
काठमाडौँ
पत्नीवियोगमा पर्नुभएका राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीलाई अब छोरालाई मम्मीबारे के जवाफ दिने भन्ने चिन्ताले सताएको छ । श्रीमती कुशुम दर्लामीको निधन भएको तेस्रो दिन शुक्रबार सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै दर्लामीले बच्चालाई आमाको बारेमा कसरी जवाफ दिने भन्ने चिन्ताले सताएको बताउनुभएको छ ।
उहाँहरूका ८/९ वर्षका छोरा छन् । अध्यक्ष दर्लामी आफैँ पनि कोरोनाबाट सङ्क्रमित हुनुहुन्छ । आफ्नो स्वास्थ्यको पर्वाह नगरी श्रीमतीको उपचारमा खटिनुभएको थियो । गत जेठ १० गतेदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकै बेला रक्तिम सांस्कृतिक अभियान पाल्पाका उपाध्यक्ष कुशुमको जेठ १८ गते साँझ निधन भएको हो ।
सामाजिक सञ्जाल फेशबुकमा बिशालले लेख्नुभएको छ– “‘तिम्रो उपचारको लागि हिँड्दै गर्दा म तङ्ग्रिदै थिएँ । खोकी लागिरहेकाले औषधि खाँदै थिएँ । तर तिम्रो स्वास्थ्यमा समस्या आएपछि मेरो समस्या गौण हुनु स्वाभाविक थियो ।
लुम्बिनी मेडिकल कलेज पाल्पामा गरिएको पेटको भिडिओ सिटी र एमआरआई पछि डाक्टरले प्याङक्रियाजको समस्या रहेको भन्दै थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन रिफर गर्यो । त्यहाँ पुगेपछि ज्वरो आउन सुरु भयो । पछि प्रेसर पनि कम भएपछि इमरजेन्सीमा भर्ना गरी नसाबाट औषधि सुरु गरियो, तर पनि ज्वरो आई नै रह्यो ।
भोलिपल्ट पिसिआर टेस्ट गर्दा कोभिड पोजेटिभ देखियो । त्यसपछि कोभिड वार्डमा भर्ना गरी उपचार सुरु गरियो । सुरुका तीन दिनसम्म श्वासप्रश्वासमा समस्या थिएन । त्यसपछि चौथो दिनमा अक्सिजन लेबल कम भएपछि एचडियु वार्डमा सिफ्ट गरी उपचार सुरु गरियो । तर पनि समस्या बढ्दै गयो । अर्को दिन आइसियुमा सिफ्ट गरी हाइफ्लो अक्सिजन दिन सुरु गरियो । तर पनि अक्सिजनको लेबल मेन्टेन हुन सकेन ।
नवौँ दिनको दिन बिहान अति नै गाह्रो भएपछि डक्टरको सल्लाहअनुसार भेन्टिलेटर सुरु गरियो । तर यी सबै प्रयास असफल भए । पछिल्ला दुई दिन तिम्रो त्यो पीडा र छट्पटी कुनै शब्दमा व्यक्त गर्न सक्दिनँ । तिम्रो जीवनमा रक्तसञ्चार गराइरहनका लागि सबै प्रकारका प्रयास गरियो । तर ती सबै प्रयास असफल भए र अन्ततः तिमीले यो संसारबाट भौतिक रूपमा बिदा लिनैपर्यो ।
प्लास्टिकमा बेरिएको तिम्रो पार्थिव शरीरलाई बोकेर अन्तिम बिदाइपछि अहिले पुनः म होम आइसोलेसनमा पीडाबोधका साथ समय गुजारिरहेको छु । प्रत्येक पल तिनै यादहरूले घोचिरहेको छ । पोलिरहेको छ । तर पनि आफूलाई सम्हाल्ने कोसिस गरिरहेको छु । बाबुले मम्मी खोई भनेर सोध्दा के भनेर जवाफ दिने ? त्यो अर्को झन् ठुलो पीडा थपिएको छ । अस्पताल बसाइभरि पारिवारिक कुरा हुन सम्भव भएन । तिमीसँगको बिछोडको पीडामा मम्हम लगाउँदै ।”