
काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाको तयारी गर्नेहरूका लागि एक विशेष सूचना जारी गर्दै उत्तर लेख्ने तरिकाबारे जानकारी गराएको छ।
शिक्षक सेवा आयोगबाट प्रकाशित माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा सोधिने वस्तुगत बहुवैकल्पिक प्रश्नहरूको उत्तर ओएमआर सिटमा कालो मसी भएको कलमले लेख्दा मसी भर्दा ध्यान दिनका लागि सूचित गरेको हो।
साथै आयोगले परीक्षामा सञ्चालन व्यवस्थापनमा सहजीकरण गर्ने शिक्षा विकास निर्देशनालय तथा शिक्षा विकास तथा समन्वय इकाईहरूलाई समेत सोही अनुसार सहजीकरण गर्नका लागि अनुरोध गरेको छ ।
यस्ता छन् परीक्षामा ध्यान दिनुपर्ने विषयहरू:[][]
-ओएमआर सिटलाई धुलो, चिसोबाट बचाई, नच्याती, प्वाल नपारी, नपट्याई प्रयोग गर्ने । जसका लागि केही नलेखिएको बाक्लो कागज वा कुट माथि राखेर लेख्ने व्यवस्था मिलाउनु हुन,
-सबैभन्दा पहिला आफ्नो नाम तोकिएको कोठामा अक्षर/अल्फाबेट एक/एकवटा लेखी पुरा गर्ने,
-रोल नम्बर लेख्ने कोठाहरूमा आफ्नो प्रवेशपत्र हेरी ११ वटा अङ्क लेख्ने,
-रोल नम्बर शब्दमा लेख्ने ठाउँमा माथिका ११ अङ्कको रोल नम्बरलाई एक/एक अङ्गलाई हेरी सोही अनुसार एक/एक शब्दमा लेख्ने,
-अङ्क र अक्षरमा लेखेको रोल नम्बरलाई आधार मानी त्यसमा फरक नपर्ने गरी रोल नम्बर लेख्ने कोठा तलतिर रहेको ० देखि ९ सम्मका अङ्क रहेको गोलो घेरामा आफ्नो रोल नम्बरको अङ्क जति छ, त्यसको सिधा तलको गोलो घेराको सोही अङ्कलाई छोप्ने गरी मसी भर्ने | ओएमआर मेसिनले उत्तरपुस्तिका पढ्दा अङ्क र अक्षरलाई नपढी मसी भरेको बबललाई मात्र पढी अङ्क दिने हुँदा सोही अनुसार सजग रहने,
-जन्म मिति लेख्दा पहिला २ अङ्कको गते, बिचमा २ अङ्कको महिना र अन्तिम २ कोठामा सालको पछिल्ला २ अङ्क लेख्ने, लिङ्गमा आफ्नो कुन हो, सोही अनुसार कोठामा मसी भर्ने,
-क्याटागोरीको कोठामा यस परीक्षाका लागि कुनै पनि सङ्केत नगर्ने,
-विज्ञापन नम्बर लेख्ने कोठामा ३७/०७८/०७९ लेख्ने,
-परीक्षाको किसिममा अध्यापन अनुमतिपत्र लेखिएको छेउको घेरामा मसी भर्ने,
– सेट सङ्केत गर्नका लागि तपाईँले पाएको प्रश्नपत्रमा उल्लेख भएको सेट ए, बि, सी, डि मध्ये कुनै एक लेखिएको हुनेछ । सोही अनुसार आफूले पाएको प्रश्नमा रहेको ए, बि, सी, डि मध्ये एकलाई उत्तरपुस्तिकामा रहेको घेरामा मसी भर्ने,
-प्रश्नको सही उत्तर छानी मसी भर्ने, प्रश्नपत्रमा रहेको प्रश्न नं. र प्रश्न पढ्ने । उक्त प्रश्नको उत्तर त्यहाँ दिइएका चार विकल्प ए, बि, सी, डि मध्ये एक छान्नुहोस् र उक्त सही विकल्पमा सोही नं. मा रहेका चारवटा ए, बि, सी, डि का घेरामध्ये सही एकमा मात्र मसी भर्ने । सबै काम सकिएपछि एक पटक पुनः हेर्नुहोस् । तर तोकिएको ठाउँमा भन्दा बाहिर नपर्ने गरी घेरा भरी मसी पार्ने, प्वाल नपार्ने र नपट्याउने । अन्तमा, परीक्षा हलमा रहेका कर्मचारीलाई उत्तरपुस्तिका
बुझाउने,
– ओएमआर सिट एउटा मात्र पाइनेछ । साट्न वा थप अर्को लिन नपाइने हुँदा सजग रहेर प्रयोग गर्ने,
आयोगले उल्लिखित कुराहरू पालना नहुँदा परीक्षा रद्द हुन सक्ने भन्दै सचेत समेत गराएको छ ।