सोमबार २३ साउन २०७९

काठमाडौं । जुन २० मा महाराष्ट्रको सांगली जिल्लामा एकै परिवारका ९ जनाको मृत्युको घटनामा नयाँ मोड आएको छ । यसअघि यो घटनालाई आत्महत्याको मामिलाका रुपमा अनुसन्धान अगाडि भढाइएको थियो तर अहिले यो घटना सामूहिक हत्याको मुद्दा बनेको छ ।

तान्त्रिक र उनका चालकले दुई दाजुभाइको परिवारलाई विष खुवाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दुवै अभियुक्त पक्राउ परेका छन् । जून २० मा म्हैसाल गाउँमा एक किलोमिटरको दुरीमा रहेका दुई दाजुभाइको घरमा परिवारका नौ जनाको शव फेला परेको थियो । तिनीहरूमध्ये एक भाइ शिक्षक थिए र अर्का जनावरहरूका डाक्टर थिए।

प्रहरी महानिरीक्षक (कोल्हापुर रेन्ज) मनोज कुमार लोहियाका अनुसार तान्त्रिक अब्बासले वनमोरे दाजुभाइहरू (डा. माणिक वनमोरे र पोपट वनमोरे) को लागि गोप्य पैसा खोज्ने वाचा गरेका थिए र बदलामा मोटो रकम (लगभग १ करोड रुपैयाँ) लिएका थिए।

गोप्य पैसा नभेटिएपछि वनमोरे दाजुभाइले तान्त्रिकसँग आफ्नो पैसा फिर्ता माग्न थाले । तर अब्बासले पैसा फिर्ता गर्न चाहेनन् । जब दबाब बढ्यो, उनले वनमोरे भाइहरूको सम्पूर्ण परिवारलाई बाटोबाट हटाउने योजना बनाए।

प्रारम्भिक अनुसन्धानका अनुसार मुख्य अभियुक्त अब्बास मोहम्मद अली बागवान उनका चालक धीरज चन्द्रकान्त सुरवासेको साथमा गत जून १९ मा म्हैसाल गाउँमा रहेको वनमोरे दाजुभाइको घरमा पुगेका थिए, जहाँ तान्त्रिकले लुकेको खजाना खोज्न अनुष्ठान सुरु गरेका थिए ।

यस क्रममा उनले परिवारका सदस्यहरूलाई घरको छतमा पठाए, त्यसपछि उनीहरूलाई एक एक गरी तल बोलाएर चिया पिउन भने, जसमा केही विषाक्त पदार्थ मिसिएको थियो। यो पेय पदार्थ सेवन गरेपछि वनमोरे परिवारका मानिस बेहोस भएर ज्यान गएको आशंका गरिएको छ ।

वास्तवमा गत जून २० मा सांगली जिल्लाको म्हैसाल गाउँमा शिक्षकका रुपमा कार्यरत ५४ वर्षीय पोपट वनमोरे, उनका भाइ पशु डाक्टर ४९ वर्षका मणिक वनमोरे, उनीहरूकी ७४ वर्षीया आमासहित पत्नीहरु र ४ छोराछोरी गरी ९ जना मृत पेला परेका थिए । दुई घरबीच १.५ किलोमिटरको दुरी छ । प्रहरीले दुवै घरबाट सुसाइड नोट फेला पारेको थियो ।

सुसाइड नोटमा मृतकका परिवारले साना ठूला ऋणदातामाथि मृत्युको आरोप लगाएकाले यो सामूहिक आत्महत्या भएको प्रहरीको प्रारम्भिक अनुमान थियो । गोप्य पैसाको लोभमा वनमोरे दाजुभाइले पनि ऋण लिएको अनुमान गरिएको छ ।

यस घटनामा संलग्न २५ जनामध्ये १९ जनालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पनि पक्राउ गरिएको छ । तर घटनास्थलबाट विषको शीशी ९ शवमध्ये एउटा मात्रै शवको साथमा भेटिएपछि प्रहरी अनुसन्धान यहीँ रोकिएन ।

अर्कोतर्फ, सुसाइड नोट जाँच गरेपछि पनि प्रहरीले केही गडबड भएको महसुस भयो । किनभने सामान्यतया सुसाइड नोटमा व्यक्तिले पहिले कारण लेख्छ र त्यसपछि मानिसहरूलाई दोष दिन्छ। जहाँ यो केसमा सुसाइड नोटको सुरुमा केही व्यक्तिको नाम लेखिएको देखियो ।

योसँगै परिवारले आत्महत्या गर्न चाहेको कतै पनि उल्लेख छैन । यसबाट अभियुक्त तान्त्रिक अब्बासले घटनालाई सामूहिक आत्महत्या भनेर चित्रण गर्नका लागि कुनै न कुनै बहानामा दुवै दाजुभाइलाई साहुको नाम लेख्न बहकाएको हुनसक्ने देखिन्छ ।

यही आशंकाका कारण प्रहरीले मृतक वनमोरेको परिवारका पुराना गतिविधिको खोजी गरेको थियो । यस छानबिनमा एउटा गाडी सार्वजनिक भयो, त्यसपछि सडकमा जडान गरिएको सीसीटीभी फुटेज जाँचियो, त्यसपछि सोलापुरमा सो गाडीको लोकेशन पत्ता लाग्यो । खोजीमा सवारी साधन प्रयोग गर्ने अब्बास मोहम्मद अली बागवान नै रहेको खुलेको छ ।

उता डा. माणिक वनमोरे र पोपट वनमोरेले गोप्य सम्पत्तिको बारेमा केही मानिसहरूले कुरा गरिरहेका थिए। राति अबेरसम्म दुवै दाजुभाइबीच फोनमा यस विषयमा कुरा हुन्थ्यो । प्रहरीले उनीहरुको कल डिटेल्स निकालेर अनुसन्धान गर्दा पनि अब्बास मोहम्मद अली बागवान र धीरज चन्द्रकान्त सुरवशेको नाम बाहिर आएको थियो ।

सांगली जिल्लाका एसपी दीक्षित गेडामले मुख्य आरोपी अब्बास बागवान र सुरवासेलाई सोलापुरबाट पक्राउ गरिएको बताए । उनीहरू दुवैविरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३०२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। अभियुक्तमाथि सोधपुछ जारी छ । दुवैलाई आज साङ्गली अदालतमा पेश गरिने छ ।


Last Updated on: June 28th, 2022 at 3:04 pm
२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया