सोमबार २३ साउन २०७९

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) कोशीको पानी ल्याउन टोलीसहित आइतबार (भोलि) कोशी नदीमा पुग्ने भएका छन् ।
हाम्रो कोशी आवाज डटकमसँगको कुराकानीमा उनले सम्भवतः भोलि नै कोशी पुग्ने जानकारी दिएका हुन् ।

पकुवा खोलामा जनश्रमदानपछि पकुवा खोलाको छेऊमै बसेर उनले यस्तो बताएका हुन् । अब कोशीको पानी ल्याउन लाग्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘कोशीको पानी त ल्याउनुपरयो नि, कहाँ यो खोलामा मात्रै ढुंगामात्रै फुटाएर हुन्छ, ढुंगा फुटाओस् भनेर धराने जनताले मलाई मेयर बनाएको त होइन ।’
उनले सङ्घीय खानेपानी तथा ढल आयोजनाका टोलीसहित कोशी नदीमा पुग्ने र डिपिआर बनाउन लागिपर्ने बताएका छन् ।

‘भोलि १२ गते सङ्घीय खानेपानी तथा ढल आयोजनाको टोलीसहित कोशी नदीमा जाँदैछौं, त्यहाँ सम्भाव्यता अध्ययन भएको छ, डिपिआर उठाउनका लागि एउटा कम्पनी आउँदैछ । ’

उनले कोशीबाट ३२ इन्चको पाइपमा पानी ल्याएर धरानबासीलाई खुवाउने समेत ठोकुवा गरे । ‘३२ इन्चको पाइपमा धराने जनतालाई पानी ल्याएर खुवाउने मेरो सपना छ’, उनले थपे, ‘त्यसको लागि त्यहाँ पुग्नेछौं ।’

उनले धराने जनतालाई भरपर्दो मात्रामा पानी खुवाउने आफ्नो लक्ष्य रहेको बताए । ‘ल भयो अब पानी पुग्यो, के सारो पठा’को भन्नेसम्म नपारी भएको छैन (हाँसोसहित)’, उनले कुराकानीको क्रममा भने, ‘र त्यो दिनमात्रै आफूलाई सफल भएको सम्झिनेछु, जुन दिन अगाडि भनेकै जस्तो गरी पानी खुवाउन सकुँ ।’
उनले कोशीबाट पानी ल्याएपछि मात्रै खदा माला लगाउन धरानबासीलाई आग्रह गरे ।

उनले संघीय सरकारको योजनाबाट आफूले कोशीबाट पानी ल्याउन लागेको समेत जानकारी दिए । उनले यो ठूलो प्रोजेक्ट भएको समेत बताए । उनले कोशीबाट पानी ल्याउने भनेर धरानबासीलाई बचन दिएपछि चुनाव जितेको र त्यो प्रतिबद्धता पूरा गर्न दृढ सङ्कल्पसहित अघि बढेको उनले बताए ।

उनले धरान बनाउन जनताकै साथ लिएर अघि बढ्ने उनको भनाइ थियो । धरान बन्छ भने आफू मागेरै भएपनि धरान बनाउने र पानी ल्याइछाड्ने उनले अठोट व्यक्त गरे । उनले कोशीबाट पानी ल्याउन आर्थिक अभियान सञ्चालन गरिने बताए ।

‘पानीको लागि पनि आर्थिक सहयोग गर्ने भनेर थुप्रैजना निस्किनुभएको छ, चाँडै नै सरकारी खाता नम्बर सार्वजनिक गरेर जनतालाई सहयोगको आह्वान गरिनेछ ।’ उनले थपे ।

उनले फोहोर व्यवस्थापनका लागि बैंक, हङकङ, सिंगापुर आदि ठाउँबाट सहयोग आइरहेको उदाहरण दिँदै भने, ‘अब धरान बनाउन धराने जनताकै सहयोग लिएर अघि बढ्छौं ।’

उनले विशेषतः लाहुरे समुदायहरुलाई कोशीको पानी ल्याउन सहयोग गर्नका लागि गुहार्ने समेत बताए । ‘लाहुर लाग्नुभएका धरानबासी दाजुभाइ, धरान बसेर लाहुर लाग्नुभएका अन्य दाजुभाइहरुलाई विशेष आग्रह गरिनेछ, धरानमा कोशीको पानी ल्याउन सहयोग गर्नुहोस् ।’ उनले भने ।[][]
भिडियोः[][]


Last Updated on: June 25th, 2022 at 9:14 pm
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया