शुक्रबार १९ जेठ २०८०

काठमाडौंबाट नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले सोमबार नक्कली डिएसपीलाई पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले जानकारी दिए।

तार्केश्वर नगरपालिका वडा नम्बर ६ जरङ्गूस्थित भिक्टोरिया फार्मेसी सञ्चालन गर्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगानालाई पक्राउ गरिएको हो। उनले आफूलाई डाक्टर एसके ढुंगाना भनेर पनि चिनाउने गरेका छन्।

उनले आफू मेडिकल डाइरेक्टर डा‍. एसके ढुंगाना हुँ भन्दै मेडिकल फर्म चलाएको पाइएको प्रहरीले जनाएको छ। खापुङका अनुसार उनले नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी भनेर चिनाउँदै आएका थिए।

प्रहरीले उनकाे साथबाट नेपाल प्रहरीका विभिन्न पदका पोशाक लगाएका तस्वीर तीन वटा, डिएसपीको पोशाक एउटा, एक जोर नेपाल प्रहरीको जर्सी र मोबाइल बरामद गरेको छ।

उनीबाट कोही ठगीएको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत महाशाखाले आग्रह गरेको छ। उनको सन्दर्भमा थप अनुसन्धान भैरहेको खापुङले बताए ।

source:kantipath.com


Last Updated on: June 15th, 2021 at 12:55 am
५०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया