सोमबार १० आश्विन २०७९

गलेश्वर-वर्षाको समय पानी परेर चिप्लो भएको भीरको बाटो । बुट्यान र लहरालाई समाउँदै भीर पहराको बाटो छिचोलेर विद्यालय आउजाउ गर्न बाध्य म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीको खाम्लाका विद्यार्थी अब भने सजिलो बाटो हिँडेर विद्यालय जान र घर फर्किन पाउने भएका छन् ।

विद्यार्थी र बटुवाको यस्तो बाध्यतालाई मध्यनजर गरी खाम्लाका स्थानीय युवाले श्रमदान गरेर पैदलमार्ग निर्माण गरिदिएपछि विद्यार्थी र बटुवाले जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता हटेको हो ।

बर्खाको समयमा विद्यार्थीले जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता भएपछि स्थानीय खाम्ला युवा क्लबको पहलमा चार दिनसम्म श्रमदान गरेर पैदलमार्ग निर्माण तथा मर्मत गरिएको स्थानीय केशरी शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार ज्यानकै बाजी राखेर विद्यार्थी दैनिक विद्यालयमा आवतजावत गर्नुपर्ने बाध्यता भएपछि सामूहिक श्रमदान गरी बिहीबार पैदलमार्ग निर्माण तथा मर्मत गरेपछि अहिले विद्यार्थी र बटुवा सजिलो बाटो सुरक्षित तरिकाले आउजाउ गर्न पाएका छन् ।

सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिले पदमार्ग निर्माण तथा मर्मतमा चासो नदेखाएपछि युवा क्लबले आफैँले पदमार्ग निर्माण तथा मर्मत गरी सुरक्षित बनाएपछि बालबालिका र बटुवालाई सहज भएको छ । लगातार पानी पर्दा दैनिकजसो जोखिम मोलेर कलिला बालबालिका आवतजावत गर्नुपर्ने बाध्यता रहेको सो पदमार्ग निर्माण र मर्मतका लागि आगामी दिनमा वडा र अन्य निकायबाट नै पहल हुनुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

तेह्रथुम — लालीगुराँस नगरपालिका ९ सोल्मा पुरुन्दिनकी तिला पोखरेलले पाँच वर्षसम्म जनप्रतिनिधिको भूमिका निर्वाह गरिन् । गाउँमै खेती किसानी गर्दागर्दै पहिलो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी पोखरेल लालीगुराँस नगरपालिकाको उपमेयरमा निर्वाचित भइन् ।

जनप्रतिनिधि हुनुअघि उनले गाउँको पुर्ख्याैली भिरालो जमिनमा किवी खेती सुरु गरेकी थिइन्, श्रीमान् देवी पोखरेलले साथ दिएका थिए । पोखरेल दम्पत्तिको किवी बगान अहिले जिल्लाकै उत्कृष्ट कहलिएको छ । आठ वर्षअघि टेलिभिजनमा किवी खेतीबारे प्रसारण भएको कार्यक्रम हेरेपछि पोखरेल दम्पत्तिमा बिरुवा लगाउने रहर जाग्यो । उनले आफ्नो भिरालो पाखो बारीमा किवीका बिरुवा लगाउने निर्णय गरिन् । सुरुमा इलामबाट २ सय वटा किवीको बिरुवा ल्याएर भिरालो जमिनमा खेती सुरु गरिन् । अहिले भने उनले नर्सरी नै तयार गरी किवीका सयौं बिरुवा बेच्छिन् ।

किवीको खेती सुरु हुँदै गर्दा जनप्रतिनिधिको पनि भूमिका सम्हाल्न पुगेपछि उनले अन्य किसानलाई पनि यसबारे जानकारी गराइन् । उनले खेती सुरु गर्दा जिल्लामा थोरै किसानले मात्र हात हालेका थिए । विभिन्न कार्यक्रम र संचालित योजनाहरुको अनुगमन निरीक्षणमा पुग्दा जिल्लामा किवी खेती गर्न सकिने धेरै जमिन उनले देखिन् । ‘किवी खेतीबारे मैले जानेको प्रविधि किसानलाई पनि सिकाएँ’ पोखरेलले भनिन् । त्यतिबेला किवी फल जिल्लामा नौलो भए पनि अहिले धेरै किसान लागेका छन् । जिल्लाका लालीगुराँस र म्याङलुङ नगरपालिका, आठराई, फेदाप, मेन्छ्यायाम र छथर गाउँपालिका गरी ६ वटै स्थानीय तहका किसानले किवीको व्यवसायिक खेती थालेका छन् ।

अघिल्लो वर्ष ३ लाख रुपैयाँको किवी फल बिक्री गरेकी पोखरेलले यो वर्ष ७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकी छिन् । हाल प्रतिबोट ७० देखि १ सय केजीसम्म फल फलेको पोखरेलको अनुमान छ । जेठ महिनामा चिचिला लागेको किवी कात्तिकदेखि माघ महिनासम्ममा फल टिपिसक्नु पर्छ । पुस अन्तिमदेखि माघ दोस्रो सातासम्म यसको बिरुवा लगाउने उपयुक्त समय हो । श्रीमानको नामबाट दर्ता भएको ‘देवी किवी फर्म २० रोपनी क्षेत्रफलमा फैलिएको छ । बगानमा रेड र ग्रीन जातका किवी रोपिएको छ ।

बगानमा किवीका लहरा स्याहार्दै गरेको अवस्थामा भेटिएकी पोखरेल लटरम्म फलेको फल देखेरै खुसी छिन् । तर किवी कहाँ लगेर बेच्ने भन्ने चिन्ता उनमा छ । सुरुमा रहरले रोपेको किवीको फलबाट अहिले राम्रै आम्दानी हुन थालेको छ । कृषिबाटै करोडपति बन्न सकिन्छ भन्ने आश पोखरेल दम्पत्तिमा पलाएको छ । ‘उत्पादनको सुरु वर्षमा त मूल्य राम्रै थियो, त्यसयता भने राम्रो मूल्य लिएर बेच्न पाएको छैन’ उनले भनिन् । किवी फलको मूल्य कम हुँदा सोचेजस्तो फाइदा लिन नसकेको उनको बुझाइ छ । केही वर्षअघिसम्म प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री हुने किवी अहिले भने १ सय ५० रुपैयाँमा पनि बिक्री हुन नसकेको उनको गुनासो छ । राम्रो मूल्य नपाउनु र बजारको सुनिश्चितता नहुँदा यो वर्षको फल कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता रहेको उनले बताइन् ।

अहिले जिल्लाका किसान किवी फलका लागि बजार खोज्न लागेका छन् । किवीको रक्सी, वाइन, जुस लगायतका पेय पदार्थ समेत बनाएर बिक्री गर्न सकिने पोखरेलको भनाइ छ । रोग, किरा नलागेको, एउटै बोटमा राम्रो फल्दा २ सय किलोसम्म उत्पादन हुने गरेको कृषि प्राविधिकको भनाइ छ । एक किलोमा १४ देखि २० दाना चढ्छ । वर्षमा एक सिजन उत्पादन हुने किवी कोल्डस्टोरमै नराख्दा पनि चैत महिनासम्म रहने भएकाले पनि यसको व्यापार करिब ६ महिनासम्म राम्रो हुने गरेको व्यापारी बताउँछन् ।

अमेरिका, बेलायत लगायत युरोपका विभिन्न देशमा महँगो मूल्यमा बिक्री हुने किवीको जाइका, इसिमोड लगायतका विदेशी संस्थासँग मिलेर अध्ययन गरेपछि मात्र नेपालमा खेती सुरु गरिएको हो । दक्षिण चीनमा पत्ता लागेर खेती सुरु भएको किवीका लागि हाल न्युजिल्यान्ड प्रख्यात मानिन्छ । न्युजिल्यान्डको राष्ट्रिय चराको नाम नै किवी भएकाले त्यसैबाट फलको नाम पनि किवी हुन गएको विभिन्न सन्दर्भ ग्रन्थमा उल्लेख छ । नेपालमा भने यसलाई ठेकीफलका नामले पनि चिनिन्छ ।

कृषि ज्ञानकेन्द्र धनकुटाका अनुसार फ्रान्स, चिली, इटाली, जापान, क्यानडा, इरान, कम्बोडिया लगायत देशमा किवीको माग उच्च छ । समुन्द्री सतहबाट ८ सय देखि ३ हजार मिटर उचाइसम्म यो फलको खेती गर्न सकिन्छ । सबै प्रकारका पौष्टिक तत्त्व पाइने किवीलाई संयूक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले ‘फलहरूकै राजा’ का रूपमा सुचीकृत गरेको छ । यसको बजार सम्भावना धेरै भए पनि ग्रेडिङ र ट्रेडमार्कमा भने समस्या रहेको किसानको भनाइ छ । जिल्लामा करिव ५ सय किसान किवीको व्यावसायिक खेतीमा लागेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय तेह्रथुमले जनाएको छ । किवीको बजार विश्वभर रहेकाले किसानले बजारीकरणमा चिन्ता लिनु नपर्ने प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आश्वासन दिएको छ । गुणस्तरीय उत्पादन र व्यवसायिकतामा ध्यान दिन सके यसबाट किसानले राम्रो आम्दानी गर्न सक्ने केन्द्रको भनाइ छ । नेपालमा ८ किसिमका किवीको खेती हुँदै आएको छ । हार्डी, ब्रुण, ऐलिसन, मन्टी, रेड, ग्रीन, गोल्डेन, मिनी र एबोड किवीको खेती नेपालमा हुने गरेको छ ।


Last Updated on: August 9th, 2022 at 5:39 pm
५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया