
काठमाडौँ। हिन्दु धर्ममा साउन महिनालाई विशेष महत्व दिइएको छ। साउन महिनामा भगवान शिवलाई समर्पित गरिएको छ। यस महिनामा भगवान शिवलाई प्रसन्न पार्न सोमबारको व्रत बस्ने गर्दछन्। साथै शिवलाई मन पर्ने वस्तुहरू जस्तै बेलपत्र, भांग, गंगाजल, दूध, चन्दन, भस्म आदि चढाइन्छ। तर, साउनमा शिवको पूजा गर्दा महिलाले विशेष ख्याल गर्नुपर्छ । जानीजानी वा अनजानमा महिलाहरूले शिवको पूजा गर्दा धेरै ठूला गल्ती गर्छन्।
बेसार नराख्नुहोस्– शिवलिंग पुरुष तत्वसँग सम्बन्धित छ, त्यसैले शिव वा शिवलिंगलाई बेसार कहिल्यै चढाउनु हुँदैन। साउनमा शिवलिंगमा बेलपत्र, भांग, गंगाजल, दूध, चन्दन, खरानी आदि चढाउन सकिन्छ।
शिवलिङ्ग नछुनु – शास्त्रका अनुसार महिलाले भगवान शिवको पूजा गर्दा शिवलिङ्गलाई कहिल्यै छुनु हुँदैन । महिलाले शिवलिंग छोएमा माता पार्वती रिसाउने जनविश्वास रहेको छ।
कालो कपडा नलगाउनुहोस्– साउन महिनाको सोमबार व्रत बसेको छ भने भुलेर पनि कालो कपडा नलगाउनुहोस् । कालो रंग नकारात्मकताको प्रतीक हो। भोलेनाथको पूजा गर्दा रातो वा पहेँलो रंगको वस्त्र लगाउनु राम्रो मानिन्छ। साउनमा हरियो रङको लुगा लगाउनु पनि राम्रो हुन्छ ।
यी चिज नखानुहोस्– महिलाले साउन महिनामा भान्टा, लसुन, प्याज, मासु वा मदिरा सेवन नगर्नुहोस्। तामसिक खानाको सट्टा सात्विक खाना खानुहोस्।
अरुको निन्दा वा कुरा नकात्नुहोस् – कुनै पनि व्रतको अर्थ हामीले शारीरिक र मानसिक रूपमा आध्यात्मिक साधना गर्नुपर्छ र आफ्नो इन्द्रियहरू नियन्त्रण गर्नुपर्छ। साउन महिनामा कसैको कुभलो नसोच्नुस् र गाली नगर्नु । यसो गर्नाले व्रतको फल प्राप्त हुँदैन ।
सुनसरी — धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई पछिल्लो समय खानेपानीका लागि पकुवा खोलामा पुगेर श्रमदान गरिरहेका छन् । असार पहिलो साताबाटै प्रत्येक शनिबार उनी धरान ११ र २० वडाको सिमाना सर्दु खोलापारि खानेपानीको पाइप विस्तारमा स्थानीय बासिन्दासँगै खटिइरहेका छन् ।
भीरको बाटो हुँदै पाइप बिछ्याउन सहयोगका लागि उनले ‘हर्क साम्पाङ अ रिभोल्युसन’ नामको फेसबुक अकाउन्टमार्फत धरानवासीलाई आह्वान गर्दै आएका छन् ।
११ र १७ वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन नगर प्रमुख राई आफैं पकुवा खोलामा खटिएका हुन् । उनले अरूलाई हौस्याउँदै आफैं ढुंगा बोक्ने, पाइप घिसार्ने, बेल्चा हान्ने, गारो लगाउने र गिट्टी कुट्ने काम गरिरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले प्रशंसा गरिरहेका छन् भने कतिपयले उनलाई ‘कुल्ली मेयर’ को संज्ञा दिएका छन् । उपमहानगरको विकास निर्माण र उन्नतिका लागि नीति–निर्माण र निर्देशन गर्नुपर्नेमा आफैं दौडेको आरोप लगाएका छन् ।
उनको कामलाई स्थानीय युवायुवतीदेखि बुढापाकासम्मले साथ दिएका छन् । उनकै नेतृत्वमा पकुवा खोलामा खानेपानीका लागि ट्यांकी निर्माण भइसकेको छ भने पाइप बिछ्याउँदै आइरहेको ठाउँसम्म पानी परीक्षण पनि भइरहेको छ ।
स्थानीय तह चुनावमा उनले खानेपानीलाई मुख्य एजेन्डा बनाएका थिए । त्यसैका लागि पकुवा खोलामा धाइरहेका उनले सर्दु–खर्दु जलाधारको पानी संरक्षण गरेर नगरवासीलाई पानी खुवाउने योजना बनाएका छन् । त्यसले नपुगेमा सप्तकोसीको पानी ल्याउने बताएका छन् । सप्तकोसीबाट पानी ल्याउनका लागि सम्भाव्यता अध्ययनमा जुटिरहेको उनको भनाइ छ । खानेपानीका लागि जुटिरहे पनि प्रदेश र केन्द्रले असहयोग गर्ने र बजेट नदिने संकेत पाएपछि उनले सामाजिक सञ्जालमार्फत ‘खानेपानीको समस्या समाधान गर्न सहयोग हुँदैन भने प्रदेश सरकार र संघीय सरकारको खानेपानी मन्त्रालय बन्द गर्ने माग लिएर धर्ना बस्ने’ चेतावनी दिएका छन् ।
खानेपानी पाइपलाइन विस्तार गर्ने कामसँगै उनी अर्को काममा पनि जुटेका छन्– बाँदरका लागि फलफूलका बिरुवा रोप्ने । धरान–१, २, ३ र १२, १४ का बासिन्दालाई बाँदरले सताउँदै आएको छ । घरभित्र पसेर खाद्यान्न, लत्ताकपडा नष्ट गर्ने मात्र होइन, आक्रमण गर्ने र पसलका सामान पनि खाइदिने गर्छ । बाँदर आतंक सहन नसकेर अधिकांशले आफ्नो सुन्दर घरलाई अतिरिक्त खर्च गरेर वरिपरि फलामे ग्रिल लगाउने गरेका छन् । विजयपुर क्षेत्रको जंगलमा बासस्थान रहेका बाँदरले खाने फलफूलका रूखबिरुवा नभएकाले सहर पस्ने गरेको उनको निष्कर्ष छ ।
साम्पाङले धरानका बाँदरलाई सहर आउन नदिने नयाँ जुक्ति निकालेको बताए । आहाराको खोजीमा सहर पस्ने बाँदरलाई बासस्थानमा फलफूल र आहारा उपलब्ध भएमा जंगलमै रोकेर राख्न सकिन्छ भन्ने निचोड निकाल्दै विजयपुरको पञ्चकन्या जंगल क्षेत्रमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्न सर्वसाधारणलाई उनले आह्वान गरेका छन् । उनी आफैंले पनि भ्याएसम्म रोप्दै छन् । आफूले बाँदरका लागि फलफूलको बिरुवा रोप्न आह्वान गर्दा पनि विरोध गर्नेहरूप्रति लक्षित गर्दै अर्को स्टाटस लेखेका थिए, ‘बिहान ७ बजे धरान १४ पञ्चकन्या मन्दिर आसपास फलफूल बिरुवा रोप्ने र ११ बजेतिर पकुवा मुहान जोड्ने । विरोधी हो विरोध गर्दै बस ।’
धरान–१४ का वडाध्यक्ष कृष्ण भट्टराईले भने, ‘रोपिएका बिरुवालाई वडा कार्यालयले संरक्षण गर्छ । केही वर्षपछि हुर्केर फल लागेपछि बाँदरहरू जंगलमै भुलिने छन् ।’ खानेपानी, बाँदरका लागि फलफूलको बिरुवा रोप्ने कामपछि साम्पाङले धरान उपमहानगरले तीन वर्षअघि मात्र ५१ लाख रुपैयाँमा खरिद गरेको स्कोर्पियो गाडी बिक्री गर्ने तयारीमा पनि जुटेका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने भनेर उपमहानगरले गाडी खरिद गरेको थियो । पछि उक्त गाडी तत्कालीन नगर प्रमुख तिलक राईले प्रयोग गरे । को१झ ६४० नम्बरको उक्त सरकारी गाडी बेचेर साम्पाङले धरानका सडक निर्माण र मर्मत गर्न रोलर किन्ने प्रस्ताव कार्यपालिकामा राखेका थिए । उनको प्रस्तावलाई कार्यपालिका सदस्यहरूले तीन दिनअघि अनौपचारिक रूपमा अनुमोदन गरेको भनेर उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न रोलर मेसिन किन्ने विचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदनसमेत गरिदेको छ । जय धरान ।’ उनी आफ्नै मोटरसाइकलमा ओहोरदोहोर गर्छन् ।
नगर प्रमुखले प्रयोग गर्ने स्कोर्पियो गाडी बेचेर सडक निर्माणका लागि रोलर किन्न इच्छा रहेको भनेर कार्यपालिका बैठकमा राखेको प्रस्तावलाई कार्यपालिका सदस्यहरूले अनौपचारिक सहमति दिएको धरानका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले बताए । उनले भने, ‘मेयर साबले इच्छा जाहेर गर्नुभएको हो । त्यसमा अरूले सहमति जनाएको हो तर पारित भने भइहालेको छैन ।’ उनका अनुसार सार्वजनिक खरिद ऐनअनुसार मेकानिकल इन्जिनियरले उक्त गाडी बनाएर चलाउँदा पनि फाइदाभन्दा बेफाइदा बढी हुने र लिलाम गरे उचित हुने भनेर प्रमाणीकरण गरिदिएमा उपमहानगरले लिलाम गर्न सक्ने कानुनी प्रावधान छ ।
नगर प्रमुख साम्पाङ अभियन्ता र विद्रोही भएका बेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढ्दो बेथितिविरुद्ध एक्लै प्लेकार्ड लिएर आन्दोलित हुने गरेका थिए । उनकै सिको गरेर पछिल्लो समय एक गैरसरकारी संस्थाको संयोजनमा प्रतिष्ठानको गेट अगाडि ‘सेभ घोपा क्याम्प’ भनेर दैनिक धर्ना हुँदै आएको तीन महिना कटेको छ । तर अहिलेको आन्दोलनप्रति भने उनको सहमति नभएको बताएका छन् । उनले भनेका छन्, ‘सेभ घोपा भन्ने आन्दोलनप्रति मेरो नैतिक समर्थन थियो । अब रहन्न । यो आन्दोलनले गर्दा अस्पताल सुधार होइन, सर्ने खतरा देखिन्छ । सेफ ल्यान्डिङका लागि वार्ता गराएँ । इट्स आउट अफ ट्र्याक ।’ उनले आफूले गरेको पहलमा स्वास्थ्य बिमा बोर्डबाट ७ करोड ७० लाख रुपैयाँ भुक्तानी बीपी अस्पताललाई दिएको उल्लेख गर्दै सडकमा अनावश्यक होहल्लाले सेवाग्राही घटेको र प्रतिष्ठान सुधारमा आफ्नो तहबाट लागिरहेको बताए । उनले भने, ‘बिरामी बोकेर एम्बुलेन्स कुद्ने सडक अवरुद्ध गरेर बसिरहन पर्दैन । अनावश्यक होहल्लाले प्रतिष्ठानको सुधार गर्दैन ।’