
धनगढी । डडेल्धुराको भागेश्वर गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी सोमबार कञ्चनपुरबाट डडेल्धुरा जाँदै थिए । बाटोमा तीन जना भारतीय नागरिकले उनलाई लिफ्ट मागे । कैलालीको चुरे गाउँपालिका स्थित खानीडाडासम्म जानेभन्दै लिफ्ट मागेका भारतीय नागरिकले कारमा तेल भरिदिने आश्वासन दिएका थिए । कम्प्युटर अपरेटर भण्डारी पनि तेल भरिदिने आश्वासनले लोभिए र भारतीय नागरिकलाई लिफ्ट दिए ।
बाटोमा चारै जनाले रमाइलो पनि गरे । चारै जनाले गोदावरी नदीमा नुहाएपछि पहाड चढे । तेल भरिदिने आश्वासन दिएका भारतीय नागरिकले उल्टै भण्डारीको कार लगेर फरार भए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार तीन जना भारतीय नागरिकले बाटोमै कारसहित भण्डारीको पैसा लुट्ने योजना बनाएका हुन् ।
‘लुटपाट गर्ने पूर्ववर्ती योजना त्यस्तो केही थिएन,’ प्रहरी प्रवक्ता जोशीले भने, ‘तर बाटोमा उनीहरूले लुटपाट गर्ने योजना बनाएको देखियो, जसका कारण बुढीतोलामा सरकारी कर्मचारीसमेत रहेका भण्डारीलाई कुटपिट गरेर उनीसँग भएको पैसासहित कार लगेर फरार भए ।’ कुटपिटमा संलग्न भारतीय नागरिकसँग पैसा नभएको र उनीहरूले खर्च निकाल्ने योजना सहित बाटोमै लुटपाटको योजना बनाएको उनले बताए ।
लुटपाट गर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँट रहेका छन् । तीनै जना सोमबार दिउँसो गोदावरी नगरपालिका–१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए ।
उनहरूले लुटेको ५ हजार मध्ये ४ हजार ८ सय नगदसमेत बरामद गरिएको प्रवक्ता जोशीले बताए । साथै लुटिएको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कार पनि सामुदायिक वन जानेबाटोमा पर्ने पाठक पेट्रोल पम्प नजिक बेवारिसे अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार कारको डिजिटल डिस्प्ले फुटाइएको छ ।
उनीहरूलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता जोशीले बताए । ‘पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतिको हिरासतमा राखिएको छ,’ प्रवक्ता जोशीले भने, ‘घरटाको विस्तृत कारण भने अझै खुलेको छैन, तीनै जनामाथि सोधपुछ भइरहेको छ ।’
सोमबार बिहान कञ्चनपुरबाट कैलालीको खानी डाँडा सम्म जानेभन्दै तीन जना भारतीय नागरिकले डडेल्धुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लिफ्ट मागेका थिए ।
पीडितका अनुसार कारमा तेल हालिदिने भन्दै तीनै जनाले गोदावरी नगरपालिका स्थित चुरेसम्म जान लिफ्ट मागेका थिए । तर, कैलालीको गोदावरी नगरपालिका-४ स्थित बुढीतोलामा पुगेपछि उनीहरूले फोटो खिच्ने बहानामा भण्डारीलाई बाहिर निकालेर कुट पिट गरी रुखमा बाँधेर कारसहित फरार भएका थिए ।
विराटनगर : लागुऔषध गाँजा मोरङबाट दैनिकजसो बरामद हुन थालेको छ। गाँजासहित यसको ओसारपसार एवं कारोबारमा संलग्न पनि पक्राउ पर्न थालेका छन्।
धनकुटा, भोजपुरलगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा बिक्रीका लागि लुकाईछिपाई तराईतिर ल्याउने क्रममा प्रहरीले बरामद गर्न थालेको हो। गाँजा ओसारपसारमा संलग्न ३ जना मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट आइतबार साँझ पक्राउ परेका छन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार साढे ९ किलो गाँजासहित धनकुटा घर भएका तीन युवा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र बाला राई रहेका छन्।
अस्थायी प्रहरी पोस्ट् बलिया र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले साँझ ५ बजेतिर उनीहरुलाई पक्राउ गरेको उनको भनाइ छ। उनका अनुसार शंका लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको जेब्रा झोलाबाट गाँजा बरामद भएको हो। पक्राउ परेकाहरुविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ।
त्यस्तै प्रहरीले मोरङको बूढीगंगा गाउँपालिका–६ बाट ८ किलोग्राम गाँजासहित शनिबार साँझ १ जनालाई पक्राउ गरेको थियो। गाँजासहित सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय नेत्रबहादुर भट्टराईलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाइकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा गाँजा बरामद भएको हो।
भट्टराई मोटरसाइकलका चालक हुन्। गाँजा र मोटरसाइकलसहित पक्राउ परेका उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले गाँजाको ओसारपसार अत्यधिक हुन थालेको विशेष सूचनाका आधारमा प्रहरी सक्रियता बढाइएको जानकारी दिए। एसपी कोइरालाले गाँजालगायतका लागुऔषधको ओसारपसार र कारोबार नियन्त्रणमा लिन प्रहरीको विशेष टोली परिचालन गरेका छन्। लागुऔषध केन्द्रित गरेर सार्वजनिक तथा निजी सवारीसाधन र शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएर चेकजाँच र खानतलासी गर्न थालिएको उनले बताए।
उनका अनुसार लागुऔषध नियन्त्रणमा अपनाउनुपर्ने उपायका बारेमा सरोकारवालासँगसमेत सुझाव लिएर कारबाही तीव्र पारिएको छ। ‘सरोकारवालाबाट प्राप्त सुझावलाईसमेत मध्यनजर गर्दै लागुऔषधको ओसारपसार, कारोबार र सेवनविरुद्ध विशेष अप्रेशन चलाइएको छ,’ कोइरालाले भने, ‘लागुऔषधविरुद्धको सचेतना र कारबाहीलाई विशेष जोड दिएर प्रहरी अघि बढिरहेको छ।’
उनका अनुसार लागुऔषधको ओसारपसार र किनबेच हुने शंकास्पद ठाउँहरु अहिले प्रहरीको निगरानीमा परेका छन्। ‘विशेष गरेर गाँजा नेपालबाट भारततिर लैजाने गरेको पाइन्छ। अन्य प्रकारका लागुऔषध भने भारतबाट नेपालतिर ओसारपसार हुन्छ,’ एसपी कोइरालाले भने, ‘पछिल्लो समय युवापुस्ता लागुऔषधको दुव्र्यसनमा फस्ने क्रम बढेको छ। नियन्त्रणका लागि सीमा क्षेत्रमा विशेष कडाइ गरिएको छ।’
लागुऔषध दुरूपयोग तथा ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङले साताव्यापी अभियानसमेत सञ्चालन गरेको थियो। सरोकारवालासँग अन्तरक्रिया, स्कुल सचेतना, प्रभातफेरिलगायतका विभिन्न कार्यक्रम गर्दै अभियान आइतबार सकिएको छ। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लागुऔषधविरुद्ध जनचेतना जगाउन र यसको अवैध धन्दामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन अभियान फलदायी हुने बताए।
‘अभियानका क्रममा सरोकारवालाबाट विभिन्न सुझावहरु प्राप्त भएका छन्। सबै पक्षसँगको सहकार्य र समन्वयमा लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘सीमानाकामा उच्च सतर्कता अपनाउँदै नेपाल र सशस्त्र प्रहरीको विशेष टोली खटाइएको छ। शंकास्पद ठाउँहरुमा पनि सुरक्षा उपस्थिति बढाइएको छ।’ लागुऔषध नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण हुने प्रजिअ दाहालले बताए। लागुऔषधको अवैध धन्दा नियन्त्रण गर्न सुरक्षा सक्रियता बढाइएकाले सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाइ छ।