
गत वर्षको तुलनामा यो वर्ष बाँकेमा कोरोनाको संक्रमणका कारण मृत्युदरमा तीव्र वृद्धि देखिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको एक विश्लेषणका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन गुणाले मृत्युदरमा बढी देखिएको छ।
वैशाख महिनाभर बाँकेमा कोरोना संक्रमणका कारण १ सय ६७ जनाले ज्यान गुमाएका छन्। यो संख्या कोरोनाको पहिलो लहरभन्दा तीन गुणाले बढी रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।
बाँकेमा कोरोनाको पहिलो लहर सुरु भएको २०७७ वैशाख १९ गतेदेखि चैत अन्तिमसम्म ५८ जनाको मृत्यु भएको थियो। कोरोनाको दोस्रो लहर सुरु भएपछि बाँकेका मात्र १ सय ६७ नागरिकको उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन वलीले बताए।
यसै क्रममा पछिल्लो २४ घन्टामा कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवती दिपिका ठकुरीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४ वर्षीया गर्भवती ठकुरीको आज बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमण भएपछि उनि भेरी अस्पतालमा केहि दिन अघि भर्ना भएकी थिइन्, तर उनलाई उपचार गरेर बचाउन नसकिएको हो । उनका आफन्तले फेसबुकमा लेख्दै भनेका छन्, मलाई माफ गरिदेउ बैनि तिमी लाई बचाउन मैले हर सम्भव कोसिस गरेको हु तर सकिन । मैले मानवता को नाता ले गरे तर तिम्रो दाजु ले खान पिन भोक निद्रा सबै छोडेर लागे तर आज हामी असफल भयै । सलाम छ बैनि को दाजु अमर ज्यु लाई । नेपालगन्ज मेडिकल कलेजमा कोहलपुरमा फार्मेसी सुपरभाइजर दीपिकाको मृत्यु पछि अहिले सिङ्गो अस्पताल लगाएत कोहलपुर बजार सोकमा डुबेको छ ।
यसैगरी भेरी अस्पतालमै उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ३९ वर्षीय पुरुष र बनागाड कुपिन्डे नगरपालिका ४ सल्यान निवासी ६० वर्षीया महिलाको मृत्यु भएको छ ।
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोहलपुर नगरपालिका वडा नं. ९ निवासी ६१ वर्षीय पुरुष र गुलरिया नगरपालिका वडा नं.१० बर्दिया निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोभिड सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १७५ र जिल्लाकै २२९ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।
वैशाख महिनाभर कोरोना भाइरस संक्रमणबाट ६ हजार ४७० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। २ हजार ९२५ जना महिला र ३ हजार ५४५ जना पुरुष कोरोना संक्रमणबाट निको भएको केन्द्रले जनाएको छ। जिल्लामा करिब ४ हजार सक्रिय संक्रमित विभिन्न संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन्।
करिब ३ हजार बढी संक्रमित होम आइसोलेसनमा छन्। जिल्लामा कोभिडको पहिलो लहरमा १ वर्षसम्म करिब ४ हजार ९ सय बढीमा संक्रमण पुष्टि भएको थियो। १ वर्षको अवधीमा ४ हजार ७ सय बढी संक्रमण मुक्त भएका थिए। अहिले १ महिनामै ठूलो संख्यामा संक्रमित थपिँदा उपचारमा सकेत समस्या हुँदै आएको छ।