आइतबार १२ आषाढ २०७९

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीलाई ससम्मानका साथफिर्ता बोलाउने निर्णय गरेको छ । बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीहरुलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको हो ।

“राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद पछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो । र प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो” विज्ञप्तिमा भनिएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुमतिविना बन्द प्रशिक्षण छाडेर रात्री क्लब पुगेको भन्दै अनुशासनको छडि चलाएका थिए । कारबाहीमा परेका रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, सन्तोष तामाङसहित १० खेलाडीलाई प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टोलीबाट बाहिरनिकालेका थिए ।

साथै, एन्फाको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई ध्यानमा राख्ने र अन्तर्राष्ट्रिय सम्बन्धमा खलल नपुग्ने गरी छलफल अघि बढाउने पनि निर्णय गरेको छ ।

एन्फा अध्यक्षमा निर्वाचित पंकजविक्रम नेम्वाङले आफ्नो पहिलो कदम खेलाडीलाई टिममा फिर्ता बोलाएर अघि बढाएका छन् । यस्तै, महासचिवमा किरण राई र कोषाध्यक्षमा रबिन्द्र जोशीसंगै विदेश बिभाग प्रमुखमा नवीन पाण्डेललाई नियुक्त गरेको छ ।

सोमबार भएको एन्फाको चुनावी साधारणसभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् । यता, संघले ढाकामा हुने साफको चुनाबमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताब गर्ने निर्णय गरेको छ ।[[]


Last Updated on: June 23rd, 2022 at 8:07 am
७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया