
महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवककर्मचारीको पेन्सन व्यक्तिगत खातामा जाने प्रणाली लागू गरेको छ।
आइतबार एक सूचना जारी गर्दै महालेखा कार्यालयले मासिक निवृत्तभरण रकम विद्युतीय हस्तान्तरणमार्फत् सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा हुने प्रणाली लागु भएको जनाएको छ। सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तभरण रकम विद्युतीय कोष हस्तान्तरण (इलेकट्रोनिक फण्ड ट्रान्सफर) बाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली आजदेखि लागु गरिएको छ । कार्यालयबाट जारी सूचनामा भनिएको छ ।
यो सँगै पेन्सन पट्टा बनाएर बैंकमा गएर पेन्सन बुझ्नुपर्ने झन्झटिलो व्यवस्था हटेको छ। यो सेवाबाट निजामती, प्रहरी जङ्गी र शिक्षकतर्फ २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। निवृत्तभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्र सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्ने देखिन्छ ।