सोमबार २३ साउन २०७९

दार्चुला :

सडक निर्माणमा खटिएका मजदुरको भीरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको मालगाउँ–टिंकर सडक निर्माणको काममा कार्यरत मजदुर
धामीको भीरबाट लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिका–४ सिप्टीका ४६ वर्षीय जयबहादुरको मालगाउँस्थित माकुरीघाट नजिक भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार प्रहरी टोली घटनास्थल पुगेर र शव उठाउने काम चलिरहेको छ।

 

विराटनगर : लागुऔषध गाँजा मोरङबाट दैनिकजसो बरामद हुन थालेको छ। गाँजासहित यसको ओसारपसार एवं कारोबारमा संलग्न पनि पक्राउ पर्न थालेका छन्।

धनकुटा, भोजपुरलगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा बिक्रीका लागि लुकाईछिपाई तराईतिर ल्याउने क्रममा प्रहरीले बरामद गर्न थालेको हो। गाँजा ओसारपसारमा संलग्न ३ जना मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट आइतबार साँझ पक्राउ परेका छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार साढे ९ किलो गाँजासहित धनकुटा घर भएका तीन युवा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र बाला राई रहेका छन्।

अस्थायी प्रहरी पोस्ट् बलिया र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले साँझ ५ बजेतिर उनीहरुलाई पक्राउ गरेको उनको भनाइ छ। उनका अनुसार शंका लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको जेब्रा झोलाबाट गाँजा बरामद भएको हो। पक्राउ परेकाहरुविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ।

त्यस्तै प्रहरीले मोरङको बूढीगंगा गाउँपालिका–६ बाट ८ किलोग्राम गाँजासहित शनिबार साँझ १ जनालाई पक्राउ गरेको थियो। गाँजासहित सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय नेत्रबहादुर भट्टराईलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाइकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा गाँजा बरामद भएको हो।

भट्टराई मोटरसाइकलका चालक हुन्। गाँजा र मोटरसाइकलसहित पक्राउ परेका उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले गाँजाको ओसारपसार अत्यधिक हुन थालेको विशेष सूचनाका आधारमा प्रहरी सक्रियता बढाइएको जानकारी दिए। एसपी कोइरालाले गाँजालगायतका लागुऔषधको ओसारपसार र कारोबार नियन्त्रणमा लिन प्रहरीको विशेष टोली परिचालन गरेका छन्। लागुऔषध केन्द्रित गरेर सार्वजनिक तथा निजी सवारीसाधन र शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएर चेकजाँच र खानतलासी गर्न थालिएको उनले बताए।

उनका अनुसार लागुऔषध नियन्त्रणमा अपनाउनुपर्ने उपायका बारेमा सरोकारवालासँगसमेत सुझाव लिएर कारबाही तीव्र पारिएको छ। ‘सरोकारवालाबाट प्राप्त सुझावलाईसमेत मध्यनजर गर्दै लागुऔषधको ओसारपसार, कारोबार र सेवनविरुद्ध विशेष अप्रेशन चलाइएको छ,’ कोइरालाले भने, ‘लागुऔषधविरुद्धको सचेतना र कारबाहीलाई विशेष जोड दिएर प्रहरी अघि बढिरहेको छ।’

उनका अनुसार लागुऔषधको ओसारपसार र किनबेच हुने शंकास्पद ठाउँहरु अहिले प्रहरीको निगरानीमा परेका छन्। ‘विशेष गरेर गाँजा नेपालबाट भारततिर लैजाने गरेको पाइन्छ। अन्य प्रकारका लागुऔषध भने भारतबाट नेपालतिर ओसारपसार हुन्छ,’ एसपी कोइरालाले भने, ‘पछिल्लो समय युवापुस्ता लागुऔषधको दुव्र्यसनमा फस्ने क्रम बढेको छ। नियन्त्रणका लागि सीमा क्षेत्रमा विशेष कडाइ गरिएको छ।’

लागुऔषध दुरूपयोग तथा ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङले साताव्यापी अभियानसमेत सञ्चालन गरेको थियो। सरोकारवालासँग अन्तरक्रिया, स्कुल सचेतना, प्रभातफेरिलगायतका विभिन्न कार्यक्रम गर्दै अभियान आइतबार सकिएको छ। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लागुऔषधविरुद्ध जनचेतना जगाउन र यसको अवैध धन्दामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन अभियान फलदायी हुने बताए।

‘अभियानका क्रममा सरोकारवालाबाट विभिन्न सुझावहरु प्राप्त भएका छन्। सबै पक्षसँगको सहकार्य र समन्वयमा लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘सीमानाकामा उच्च सतर्कता अपनाउँदै नेपाल र सशस्त्र प्रहरीको विशेष टोली खटाइएको छ। शंकास्पद ठाउँहरुमा पनि सुरक्षा उपस्थिति बढाइएको छ।’ लागुऔषध नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण हुने प्रजिअ दाहालले बताए। लागुऔषधको अवैध धन्दा नियन्त्रण गर्न सुरक्षा सक्रियता बढाइएकाले सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाइ छ।


Last Updated on: June 27th, 2022 at 5:18 pm
२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया