बुधबार ०४ जेठ २०७९

चितवन – चितवन भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले आफू कुनै हालतमा पछि नहट्ने अडान दोहोर्‍याएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भरतपुरस्थित होटल सिराइचुलीमा करिब १० मिनेट संवाद गर्ने क्रममा उम्मेदवार पौडेलले आफू चुनावी अभियानमा होमिइसकेकाले पछि हट्न नसक्ने जवाफ दिएका छन् । भरतपुरमा आज (बिहीबार) सत्ता गठबन्धनले गर्न लागेको संयुक्त चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच भेटवार्ता भएको हो । वार्तामा जगन्नाथसँगै, मीना खरेल र कृष्णलाल सापकोटा पनि सहभागी थिए ।

जगन्नाथलाई मेयरको उम्मेदवारमा खरेल समर्थक र सापकोटा प्रस्तावक छन् । तर जगन्नाथसहित उनीहरु तीनै जनालाई कांग्रेसले निष्काशित गरिसकेको छ । ‘हाम्रो पुरानै अडान छ । यहाँ कांग्रेसले मेयर पाउनु पर्छ भन्ने मेरो कुरा हो’, भेटबारे उम्मेदवार पौडेलले भने, ‘यदि मैले पछि हट्नु पर्छ भने रेनु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ । त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नु पर्छ । यदि त्यसो हुन्छ भने म पछि हट्न तयार छु ।

‘मैले भनेर अब केही हुँदैन । यहाँ मेरो अघिपछि हजारौं कार्यकर्ता छन् । मलाई पछि हट्नु भन्दा पनि कांग्रेसले रेनुलाई सघाउने निणर्य फिर्ता लिनु उचित हुन्छ’, उनले भने, ‘म त चुनावी अभियानमा गइसकेको छु । अहिले पनि तपाईंलाई भेट्न चुनावी अभियानबाटै आएको हो । मलाई समय पनि छैन । म घर दैलो अभियानमा निस्किएँ, अब मलाई फिर्ता गर नभन्नु होला ।’ उता कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलसहित चुनावीसभालाई सम्बोधन गर्न हिजै भरतपुर उत्रिएका छन् । स्रोतका अनुसार पौडेल र सभापति देउवाबीच संवाद भएको छैन ।

 

काठमाडौं, बैशाख २१। काठमाडौं । नयाँ युगको शुभारम्भ भन्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १ वर्षमा १० अर्ब ७८ करोड रुपैयाँ थपिएको छ । पोहोर वैशाख १९ गते ५ अर्ब ४५ करोड रहेको योगदान रकम यसपालि वैशाख १८ गतेसम्ममा १६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो ।

सामाजिक सुरक्षा कोषको लगानीसम्बन्धी कार्यविधिअनुसार कोषमा जम्मा भएको रकम सरकारी ऋणपत्र, शेयर, डिबेन्चर, म्युचुअल फन्ड तथा स्थिर सम्पत्तिमा लगानी गर्न सकिन्छ । योगदानकर्ताको रकम मुद्दती खाता, डिबेन्चर, म्युचुअल फन्डलगायतमा लगानी भइसकेको कोषका निर्देशक विवेक पन्थीले जानकारी दिए ।

उनका अनुसार मुद्दती खातामा जम्मा गरेको रकममा कोषले वार्षिक ८ प्रतिशतसम्मका दरले ब्याज पाइरहेको छ । निर्देशक पन्थीका अनुसार यस अवधिमा ३ हजार २६७ प्रतिष्ठानमा कार्यरत १ लाख ३० हजार ५४७ योगदानकर्ता कोषमा थपिएका छन् । आर्थिक अभिया दैनिकबाट

कर्णाली, वैशाख २१ । कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।

सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो । ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ ।

त्यस्तै, साउन १ गतेलाई साउने सङ्क्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिनुभयो । साउन १७ गते साउन शुक्ल पञ्चमी (नाग पञ्चमी), भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, असोज २३ गते शुक्ल (कोजाग्रत) पूर्णिमा, चैत्र १६ गते चैत्र शुक्ल नवमी (रामनवमी) प्रदेशभर बिदा दिइने सचिव भुसालले बताउनुभयो ।

उहाँका अनुसार असोज कृष्ण त्रयोदशीका दिन भने चन्दननाथ बाबा मेलाको सार्वजनिक बिदा दिने निर्णय भएको छ । यस दिनमा भने जुम्ला जिल्लामा प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरुमा बिदा हुने प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।


Last Updated on: May 5th, 2022 at 11:42 am
८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया