सोमबार १० आश्विन २०७९

काठमाडौं, २४ साउन :

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयाेग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताएका छन् ।अज्ञात व्यक्तिले सोमबार राति बन्चरे डाँडामा रहेका फोहोर बोक्ने र व्यवस्थापनमा प्रयाेग गरिने साधनमाथि तोडफोड भएपछि मेयर साहले उक्त कार्य जघन्य अपराध भएको प्रतिक्रिया दिएका हुन् ।

विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास नगर्न आग्रह गरेका उनले फोहोर बोक्ने साधनमाथिको तोडफोड घटनाको अनुसन्धान गर्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।सवारीसाधन तोडफोड गर्नलाई कडा कारबाही गर्न माग गर्दै मेयर साहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा यस घटनालाई लिएको बताएका छन् ।

सवारीसाधन तोडफोड घटनालाई लिएर मंगलबार अपरान्ह मेयर साहले फेसबुकमा लेखेका छन् :

फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।

यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।

कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।

केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।

तेह्रथुम — लालीगुराँस नगरपालिका ९ सोल्मा पुरुन्दिनकी तिला पोखरेलले पाँच वर्षसम्म जनप्रतिनिधिको भूमिका निर्वाह गरिन् । गाउँमै खेती किसानी गर्दागर्दै पहिलो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी पोखरेल लालीगुराँस नगरपालिकाको उपमेयरमा निर्वाचित भइन् ।

जनप्रतिनिधि हुनुअघि उनले गाउँको पुर्ख्याैली भिरालो जमिनमा किवी खेती सुरु गरेकी थिइन्, श्रीमान् देवी पोखरेलले साथ दिएका थिए । पोखरेल दम्पत्तिको किवी बगान अहिले जिल्लाकै उत्कृष्ट कहलिएको छ । आठ वर्षअघि टेलिभिजनमा किवी खेतीबारे प्रसारण भएको कार्यक्रम हेरेपछि पोखरेल दम्पत्तिमा बिरुवा लगाउने रहर जाग्यो । उनले आफ्नो भिरालो पाखो बारीमा किवीका बिरुवा लगाउने निर्णय गरिन् । सुरुमा इलामबाट २ सय वटा किवीको बिरुवा ल्याएर भिरालो जमिनमा खेती सुरु गरिन् । अहिले भने उनले नर्सरी नै तयार गरी किवीका सयौं बिरुवा बेच्छिन् ।

किवीको खेती सुरु हुँदै गर्दा जनप्रतिनिधिको पनि भूमिका सम्हाल्न पुगेपछि उनले अन्य किसानलाई पनि यसबारे जानकारी गराइन् । उनले खेती सुरु गर्दा जिल्लामा थोरै किसानले मात्र हात हालेका थिए । विभिन्न कार्यक्रम र संचालित योजनाहरुको अनुगमन निरीक्षणमा पुग्दा जिल्लामा किवी खेती गर्न सकिने धेरै जमिन उनले देखिन् । ‘किवी खेतीबारे मैले जानेको प्रविधि किसानलाई पनि सिकाएँ’ पोखरेलले भनिन् । त्यतिबेला किवी फल जिल्लामा नौलो भए पनि अहिले धेरै किसान लागेका छन् । जिल्लाका लालीगुराँस र म्याङलुङ नगरपालिका, आठराई, फेदाप, मेन्छ्यायाम र छथर गाउँपालिका गरी ६ वटै स्थानीय तहका किसानले किवीको व्यवसायिक खेती थालेका छन् ।

अघिल्लो वर्ष ३ लाख रुपैयाँको किवी फल बिक्री गरेकी पोखरेलले यो वर्ष ७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकी छिन् । हाल प्रतिबोट ७० देखि १ सय केजीसम्म फल फलेको पोखरेलको अनुमान छ । जेठ महिनामा चिचिला लागेको किवी कात्तिकदेखि माघ महिनासम्ममा फल टिपिसक्नु पर्छ । पुस अन्तिमदेखि माघ दोस्रो सातासम्म यसको बिरुवा लगाउने उपयुक्त समय हो । श्रीमानको नामबाट दर्ता भएको ‘देवी किवी फर्म २० रोपनी क्षेत्रफलमा फैलिएको छ । बगानमा रेड र ग्रीन जातका किवी रोपिएको छ ।

बगानमा किवीका लहरा स्याहार्दै गरेको अवस्थामा भेटिएकी पोखरेल लटरम्म फलेको फल देखेरै खुसी छिन् । तर किवी कहाँ लगेर बेच्ने भन्ने चिन्ता उनमा छ । सुरुमा रहरले रोपेको किवीको फलबाट अहिले राम्रै आम्दानी हुन थालेको छ । कृषिबाटै करोडपति बन्न सकिन्छ भन्ने आश पोखरेल दम्पत्तिमा पलाएको छ । ‘उत्पादनको सुरु वर्षमा त मूल्य राम्रै थियो, त्यसयता भने राम्रो मूल्य लिएर बेच्न पाएको छैन’ उनले भनिन् । किवी फलको मूल्य कम हुँदा सोचेजस्तो फाइदा लिन नसकेको उनको बुझाइ छ । केही वर्षअघिसम्म प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री हुने किवी अहिले भने १ सय ५० रुपैयाँमा पनि बिक्री हुन नसकेको उनको गुनासो छ । राम्रो मूल्य नपाउनु र बजारको सुनिश्चितता नहुँदा यो वर्षको फल कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता रहेको उनले बताइन् ।

अहिले जिल्लाका किसान किवी फलका लागि बजार खोज्न लागेका छन् । किवीको रक्सी, वाइन, जुस लगायतका पेय पदार्थ समेत बनाएर बिक्री गर्न सकिने पोखरेलको भनाइ छ । रोग, किरा नलागेको, एउटै बोटमा राम्रो फल्दा २ सय किलोसम्म उत्पादन हुने गरेको कृषि प्राविधिकको भनाइ छ । एक किलोमा १४ देखि २० दाना चढ्छ । वर्षमा एक सिजन उत्पादन हुने किवी कोल्डस्टोरमै नराख्दा पनि चैत महिनासम्म रहने भएकाले पनि यसको व्यापार करिब ६ महिनासम्म राम्रो हुने गरेको व्यापारी बताउँछन् ।

अमेरिका, बेलायत लगायत युरोपका विभिन्न देशमा महँगो मूल्यमा बिक्री हुने किवीको जाइका, इसिमोड लगायतका विदेशी संस्थासँग मिलेर अध्ययन गरेपछि मात्र नेपालमा खेती सुरु गरिएको हो । दक्षिण चीनमा पत्ता लागेर खेती सुरु भएको किवीका लागि हाल न्युजिल्यान्ड प्रख्यात मानिन्छ । न्युजिल्यान्डको राष्ट्रिय चराको नाम नै किवी भएकाले त्यसैबाट फलको नाम पनि किवी हुन गएको विभिन्न सन्दर्भ ग्रन्थमा उल्लेख छ । नेपालमा भने यसलाई ठेकीफलका नामले पनि चिनिन्छ ।

कृषि ज्ञानकेन्द्र धनकुटाका अनुसार फ्रान्स, चिली, इटाली, जापान, क्यानडा, इरान, कम्बोडिया लगायत देशमा किवीको माग उच्च छ । समुन्द्री सतहबाट ८ सय देखि ३ हजार मिटर उचाइसम्म यो फलको खेती गर्न सकिन्छ । सबै प्रकारका पौष्टिक तत्त्व पाइने किवीलाई संयूक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले ‘फलहरूकै राजा’ का रूपमा सुचीकृत गरेको छ । यसको बजार सम्भावना धेरै भए पनि ग्रेडिङ र ट्रेडमार्कमा भने समस्या रहेको किसानको भनाइ छ । जिल्लामा करिव ५ सय किसान किवीको व्यावसायिक खेतीमा लागेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय तेह्रथुमले जनाएको छ । किवीको बजार विश्वभर रहेकाले किसानले बजारीकरणमा चिन्ता लिनु नपर्ने प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आश्वासन दिएको छ । गुणस्तरीय उत्पादन र व्यवसायिकतामा ध्यान दिन सके यसबाट किसानले राम्रो आम्दानी गर्न सक्ने केन्द्रको भनाइ छ । नेपालमा ८ किसिमका किवीको खेती हुँदै आएको छ । हार्डी, ब्रुण, ऐलिसन, मन्टी, रेड, ग्रीन, गोल्डेन, मिनी र एबोड किवीको खेती नेपालमा हुने गरेको छ ।

 


Last Updated on: August 9th, 2022 at 5:23 pm
६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया