पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गरिएको छ ।राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशबाट उमेदवार बनेका खिमलाल देवकोटाले कलम चिन्ह लिएर चुनाव जितेका थिए । नयाँ बन्नसक्ने पार्टीको चुनाव चिन्हलाई नै ध्यान दिएर देवकोटाले कलम चिन्ह मागेको स्रोतको दाबी छ।
पार्टीको उपाध्यक्षमा कल्पना गुरूङ र महासचिवमा विनोदकुमार खुलाललाई तोकिएको छ । त्यस्तै सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् । आयोग उच्च स्रोतले पनि नयाँ दल दर्ताका लागि राईले केन्द्रीय समिति सहित निवेदन दिएको पुष्टि गरेको छ। यतिबेला आयोगमा पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ।
सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुने जनाइएको छ । राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको बताए । यस्तै नेकपा लोकतान्त्रिक पनि दर्ताको तयारीमा छ । सुदीप रुवाली अध्यक्ष र सृष्टी बराल महासचिव रहेको उक्त पार्टी निषेधाज्ञाकै बीच दर्ताका लागि गए पनि आयोगले विधान नमिलेको भन्दै फिर्ता पठाएको थियो । दल दर्ताका लागि निवेदन आएको तर त्यो प्रक्रियामै रहेको आयोगले जनाएको छ।
विधानमा संशोधन गरेर बिहीबार पुनः दर्ताका लागि निवेदन दिइएको रुवालीले बताए । रुवाली माधव नेपालपक्षीय युवा संघका केन्द्रीय सदस्य हुन् । चितवनका रुवालीले सो समूहका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेललगायतसँगको सल्लाहपछि दल दर्ताका लागि निवेदन दिएको बताइएको छ।
महासचिवमा प्रस्तावित बराल भने भर्खरै एलएलबीको पढाइ सकेकी नवोदित कानून व्यवसायी हुन्। उनी भने कुनै भ्रातृ संगठनमा संलग्न नरहेको बताइएको छ । प्रस्ताविक कार्य समितिको पदाधिकारीमा उपाध्यक्ष धिरेन्द्र शाही, सचिव बासुदेव भट्टराई, कोषाध्यक्ष निर्मला कोइराला छन्।
त्यस्तै सदस्यहरुमा हिरासिंह धामी, विपिन वनेम, सुशीला कर्माचार्य, सम्झना कार्की, धनबहादुर लामा, अजयकुमार पटेल, पूजा राई, दिनेशमान श्रेष्ठ, दानबहादुर थापा मगर, सुमित्रा शाह, भागिरथी पन्त सेढाई, ईश्वरी बुढाथोकीलगायत छन् । माधव नेपाल समूहका मुख्य नेताहरूको सहमतिमै संस्थागत ढंगले विधान मस्यौदा गरेर दल दर्ताका लागि निवेदन गरिएको एक सदस्यले बताए । उनीहरूले पार्टीको चुनाव चिन्ह तारा माग गरेका छन्।