शुक्रबार १५ मंसिर २०८०

काठमाण्डौ

प्रेम सुनार गुल्मी, सोमबार दिउँसो करिब एक बजेको समय थियो । गुल्मी सदरमुकाम तम्घासको पुतली बजारभन्दा केही पर सुनसान सडकको छेउँमै बन्द एक घरको सटर बाहिर एक जना सडक मजदुर भोको पेट टार्नका लागि त्यस घर परिवारसंग हात टक्राउँदै थिए ।

उनको आवाज सुनेपछि घर भित्र बसेका केहि महिलाहरु सटर नखोली भित्र उभिएर उनको भोको पेटको विलौना सुनिरहेका थिए । त्यो समयमा विहान पाकेको खान सकिएकोले चामल दिने र ती भोको पेट मजदुरले लगेर आफै खान पकाएर खाने कुरा चलिरहेको थियो ।

सोही अनुरुप उनलाई प्लाष्किटमा पुग–नपुग एक माना चामल उनको हातमा थमाइयो । त्यो चामल पाएकोमा ति मजदुर खुशीले गद्गद् देखिन्थे । दिनको त्यो बेलासम्म भोको पेट र एक गासका लागि उनको त्यो दुहाईको दृश्य ह्ृदयविदारक थियो ।

उनको कथा ब्याथा लिने प्रयास थालियो । उनले आफ्नो परिचय दिए । उनले दिएको परिचय अनुसार उनको घर बाग्लुङ्ग हो । उनको नाम बोमबहादुर परियार हो । उनले आफ्नो जन्म २०१८ सालमा भएको र ९ बर्षको उमेरदेखि सडक मजदुरी गर्न थालेको बताए ।

झट्ट हेर्दा उनको शरिर हट्टाकट्टा भए पनि उनको मुहारमा निरासा देखिन्थ्यो । उनैलाई राहत स्वरुप राशन दिने सोचेर हामी दोश्रो दिन दिउँसो उनले वर्षौदेखि पल्लेदारी मजुदुरी गर्दै आएको स्थान बुढाथोकी बसपार्कमा पुग्यौं ।

उनलाई खोज्दै जाने क्रममा बसपार्कभन्दा अलि माथि मानिहरुको भिड देखियोें । उक्त भिडको नजिकै पूग्दा हिजो भोको पेट रहेर एक गासका लागि कसैसंग हात फैलाई रहेका बोमबहादुर लम्पसार परेको भेटियो । ‘तिमीले यसरी भौतारिनु पर्दैन, आफ्नो गास काटेर भएपनि एक महिनालाई पुग्ने राशन दिन्छौं ।

–भनेर छुट्टीएका हामी बोमबहादुरलाई सडकमा लम्पसार परेको दृश्यदेख्नु पर्यो । कहिलेकाँही बसपार्कमा ओर्लिदा पैसा नलिएरै हाम्रा झोलाझिम्टी ठाउँमा पुर्याइदिने उनै बोमबहादुरलाई भनि एक बोरा चामल, दाल, तेल लगाएतको राहत सामग्री बाकेर पुग्दा यसरी उनी सडकमा लडेको देख्दा मन चस्किने स्वाभाविक नै थियो ।

प्रहरी सहित त्यहाँ जम्मा भएका सबैले उनलाई उठाउने–जगाउने प्रयास गर्यौ, तर उनी मृत प्राय देखिन्थे । तत्कालै जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराई, डिएसी पुरुषोत्तम प्रसाद पाण्डे आए । उनीहरुले उनी लडेको स्थानलाई सिल्ड गरे ।

बसपार्क क्षेत्रका बासिन्दासँग सोधपुछ गर्दा उनलाई डन भनेर चिनिदो रहेछ । हुन पनि ‘डन’ भनेर फुरुक्क पार्दा उनी कामका लागि डन नै थिए । उनी जुन सडकमा फुर्कीफुर्की काम गर्दै आएका थिए त्यही सडकमा भोको पेट निरिही भएर लम्पसार पर्नुपर्यो ।

उनलाई गुल्मी अस्पताल पुर्याउँदा डाक्टरबाट मृतक घोषणा गरिएको दुखत खबर डिएसी पाण्डेले सुनाए । उनका परिवारजन र उनको वास्तविक जीवन कथा बुझ्न उनका परिवारजनलाई भेट्न जिल्ला प्रहरी कार्यालय मै पुगियो ।

त्यहाँ पुगेर मृतक बोमबहादुरकी श्रीमती ५० बर्षीया भिमकुमारी परियारसँग बुझ्दा उनीहरु बाग्लुङ्गको बुर्तिबाङ्गबाट वि.स.२०४६ सालमा तम्घासमा मजदुरी गर्न आएको बताईन् । उनीहरु ३७ वर्ष देखि घर नफर्केको बताइन् ।

उनीहरुका ८ वटी छोरी छन् । तम्घासको बाघमारेमा बिशाल श्रेष्ठको जमिनमा सानो छाप्रो बनाएर बस्दै आएका छन् । श्रीमान वोमबहादुरसँग बिछोड भएको ६ बर्षपछि मंगलबार पहिलो पटक श्रीमानको रुपमा उनको मृत शरिर देखेको उनले बताईन् । न आफूले श्रीमानको दुःख–सुख हेर्ने न श्रीमानले आफ्नो दुःख सुख हेर्नेे भएका कारण यो अवस्था आएको उनको भनाई थियो ।

त्यो परिवारलाई संरक्षण दिदै आएका घरबेटी बिशाल श्रेष्ठले मृतकका दाजु भाईको पत्तो लगाउन नसकिएको र दाहसंस्कार गराउन र काजकिरिया चलाउन मिडिया मार्फत सहयोगको अपिल गर्नु पर्ने अवस्था आएको बताए ।


Last Updated on: June 12th, 2021 at 6:42 pm
२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया