आइतबार १२ आषाढ २०७९

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। ७५३ पालिकामध्ये शनिबार यो समाचार तयार पार्दासम्म ६९२ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ।

मतदान सम्पन्न भएको ८ दिन वितिसक्दा पनि अझै ६१ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक हुन सकेको छैन। ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा ३३ हजार ५१ उम्मेदवार विभिन्न पदमा निर्वाचित भएको आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको छ।

काठमाडौं महानगरपालिकाको नतिजा आउन अझै केही दिन कुर्नुपर्ने आयोगले जनाएको छ। ‘काठमाडौं महानगरपालिका बाहेक देशभरिको नतिजा जेठ १० मै आउँछ। तर, काठमाडौंको नतिजा आउन जेठ १२ गतेसम्म लाग्न सक्छ,’ आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अन्नपूर्णसँग भने, ‘आयोगले जेठ १० गतेभित्र जसरी पनि सबै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक गर्न मुख्य निर्वाचन अधिकृत तथा अधिकृतलाई निर्देशन दिइसकेको छ।’

काठमाडौंमा १० वटा समूह बनाएर मतगणना भइरहेको छ। ९७ हजार बढी मत गणना भइसकेको अयोगका सहप्रवक्ता अर्यालले बताए। काठमाडौंमा १ लाख ९१ हजार १८६ मत खसको छ।

एउटै मतपत्र गणना गर्न कम्तिमा ३० मिनेट लाग्ने गरेको छ। सहप्रवक्ता अर्याल भन्छन्, ‘मतपत्र ठूलो छ, चुनाव चिन्ह धेरै छन्। सातवटा पदको सदर बदर छुट्याउँदा धेरै समय लागिरहेको छ। त्यसमा पनि सानोतिनो विवादले गर्दा मतगणना रोकिन्छ। सदर बदरको विवादले एउटै मतपत्रमा १० मिनेटदेखि ३० मिनेटसम्म लागिदिन्छ।’

बुढीगंगा र त्रियुगाको मतपरिणाम अनिश्चित

शुक्रबारसम्म स्थगित सबै स्थानमा निर्वाचन सम्पन्न भएको छ। तर, बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकामा मतदान भए पनि गणना सुरु हुन सकेको छैन। ‘यी दुवै स्थानमा वैशाख ३० गते नै भयो। मतगणना स्थलमा मतभेटिका पनि ल्याइयो। तर, एउटा पक्षले नयाँ मतदान गराउनुपर्ने र अर्को पक्षले भएकै मतदानको गणना गर्नुपर्छ भन्दै उजुरी दिएको छ। त्यसैले त्यहाँको मतपरिणाम सार्वजनिक हुन सकेको छैन,’ अर्याल भन्छन्।

डोटी : डोटीका स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले बिहीबार जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरेका छन्।

आफूले सफथ लिएपश्चात आ–आफ्नो पालिकामा उपप्रमुख लगायत अन्य निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ खुवाउने र पदभार ग्रहण गर्ने काम भइरहेको छ।

पदभार सम्हाल्दै विभिन्न निर्णयहरु पनि गरेका छन्। शुक्रबार पदभार ग्रहण गर्दै दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बाजिसिं खड्काले नगरभित्रका सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने र नगरभित्र सुविधासम्पन्न खेल मैदान निर्माण गर्ने निर्णय गरेका छन्।

आदर्श गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेशबहादुर खड्काले पालिकाभित्रका जेष्ठ नागरिक, महिला स्वयंसेविका, सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र गाउँपालिकाभित्रका गरिब परिवारको पहिचान गरी उनीहरुका छोरा छोरीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरेका छन्।

शिखर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख दीर्घबहादुर बलायरले पदभार ग्रहण पश्चात नगरका कर्मचारीहरुलाई निर्देशन दिँदै सूचनाको कार्यान्वयनमा जोड दिन र कार्यालय समयमा सरकारी पोशाक अनिवार्य लगाउन भनेका छन्। उनले नगरपालिकाका हरेक सार्वजनिक सूचनाहरु जनताले सहजै भेटाउने गरी स्मार्ट एप संचालन र सबै वडाका डाटा वेबसाईटमा अनिवार्य राख्न आग्रह गरे।

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीलगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुले समेत पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै अध्यक्ष जोशीले गाउँपालिकाभित्रका सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने निर्णय गरेका छन्।

केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले पदभार ग्रहण गर्दै गाउँपालिका भित्रको स्वास्थ्य उपचारमा विशेष जोड दिने र गाउँमा बिशेषज्ञ चिकित्सकिय सेवा संचालन गर्ने निर्णय गरेका छन्।

डोटीका सबैजसो स्थानीय तहका नवनिर्वाचित प्रमख तथा अन्य जनप्रतिनिधिहरुले आजै पदभार ग्रहण गरिरहेका छन्।


Last Updated on: May 21st, 2022 at 8:43 pm
६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया