आइतबार १२ आषाढ २०७९

सर्लाही।मतपेटिकाबाट नौ वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नौ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् । आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रबाट एक हजार चार सय २७ मत खसेको मुचुल्कामा उल्लेख छ । तर, अहिले मतगणको क्रममा मतपेटिका खोल्दा एक हजार चार सय १८ वटा मतपत्र मात्रै भेटिएको थियो ।

नौ वटा मतपत्र हराएको भन्दै एमालेका कार्यकर्ताहरुले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन् । यता, लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएरातिनै लालबन्दी-८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको घोषणा गरेको छ । पाख्रिन चार सय ६० मतसहित विजयी भएका थिए ।

निकटतम प्रतिस्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार सुवास पाख्रिनले चार सय ४४ मतमात्र पाएका छन् । अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै छ । लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएको भन्दा नौ मत कम देखिएको स्वीकार गरे । उनले यसबारेमा निर्वाचन आयोगमा पत्र लेखेर पठाउने तयारी गरिरहेको बताए ।

नौ मत कम भेटिँदासमेत निर्वाचन अधिकृतको कार्यालयले गएराती मध्यरातमै मतगणना सकेर वडाध्यक्षसहित वडा सदस्यहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ । उक्त वडाको वडाध्यक्षमा माओवादीका उम्मेदवार १६ मतले विजयी भए पनि चारै जना वडा सदस्य एमालेबाट चयन भएका छन् ।

काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले अन्तराष्ट्रिय उडान गरेको छ। बुद्धपूर्णिमाकै दिन आज कुवेतबाट उडान भरेको हो।

जजिराले आफ्नो जहाजमार्फन यात्रु ल्याई सोमबार बिहान गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो। यो सँगै मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल एयरलायन्सको न्यारोबडीले सोमबार नै व्यावसायिक उडान भर्दैछ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि आपत्कालीन अवस्थामा जहाज भारत वा बंगलादेश डाइभर्ट गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुने भएको छ। काठमाडौं बाहिर र मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यसले आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा छ।

यहाँबाट उडान भर्न श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका कम्पनीले पनि चासो देखाएका छन्। यसअघि जेठ १४ मा नेपाल वायुसेवा निगमकै वाइडबडी विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डेमोस्ट्रेसन उडान गरेको थियो।

२०७४ साल जेठमै निर्माण सक्ने गरी सुरु भएको विमानस्थल निर्माणमा करिब ३० अर्ब खर्च भएको छ। तर, पहिलो म्याद सकिएको पाँच वर्षपछि मात्रै विमानस्थल सञ्चालनमा आएको हो।

काठमाडौं । २५ सय ६६ औं बुद्ध जयन्ती आज (साेमबार) विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

लुम्बिनीमा ईसापूर्व ५४३ अर्थात् २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उहाँले ज्ञान प्राप्त गर्नुभएको थियो भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गर्नुभएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरवार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भएपछि भगवान् बुद्धका रुपमा उहाँले प्रसिद्धि पाउनुभयो । वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ ।

कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।

गत वर्ष पनि लकडाउन जारी गरिएकाले बुद्ध जयन्ती घरघर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।


Last Updated on: May 17th, 2022 at 3:57 pm
३१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया