सोमबार ०६ बैशाख २०७८

देशमा बेरोजगारी बढेको छ। कोरोनाकाबीच पनि युवायुवती विदेश जान लाइनमा छन्। नेपालमै घर बनाउने, प्लास्टरर, प्लम्बीङ, टायल बिच्याउने, फनिचर लगायतका काममा नेपाली मजदुरको अभाव छ। यस्ता काममा भारतीय मजदुरको बाहुल्यता रहेको छ। नेपालमा यस्तै काम गरेर भारतीयहरुले वर्षौदेखि खरबौ रुपैयाँ आफ्नो देशमा रेमिट्यान्सको रुपमा लगेका छन्। घर बनाउने काम गाह्रो हुने भएकोले महिलाले घर बनाउने काम गर्न सक्दैनन् भन्ने चलन थियो। पछिल्लो समयमा भने यो भ्रम तोड्दै महिलाले अवसर पायो भने जुनसुकै काम पनि गर्न सक्छन् भन्ने उदाहरण देखाएका छन्।

पोखरामा पछिल्लो समयमा युवतीहरु घर बनाउन हेल्पर मात्र होइन मिस्त्रीको काम गरेर पुरुष बराबर दैनिक ज्याला लिने गरेका छन्। सिन्धुली घरभई पोखरामा बस्ने २८ वर्षीय सरिता घिमिरे पाँच वर्ष अघिदेखि मिस्त्रीको काम गर्दै आएको बताइन्। उनले भनिन्, ‘८ कक्षा पढ्दा पढ्दै पढ्नमा रुची नै भएन। पहिले घर बनाउन हेल्परको काम गरे। ६ महिना पछि मिस्त्रीको काम सिकेर पुरुष बराबर ज्याला लिने गरेको छु।’
पोखरा १८ सराङ्कोटमा जन्मेकी उनी ४ दिदी बहिनी र २ दाजुभाइबीचकी कान्छी छोरी हुन्। पढ्न मन नभई नभई पढ्नुभन्दा जेमा रुची छ त्यसैमा रमाउनु पर्छ भन्ने लागेर घर बनाउने काम सिकेको उनले सुनाइन्। ‘घरमा बाबा आमाले पहिले त पढ्न छाडेर घर बनाउने मिस्त्री काम गरेकोमा गाली गर्नुभएको थियो। अहिले भने घरमा पनि खुशी नै हुनुहुन्छ’ उनले सुनाइन्।

बिहेपनि घर बनाउने ठेक्दार सँग नै गरेपछि काम गर्न थप सहज भएको उनले बताइन्। उनी भन्छिन्, ‘श्रीमान अहिले विदेशमा हुनुहुन्छ। म यहाँ ५ वर्षको छोरालाई हुँकाउँदै काम गरिरहेको छु।’ महिनामा कम्तीमा २५ हजार कमाइ हुने गरेको उनले बताइन्। ठेक्दारले मिस्त्रीलाई महिला पुरुष बराबर दैनिक एक हजार रुपौयाँ ज्याला दिन्छन्। काम नियमीत पाउने भएकोले ठेक्दारमार्फत काम गर्दा उपयुक्त हुँने उनले बताइन्। आफै काम खोजेर गर्दा दैनिक १२ सय देखि १५ सयसम्म लिन सकिने उनले सुनाइन्।

यही काम गरेर छोरो हुर्काएर केही रकम बचत हुने गरेको उनको भनाई छ। ‘श्रीमानले कमाउको पैसा बच्छ। नेपालमा कामलाई सानो भनेर हेला गर्ने चलनले गर्दा यस्तै काम गर्न दाजुभाई दिद बहिनी विदेश जाने गरेका छन्’, उनले भनिन्, ‘मैले घरको प्लास्टरको काम पनि गर्छु। गाह्रो लगाउने, प्लास्टर गर्ने भएकोले कामको कुनै अभाव हुँदैन। विदेशमा काम गर्न जाँदा परिवार संग टाढिनु पर्छ। देश छाडेर जाँदा महिलाले दुर्व्यवहार बेहोर्नुपर्छ। यसैले विशेष गरी दिदीबहिनीलाई आफूलाई रुची भएको काम सिकेर यही काम गर्न अनुरोध गर्दछु।’

पोखरा महानगरापलिका ढुङ्गेपाटनकी ३३ वर्षीय सिला मिजार पनि दैनिक घर बनाउने काममा व्यस्त हुने गरेको सुनाइन्। हेल्पर हुँदै मिस्त्रीको काम गर्न थालेपछि दैनिक कमाई राम्रो हुने गरेको उनले बताइन्। छोराछोरी ९ र १० कक्षामा पढ्छन्। यही कामको कमाईले छोराछोरी पढाउने घर खर्च चलाउदै आएको उनले सुनाइन्।

श्रीमान पनि मिस्त्रीकै काम गर्ने भएकोले काम गर्न थप सहज भएको उनले बताइन्। काम ठुलो सानो भन्ने हाम्रो समाजका पहिल्यैदेखिको सोचले गर्दा दाजुभाई दिदीबहिनी विदेश जान बाध्य भएको उनको अनुभव छ। यही काम गरेर यहाँभन्दा कम आम्दानी हुने अवस्थामा पनि दाजुभाई विदेश जान नै मन गर्नु भनेको यहाँ कामको सम्मान नहुनु नै मुख्य कारण रहेको उनको बुझाई छ।

पछिल्लो समयमा दिदीबहिनीले पुरुष सरह समान काम र समान ज्याला पाउने गरेको निर्माण कम्पनीका ठेकेदार प्रेमकुमार बुढाथोकीले बताए। दिदी बहिनीहरुले पुरुष भन्दा राम्रो गरी घरको गाह्रो लगाउने र प्लास्टरको काम गर्ने गरेको उनले सुनाए। उनीहरु काममा पुरुषभन्दा मेहेनति र इमान्दार पनि हुने गरेको उनले बताए। ‘हाम्रो साइटमा ४ जना मिस्त्रीको काम गर्ने दिदी बहिनीहरु हुनुहुन्छ। उहाँहरुले पुरुष भन्दा राम्रो काम गर्नु हुन्छ। पुरुष बरार ज्याला पाउनु हुन्छ’, उनले भने।

घर निर्माणका क्षेत्रमा बिजुली र रंगका काममा नेपालीहरुनै बढी रहेपनि प्लमिङको काम गर्नेहरु भारतको उडीसातिरका बढी रहेको उनले बताए। यसैगरी घर प्लास्टरको काम लगभग ९९ प्रतिशत भारतीयले नै गर्दै आएको उनले सुनाए। काठको काम, टायल लगायतका काममा पनि भारतीय नागरिकको नै बाहुल्यता रहेको निर्माण क्षेत्रमा लागेकाहरु बताउँछन्। घर निर्माणका काममा खटिने मजदुरहरुको सुरक्षा चुनौती भने छ। अग्ला घरहरुमा बाँसको खटमा बसेर गारो लगाउनु, प्लास्टर गर्नु जोखिम पूर्ण छ।

source: Annapurna post

२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया