
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री बनाएलगत्तै राजेन्द्र महतोले ‘बहुल राष्ट्र’को विषय उठाएका छन् । उनको यो अभिव्यक्तिले राजनीतिवृत्तमा तरंग ल्याएको छ ।
शुक्रबार पदभार ग्रहण गर्दै नेपाल बहुल राज्य भएको बताएका महतोले शनिबार नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका हुन्।
मन्त्री भएपछि पार्टी कार्यालय बबरमहलमा जनता समाजवादी पार्टी (जसपा)ले आयोजना गरेको स्वागत कार्यक्रमपछि पत्रकारसँग बोल्दै महतोले यस्तो बताएका हुन्।
महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसका जनता सहभागी हुनुपर्ने बताए।। उनले बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुलतामै लानुपर्ने दाबी गरे। महतोले बहुल राज्य नभए जनताले अधिकार र पहिचानका लागि आन्दोलन गरिरहने बताए।
‘नेपाल विविधताले भरिएको देश हो। नेपाल भनेको बहुल राष्ट्रिय राज्य भएकोले त्यो अनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ’, महतोले भने, ‘विविधताले भरिएको देश एकल हुनै सक्दैन। बहुलता नै हुन्छ। बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन।
महतोले बहुलता सबैको भएकाले त्यसले मात्र राज्य शासनमा प्रतिनिधित्व हुने बताए। उनले पहिचान सबैको हुनुपर्ने भन्दै यो नभए देशमा जनताले अधिकार र पहिचानका लागि आन्दोलन गर्ने उल्लेख गरे।
‘राज्य शासनमा सबैको प्रतिनिधित्व हुनुपर्छ, पहिचान हुनुपर्छ, यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छन्।’, महतोले थपे, ‘नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ, बनाउनुपर्छ।
बहुलतामा लैजानुपर्छ। यो सबैको देश हो।’ महतोले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानका निम्ति पार्टीले मिसन चलाउनेसमेत बताएका छन्।
महतोको अभिव्यक्तिप्रति ओलीनिकटस्थहरुले नै आलोचना गरेका छन् । कर्णाली प्रदेशबाट यामलाल कँडेलले महतोको अभिव्यक्तिप्रति आपत्ति जनाए । ओलीसँग असन्तुष्ट रहँदै आएका एमाले नेता बामदेव गौतमले महतो नेपाललाई बिखण्डन गर्न सक्रिय भएको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई बिखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन ।
यसैगरी, एमाले नेता गोकर्ण बिष्टले महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल भएको अराजक र संविधान विरोधी भनेका छन् । स्मरणीय रहोस् २०७२ सालमा देशमा नाकाबन्दी लाग्दा महतो सीमानाकामा बसेर आन्दोलनको नेतृत्व गरिरहेका छन् ।
केपी शर्मा ओली नाकाबन्दीको विरोध गर्दै महतोलगायत नेताहरुको चर्को आलोचना गरिरहेका थिए । अहिले ओली नेतृत्वको सरकारमा महतो जसपाको ठाकुर पक्षको नेतृत्व गर्दै पुगेका छन् ।