आइतबार १२ आषाढ २०७९

हेटौंडा : नेकपा एमालेले ३० वर्षपछि हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गुमाएको छ। २०४९ सालदेखि हेटौंडाको मेयर र उपमेयर जित्दै आएको एमालेले २०७९ को निर्वाचनबाट भने दुबै पद गुमाएको हो।

एमालेतको विरासत भत्काएपछि गठबन्धन दलले हेटौंडामा विजय र्‍याली निकालेको छ। हेटौंडाको वन विज्ञान अध्ययन संस्थान अगाडिबाट निस्किएको र्‍याली नगर परिक्रमा गर्दै सीमा चोकमा आएर सभामा परिणत भएको थियो। सभालाई गठबन्धन दल नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, नवनिर्वाचित मेयर मिना लामालगायतले सम्बोधन गरेका थिए।

एमालेका उम्मेदवार अनन्त पौडेललाई दुई हजार १६७ मतले पछि पार्दै गठबन्धन दल एकीकृत समाजवादीकी लामा मेयरमा निर्वाचित भएकी हुन्। लामाले २३ हजार ७५ मत ल्याउँदा निकतम प्रतिस्पर्धी एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९०८ मत प्राप्त गरे। त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरे।

उपमेयरमा कांग्रेसका राजेश बानियाँ ३२ हजार ५९३ मतसहित विजयी भए। एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ र राप्रपाकी इन्दिरा न्यौपानले पाँच हजार ४८३ मत पाइन्।

मकवानपुरको दश स्थानीय तहमध्ये कांग्रेसले पाँच पालिका प्रमुख र चार पालिका उपप्रमुख, एमालेले दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको छ। माओवादी केन्द्रले दुई पालिका प्रमुख र पाँच पालिका उपप्रमुख र एकीकृत समाजवादीले एक पालिका प्रमुख जितेको छ।

डोटी : डोटीका स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले बिहीबार जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरेका छन्।

आफूले सफथ लिएपश्चात आ–आफ्नो पालिकामा उपप्रमुख लगायत अन्य निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ खुवाउने र पदभार ग्रहण गर्ने काम भइरहेको छ।

पदभार सम्हाल्दै विभिन्न निर्णयहरु पनि गरेका छन्। शुक्रबार पदभार ग्रहण गर्दै दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बाजिसिं खड्काले नगरभित्रका सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने र नगरभित्र सुविधासम्पन्न खेल मैदान निर्माण गर्ने निर्णय गरेका छन्।

आदर्श गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेशबहादुर खड्काले पालिकाभित्रका जेष्ठ नागरिक, महिला स्वयंसेविका, सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र गाउँपालिकाभित्रका गरिब परिवारको पहिचान गरी उनीहरुका छोरा छोरीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरेका छन्।

शिखर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख दीर्घबहादुर बलायरले पदभार ग्रहण पश्चात नगरका कर्मचारीहरुलाई निर्देशन दिँदै सूचनाको कार्यान्वयनमा जोड दिन र कार्यालय समयमा सरकारी पोशाक अनिवार्य लगाउन भनेका छन्। उनले नगरपालिकाका हरेक सार्वजनिक सूचनाहरु जनताले सहजै भेटाउने गरी स्मार्ट एप संचालन र सबै वडाका डाटा वेबसाईटमा अनिवार्य राख्न आग्रह गरे।

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीलगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुले समेत पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै अध्यक्ष जोशीले गाउँपालिकाभित्रका सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने निर्णय गरेका छन्।

केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले पदभार ग्रहण गर्दै गाउँपालिका भित्रको स्वास्थ्य उपचारमा विशेष जोड दिने र गाउँमा बिशेषज्ञ चिकित्सकिय सेवा संचालन गर्ने निर्णय गरेका छन्।

डोटीका सबैजसो स्थानीय तहका नवनिर्वाचित प्रमख तथा अन्य जनप्रतिनिधिहरुले आजै पदभार ग्रहण गरिरहेका छन्।

नेपाली सेनाले ‘सफा हिमाल अभियान, २०२२’ अन्तर्गत चारवटा हिमालबाट ३० हजार ३४४ केजी फोहोर संकलन गरेको छ । सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट उक्त मात्रामा फोहोर संकलन गरेको हो । सेनाका अनुसार सगरमाथा र ल्होत्सेबाट ९ हजार ९३२ केजी, कञ्चनजंघाबाट १५ हजार ३७३ केजी र मनास्लुबाट ५ हजार ३९ केजी फोहोर संकलन गरिएको छ ।

संकलन गरिएको कुल फोहोरमध्ये ५ हजार २६६ केजी सड्ने तथा कुहिने खालको छ भने २५ हजार ७८ केजी नकुहिने खालको रहेको नेपाली सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले ‘सफा हिमाल अभियान, २०२२’ सुरु गरिएको सेनाले जनाएको छ ।

फोहर संकलनको अलवा हिमालको वेश क्याम्पहरुमा खटिएका सेनाका डाक्टर अधिकृतहरुले आरोहणको लागि आउने स्वदेशी तथा विदेशी गैह्र सैनिक व्यक्तिहरुलाई परामर्श दिुनका साथै स्वास्थ्य सेवा प्रदान गरिरहेको पनि बताइएको छ ।

‘कुनै पनि सञ्चार माध्यमको पहुँच नभएको कञ्चनजंघा आधार शिविर इलाकामा आरोहणको लागि आउने स्वदेशी तथा विदेशी गैह्र सैनिक नागरिकहरुलाई घर परिवार तथा आफन्तहरुसँग सम्पर्क गर्नको निमित्त, नेपाली सेनाले, सफा हिमाल अभियान अवधिभरको लागि टेलिफोन सेवा उपलव्ध गराईरहेको व्यहोरा समेत जानकारी गराईन्छ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।


Last Updated on: May 21st, 2022 at 4:27 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया