आइतबार १२ आषाढ २०७९

चितवन- चितवनजिल्लामा शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने भएको छ । हावाहुरीका कारण भरतपुरका १४० विद्युत्का पोल ढलेका हुन् ।विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार भरतपुर महानगरको १ देखि ६ वडासम्म ती पोल ढलेका हुन् । ती पोललाई व्यवस्थित गरेर पूर्णरुपमा विद्युत् सञ्चालन गर्न अझै पाँच दिन लाग्ने उहाँले बताउनुभयो ।

केन्द्रका प्रमुख राजिवकुमार सिंहका अनुसार भरतपुर सबस्टेशनबाट वितरण भएको बिजुली सेवा अवरूद्ध भएको हो । उहाँका अनुसार भरतपुरमा हावाहुरीले पोल ढल्दा ठाउँठाउँमा तार चुडिएका छन् । ढलेका पोल र तार मर्मताका लागि प्राधिकरणले चार वटा ठेकेदारको टोली र प्राधिकरणको सम्पूर्ण प्राविधिक शक्ति परिचालन गरेको सिंहले बताउनुभयो ।

उहाँले अस्पताल र सुरक्षा निकाय, मतगणनास्थल, खानेपानीलगायत सम्वेदनशील क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विद्युत् पुनःसञ्चालन गरिएको बताउनुभयो । चनौली सबस्टेशनबाट वितरण हुने बिजुलीमा भने समस्या नरहेको इञ्जिनीयर पौडेलले बताउनुभयो ।

भरतपुर पश्चिम क्षेत्रमा विद्युत् प्रवाहमा समस्या नभए पनि सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म विद्युत् प्रवाहमा समस्या रहेको उहाँले जानकारी दिनुभयो । हावाहुरीका कारण रु ३० लाखको सामग्री क्षति भएको र रु पाँच करोडको विद्युत् खपत अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।

विद्युत् लामो समय नहुँदा मोबाइल फोन सेवासमेत प्रभावित भएको छ भने खानेपानी र इन्टरनेटसमेत प्रभावित छ । शुक्रबारको हावाहुरीका कारण तीनको ज्यानसमेत गएको थियो भने ११ घाइते भएका थिए । हावाहुरीले भरतपुरको मुख्य शहरी क्षेत्रका धेरै रुख लडेका हुन् । धेरैजसो ठाउँमा रुखले विद्युत् पोल लडाएको हो ।

डोटी : डोटीका स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले बिहीबार जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरेका छन्।

आफूले सफथ लिएपश्चात आ–आफ्नो पालिकामा उपप्रमुख लगायत अन्य निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ खुवाउने र पदभार ग्रहण गर्ने काम भइरहेको छ।

पदभार सम्हाल्दै विभिन्न निर्णयहरु पनि गरेका छन्। शुक्रबार पदभार ग्रहण गर्दै दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बाजिसिं खड्काले नगरभित्रका सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने र नगरभित्र सुविधासम्पन्न खेल मैदान निर्माण गर्ने निर्णय गरेका छन्।

आदर्श गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेशबहादुर खड्काले पालिकाभित्रका जेष्ठ नागरिक, महिला स्वयंसेविका, सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र गाउँपालिकाभित्रका गरिब परिवारको पहिचान गरी उनीहरुका छोरा छोरीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरेका छन्।

शिखर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख दीर्घबहादुर बलायरले पदभार ग्रहण पश्चात नगरका कर्मचारीहरुलाई निर्देशन दिँदै सूचनाको कार्यान्वयनमा जोड दिन र कार्यालय समयमा सरकारी पोशाक अनिवार्य लगाउन भनेका छन्। उनले नगरपालिकाका हरेक सार्वजनिक सूचनाहरु जनताले सहजै भेटाउने गरी स्मार्ट एप संचालन र सबै वडाका डाटा वेबसाईटमा अनिवार्य राख्न आग्रह गरे।

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीलगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुले समेत पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै अध्यक्ष जोशीले गाउँपालिकाभित्रका सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने निर्णय गरेका छन्।

केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले पदभार ग्रहण गर्दै गाउँपालिका भित्रको स्वास्थ्य उपचारमा विशेष जोड दिने र गाउँमा बिशेषज्ञ चिकित्सकिय सेवा संचालन गर्ने निर्णय गरेका छन्।

डोटीका सबैजसो स्थानीय तहका नवनिर्वाचित प्रमख तथा अन्य जनप्रतिनिधिहरुले आजै पदभार ग्रहण गरिरहेका छन्।

 


Last Updated on: May 22nd, 2022 at 4:00 pm
५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया