शुक्रबार ०५ आश्विन २०८०

तुलसीपुर, १६ वैशाख – दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्नुहुन्थ्यो । विदेशमा उहाँको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किनुभएका केसी पछिल्लो समय गाईपालनमा रमाउनुभएको छ । उहाँको आफ्नै गाईफार्म छ ।

केसी दिनभर गाईको गोबर सोहर्नुहुन्छ । गाईलाई दाना–घाँस खुवाउनुहुन्छ । साँझ बिहान भने उहाँ गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किनुहुन्छ । बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ । आम्दानी पनि उत्तिकै छ ।

केसी रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र तीन वर्ष साउदी अरबमा बस्नुभयो । “यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किए”, उहाँले भन्नुभयो । केसीले २०७४ सालदेखि व्यावसायिकरुपमा गाईपालन गर्न थाल्नुभएको हो । उहाँले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल हुनुभएको छ । “मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, पसिना आफ्नै देशमा बगाउनुपर्दो रहेछ”, उहाँले भन्नुभयो, “अब विदेश जाने सोचै छैन ।”

केसीले अहिले मासिक करिब रु एक लाख २० हजार बराबरको कारोबार गर्दै हुनुहुन्छ । सबै खर्च कटाएर रु ५० हजारदेखि रु ८० हजारसम्म नाफा हुने गरेको उहाँ बताउनुहुन्छ । घर परिवारसँग पनि छुट्नु नपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ । केसीले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गर्नुभएको हो । अहिलेसम्म उहाँले उक्त संस्थाबाट रु पाँच लाखसम्म ऋण लिइसक्नुभएको छ । हाल १८ गाई पाल्दैआएकामा सात गाईले दूध दिन्छन् । त्यही दूध नै उहाँको आम्दानीको स्रोत हो । दैनिक ७० लिटरसम्म दूध उत्पादन हुन्छ । केसीले होलिस्टेन र जर्सी जातका गाई पाल्नु भएको छ ।

व्यवसायमा रु ३५ लाखको हाराहारीमा लगानी भएको छ उहाँले त्यो लगानी उठाइसक्नुभएको छ । लगानी उठेर चार कट्ठा जग्गा किनेको बेसीले बताउनुभयो । उहाँले रु १० हजार तलब दिएर एक कर्मचारीसमेत राख्नुभएको छ । दूध बिक्री गर्न बजारीकरणको समस्या छैन । “किसानलाई सरकारले कम्तीमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ”, केसीले भन्नुभयो । उहाँले चितवनबाट एउटा गाई रु ८० हजारमा खरिद गरेर ल्याउनुभएको हो ।

केसी गाईपालनमा मात्र होइन् बाख्रापालनमा पनि लाग्नु भएको छ । हाल उहाँको खोरमा २६ बाख्रा छन् । बाख्राबाट वार्षिक रु एक लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । यसलाई अझै व्यवस्थित बनाएर लैजाने केसीको योजना छ । उहाँको यो व्यवसायबाट परिवार पनि खुसी छ । “श्रीमान् विदेश हुँदा घरमा एक्लै हुनुपथ्र्यो”, श्रीमती सरिताले भन्नुभयो, “अहिले परिवारमा सँगै छौँ, घर चलाउन पनि सजिलो भएको छ ।”

 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई मनोनयनन फिर्ता लिन आह्वान गरेका छन् ।

सभापति देउवाले बिहीबार अपिल जारी गर्दै बजेसम्म पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र रुपमा मनोनयनन दर्ता गरेकालाई शुक्रबार बेलुका ५ सम्म उम्मेदवारी फिर्ता लिन आह्वान गरेका हुन् ।

देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गरेको उम्मेदवारी फिर्ता लिन सभापति देउवाले आग्रह गरेका हुन् ।

‘देशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ः०० बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु,’ देउवाले भनेका छन् ।

सभापति देउवाको अपिल

आदरणीय साथीहरू,

देशभरका वालिग मतदाताहरू स्थानीय तहमा आफ्ना प्रतिनिधि निर्वाचित गरी आगामी पाँच वर्षका लागि स्थानीय तहको सरकारको नेतृत्व सुम्पन अत्यन्तै उत्साहका साथ सक्रिय रहेका छन् । पाँच वर्ष अगाडि भएको स्थानीय तह निर्वाचनमा निर्वाचित राजनीतिक दल र जनप्रतिनिधिहरूको कार्यशैलीको समग्र मुल्याङ्कन गर्दै आगामी दिनमा थप योग्यता र निष्ठाको कसीमा खरो उत्रिने प्रतिवद्धताका साथ आफ्नो पार्टी र पार्टीले प्रस्तुत गरेका उम्मेदवारहरू र एजेण्डाको पक्षमा सुदृढ जनमत तयार गर्न सम्पूर्ण पार्टीपंक्ति हार्दिक एकताका साथ जुटिरहेको छ ।

नेपाली जनताको दशकौं लामो संघर्ष, त्याग, तपस्या र वलिदानीबाट स्थापित नेपालको संविधान बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनाको स्थापना र स्थानीय तहसम्म अधिकारको बाँडफाँट र राज्यका निकायहरूको उपस्थितिले आमजनता लाभान्वित हुन पुगेको यथार्थमा दुई मत छैन ।

आदरणीय साथीहरू,

मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण र सुदृढीकरण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउन मुलुकमा लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरूका बीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनु पर्ने यथार्थतालाई आत्मसात गर्दै, प्रतिगमनलाई परास्त गरी राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धिका लागि आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा. (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पाँच दलका बीचमा देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो ।

एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु । तर, पार्टीको विजयका लागि “साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।

यसर्थ, पाँच दलीय गठवन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै, नेपाली कांग्रेस पार्टीकै नेतृत्वमा पाँच दलका बीचमा भएको स्थानीय तहको निर्वाचन सम्बन्धी तालमेलका विषयमा पाँच दलीय गठबन्धनको पटक–पटक बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि केन्द्रीय कार्यालय मार्फत पार्टीका देशभरका सातवटै प्रदेश कार्यसमिति, ७७ रै जिल्ला कार्यसमिति र सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति लगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको र पार्टीका सबै सदस्यहरूलाई अनुरोध र आह्वान गर्दा गर्दै पनि, पाँच दलीय गठबन्धनको निर्णय र सहमति अनुसार, पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनु पर्नेमा, त्यसको विपरित पार्टीकै साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको र गठबन्धन गरिएका दलहरूका बिचमा भएको सहमति अनुसार उम्मेदवारी छाड्नु पर्ने स्थानमा समेत उम्मेदवारी दर्ता गराएको पाइएकोले,

देशभरका स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ः०० बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु ।


Last Updated on: April 29th, 2022 at 10:42 am
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया