बिहिबार ११ आश्विन २०८०

ताइवान : ताइवानको दक्षिणपूर्वी क्षेत्रमा आइतबार ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपश्चात् त्यहाँ सुनामीको चेतावनी पनि जारी गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणको मापनले भने सो भूकम्प ७.२ म्याग्निच्युड भएको जनाएको छ। भूकम्पको केन्द्रविन्दु पृथ्वीबाट १० किलोमिटर तल भएको बताइएको छ।

ताइवानी मिडियाले एक भवन भत्किएको जनाएको छ। पूर्वी तटमा रेल पटरीबाट खसेको बताइएको छ। सो घटनामा हताहत हुनेको पूर्ण विवरण भने खुलाइएको छैन।

यस भूकम्पपछि संयुक्त राज्यको सुनामी चेतावनी केन्द्रले ताइवानमा सुनामी आउने चेतावनी जारी गरेको छ। उक्त चेतावनीमा भूकम्पको केन्द्रविन्दुबाट ३०० किलोमिटरको दायराभित्र ताइवान सागरको तट नजिकै खतरनाक सुनामी छाल आउन सक्ने बताइएको छ।

जापानको मौसम विभागले पनि सुनामीको छाल १ मिटर अग्लो हुने चेतावनी दिएको छ। बीबीसी

गोरखा : गोरखा राज्य स्थापनाको अवसर पारेर आयोजना गरिएको लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथन दौडको उपाधि नेपाली सेनाका तीर्थबहादुर तामाङले जितेका छन्।

शनिबार आयोजित ४२ किलोमिटर दूरीको दौड तीन घण्टा ११ मिनेट १ सेकेण्डमा पार गर्दै भवानी दल गणका जमदार तामाङले उपाधि जित्न सफल भएका हुन्।

९३ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजयी बनेका उनले नगद एक लाख ५० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र पाएका छन्।

निर्धारित दूरी तीन घण्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै भारतीय सेनामा कार्यरत अनिश थापा मगर दोस्रो भए। उनले नगद एक लाख पुरस्कार पाएका छन्।

त्यस्तै नेपाली सेनाका बरख गणका मोहनदेव जोशीले तीन घण्टा १५ मिनेट १५ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै तेस्रो भए। उनले नगद ७५ हजार पाएका छन्।

चौथो र पाँचौ भएका चण्डिप्रसाद गणका देबराज महतरा र भीमकाली गणका गोबिन्द कार्कीलाई क्रमशः ५० र ३५ हजार पुरस्कार प्रदान गरियो।

१० जनाभित्र पर्न सफल सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, महेन्द्र दल गणका थमबहादुर अधिकारी, सिरानचोक-५ गोरखाका अशोक बराम, भूतपूर्व सैनिक रैवतबहादुर दाहाल र महावीर सौर्य गणका बिमल खड्कालाई क्रमशः ३०, २५, २०, १५, १० हजार रुपैयाँ प्रदान गरिएको छ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र गोरखास्थित रिपुमर्दन गणको आयोजनामा लिगलिगकोट-सिरानचोक-गोरखा दरबार म्याराथन दौड २०७९ आयोजना भएको हो।

इतिहासको संरक्षण र सो रुटलाई एकीकृत ट्रेलका रूपमा विकास गर्न नेपाली सेनाको सक्रियतामा २०७६ सालदेखि म्याराथन सुरु भएको हो। कोरोनाका कारण दुई वर्ष रोकिएको दौड अहिले पुनः सञ्चालन भएको रिपुमर्दन गण गोरखाका गणपति हेम बिष्टले बताए।

१६१५ को विजया दशमीका दिन दौड जितेर लिगलिगकोटको राजा बनेका द्रव्य शाह १६१६ भदौ २५ गते गोरखा राज्यको राजा बनेका थिए।

लिगलिगकोटदेखि गोरखासम्म आउँदा उनले प्रयोग गरेको बाटो पछ्याउँदै अहिले म्याराथन आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।

यस ऐतिहासिक पदमार्गलाई पर्यटकीय पदमार्गका रूपमा विकास गर्न म्याराथन निरन्तर गर्नुपर्नेमा स्थानीय तहका प्रमुखहरुले जोड दिएका छन्।

कमाण्ड हेडक्वाटरका कमाण्डर उपरथी बाबुराम श्रेष्ठले गढी, किल्ला, दरवार र एकीकरणको दौरानमा प्रयोग भएका पदमार्गहरू पहिचान गरी संरक्षण संवर्द्धनमा विकास गर्ने योजना अनुसार सेनाको अगुवाइमा प्रतियोगिता भएको बताए।

‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने अवधारणाअनुसार सञ्चालन भएको दोस्रो लिगलिगकोट सिरानचोक गोरखा दरवार म्याराथन दौड प्रतियोगिताले इतिहासको संरक्षण गर्दै वर्तमानलाई विकास गर्दै लैजाने अपेक्षा गरिएको बताए।


Last Updated on: September 18th, 2022 at 2:08 pm
५४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया