आइतबार १२ आषाढ २०७९

काठमाडौं । गायिका इन्दिरा जोशीको एउटा तस्विर अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।तस्विर हो मेहेन्दी उत्सवको । गत वर्ष इन्गेजमेन्ट गरेका गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्वीर बाहिरिएसँगै अहिले उक्त तस्विरको चौतर्फी चर्चा सुरु भएको छ ।

यो जोडी सार्वजनिक तस्वीरमा निकै खुशी देखिएका छन् । सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएको खुबै सुहाएको छ ।यसअघि उनीहरुले आफूहरु चाँडै बिहे बन्धनमा बाँधिने बताउँदै आएको बताएता पनि कहिले भन्ने कुरा खुलाएका थिएनन् ।

तीन वर्षदेखि सम्बन्धमा रहेको यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरे सँगै उनीहरुको चर्चा चुलीएको थियो ।शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेसँगै यो जोडीलाई धेरैले बधाई तथा शुभकामना दिएका थिए ।

भजनी। कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन्। चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ।

उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शङ्कर निकै चिन्तित छन्। जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनले हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमासमेत जान सकेका छैनन्।

बैंकबाट ऋृण निकालेर व्यवसाय गरेका शङ्करले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना गरेको बताए। “एक हजार २०० भन्दाबढी केराका बोट कामै नलाग्ने गरी ढलेका छन्, त्यसमा पनि अधिकांश केरा घारी दिइसकेका थिए”, शङ्करले भने, “बारीमा गयो भने रुन मन लाग्छ, यसपालि त उत्पादन राम्रो होला भन्ने आशा थियो तर, त्यो आशा एकै दिनको हावाहुरीले उडाएर लग्यो ।” उनले कहिले दैवीप्रकोप त कहिले बजारीकरणका कारण मार खेप्दै आएको बताउँदै यस्तै घटनाले काम गर्ने उत्साह मर्ने गरेको बताए।

यस्तै टीकापुरकै दिनेश सुनारले यस वर्षबाटै केरा खेती सुरु गरेका छन्। तीन बिघा क्षेत्रमा केरा खेती गरेका दिनेशले पहिलो बालीसमेत भित्र्याउन नसक्ने भएका छन्। पहिलो उत्पादन दिइरहेको केरा हावाहुरीसँगै ढलेपछि दिनेशलाई पनि निकै पीडाबोध भएको छ। “एक महिनामा बजारका लागि तयार हुने केरा सबै हावाहुरीले सखाप पार्‍यो, पहिलो उत्पादनबाट जग्गाको भाडा र बैंकको केही ऋृण कम गर्ने योजना थियो, सबै योजना चौपट्ट बनायो”, दिनेशले भने, “कसरी जग्गाको भाडा तिर्ने अनि बैंकको ऋृण !”

दिनेशले केराको बीमा गरेका छन्। बीमाका लागि कागजात बनाउनै समस्या हुने भएपछि त्यसको औचित्य नभएको बताउँदै दिनेशले बीमाले उपलब्ध गराउने क्षतिको रकमभन्दा बढी कागजात बनाउनमै जाने भएकोले त्यसमा लाग्नु झन्झट भएको बताए। उनले किसानले बीमा बैंकको ऋृणको लागि मात्रै गर्ने गरेको बताए।

टीकापुरकै विनोद शाहले २०५८ सालदेखि केराखेती गर्दै आउनुभएको छ । उहाँले अहिले पनि ५५ बिघा क्षेत्रफलमा केराखेती गरिराखेका छन्। टीकापुरमा व्यावसायिक केराखेती सिकाउने व्यक्तिमध्येको एक विनोदको दुई हजार ५०० भन्दा बढी केराका बोट हावाहुरीका कारण नष्ट भएका छन्।

“मेरो केरा सानै भएका कारणले धेरै क्षति भएको छैन, जुन घारी तयार भएका थिए ती सबै ढलेका छन्”, विनोदले भने, “अरु किसानको हेर्दा यसलाई मैले सामान्य लिएको छु तर, कतिपय किसानको ६० देखि ८० प्रतिशत केरा खेतीमा क्षति पुगेको देखिन्छ।”

केरा व्यवसायी टेकेन्द्र धामीलाई हावाहुरीले केराका बोट नष्ट गरेकोभन्दा बढी चिन्ता केराको बेर्ना नष्ट भएको छ। १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका टेकेन्द्रले केही वर्षदेखि केराको बेर्ना उत्पादनलाई महत्व दिँदै आएका छन्। उनले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन गर्दै आएका हुन्। तर, शनिबारको हावाहुरीले केराको बेर्ना उत्पादन गरेको टनेल उडाउँदा केराको बेर्ना नष्ट हुने चिन्ता बढेको टेकेन्द्रले बताए।

“मैले दुई लाखभन्दा बढी बेर्ना उत्पादन गरेको थिए, अहिले पनि मसँग डेढ लाख बेर्ना छन्, हावाहुरीले टनेल उडाएपछि बेर्ना घामबाट जोगाउन निकै मुस्किल भएको छ” टेकेन्द्रले भने, “आजसम्म मैले टनेल बनाउन सकिनँ भने मैले एउटा केराको बेर्ना पनि जोगाउन सक्ने अवस्था नरहँदा मलाई लाखौंको क्षति पुग्छ ।” उनले १२ बिघा क्षेत्रमा लगाएको केरा खेतीमा ६० देखि ७० प्रतिशत क्षति भएको बताए।

टीकापुर क्षेत्रमा मात्रै हावाहुरीका कारण करिव एक सय बिघा क्षेत्रमा लगाएको केरा पूर्णरुपमा नष्ट भएको अनुमान गरिएको छ। अहिले टीकापुरमा व्यावसायिक रुपमा केरा खेती गर्दै आएका तीन सयभन्दा बढी किसान छन्। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले वार्षिक करोडौं रकम केरा व्यवसायीका लागि अनुदानमा खर्च गर्दै आएको छ। टीकापुरलाई केराको पकेट क्षेत्रको रुपमा हेर्ने गरिन्छ।

उक्त सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख गोविन्दराज जोशीले हावाहुरीका कारण केरा खेतीमा भएको क्षतिको अनुगमन भइरहेको बताए। उनले अनुगमनपछि मात्रै केराको क्षतिबारे एकीन गर्न सकिने बताउँदै अनुगमनमा देखिएको अवस्थालाई प्रतिवेदनको रुमपा मातहतको मन्त्रालयमा पठाइने बताए।

“किसानको भनाइअनुसार करोडौंको क्षति भएको भन्ने छ, हामी अनुगमन गर्दैछौँ, अनुगमनपछि क्षतिबारे थाहा हुन्छ”, प्रमुख जोशीले भने, “त्यसपछि राहतको लागि मन्त्रालयलाई पत्राचार गर्ने र केराको बीमा गरेको किसानलाई बीमा कम्पनीसँग समन्वय गरेर क्षतिपूर्ति दिलाउने काममा समन्वय गर्नेछौँ ।”- रासस


Last Updated on: June 12th, 2022 at 5:40 pm
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया