बुधबार ०४ जेठ २०७९

लमजुङ । लमजुङका महिला पत्रकारलाई लमजुङ सेवा समाज कतारले स्वास्थ्य सामग्री सहयोग गरेको छ। सञ्चारिका समूह नेपाल जिल्ला शाखा लमजुङको समन्वयमा लमजुङ सेवा समाज कतारले सामग्री सहयोग गरेको हो। मंगलबार बेंसीशहरमा एक कार्यक्रमकाबीच ३५ जना महिला पत्रकार तथा सञ्चारकर्मीलाई मास्क र स्यानीटाइजर लगायतको सामग्री प्रदान गरेको शाखा अध्यक्ष बसन्त भट्ट बानियाँले बताइन्।

उनका अनुसार जिल्लामा कार्यरत क्रियाशील महिला पत्रकारलाई लक्षित गरी सामग्री प्रदान गरिएको हो। शाखाका सचिव बेलिना थापाका अनुसार लमजुङ सेवा समाज कतारको सहयोगमा १० हजार रुपियाँ बराबरको सामग्री प्रदान गरिएको हो।

३५ जनालाई एकरएक प्याकेट मास्क, १०० एमएलको एक÷एक वटा स्यानीटाइजर प्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लमजुङ सेवा समाज कतारका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार नवराज नखोलाले विदेशमा रहेर पनि संस्था जन्मभूमिका लागि सहयोग गर्दै आएको बताए। नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले विदेशमा रहेकाहरुको संस्थाले जिल्लाका पत्रकारका लागि सहयोग गरेर राम्रो काम गरेको बताए।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान अध्यागमन विभागले खारेज गरेको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो ।

उक्त सूचनाको चौतर्फी बिरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेशिन सोमबार जडानको काम सुरु भइसकेको र अब पर्यटकहरुले अनअराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए। विमानस्थलले अनअराइभल भिसाका लागि नगद बोक्नुपर्ने प्रावधान हटाइएपछि नेपाल आउने विदेशी पर्यटकका लागि सहज हुने अपेक्षा लिइएको छ ।

विमानस्थलको अध्यागमन कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकको सहजताका लागि भन्दै राष्ट्रिय वाणिज्य बैंकका दुईवटा एटिएम मेशिन र दुईवटा पिओएस मेशिन थप गर्न लागिएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभु बैंकको एउटा एटिएम मेशिन मात्रै भएको र उक्त मेशिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो । अनअराइभल भिसाका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि यात्रु प्रस्थान कक्षमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेशिन राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


Last Updated on: April 19th, 2022 at 7:46 pm
५० पटक हेरिएको

तपाईको प्रतिक्रिया