
पहिरोको बीचमा फस्यो जीप, निकाल्ने प्रयास असफल
June 15, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र बेनी–जोमसोम सडक खण्ड अबिरल वर्षाका कारणठाउँठाउँमा गएको पहिरोले अवरुद्ध भएको छ ।
बेनी जोमसोम सडक खण्डको रुप्से झरना नजिकै हाइलक्स गाडी पहिरोको बीचमा फसेको छ । मुस्ताङको समरमा निर्माण सम्बन्धी काम गर्दै गरेको मेसीन मर्मत गरेर प्राविधिकहरु लिएर फर्कदै गरेको बा १८ च ६९६२ गाडी पहिरोको बिचमा फसेको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए ।
शेरचनका अनुसार डोजरको सहायताले सडक खुलाएर गाडी निकाल्ने प्रयास भै रहेको भए पनि माथिबाट लगातार पहिरो खशि रहेकोले सफल हुन सकेको छैन ।
सडक अवरुद्ध हुँदा मुस्ताङ तर्फको सबै सम्पर्क बिच्छेद भएको छ । बन्दाबन्दीले हवाइ यातायात समेत बन्द भएको अवस्थामा एक मात्रै सडक खण्डमा पनि पूर्ण रुपमा अवरुद्ध हुँदा मुस्ताङका जनता समस्यामा परेका छन् ।
त्यसैगरी म्याग्दीको बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४, फापरखेत नजिकै घुमाउने भीरमा खानीखोलाले सडक कटान गर्दा बेनी–दरवाङ सडक पनि अवरुद्ध भएको छ । म्याग्दी जिल्लालाई अन्य जिल्ला सँग जोड्ने सडकहरु पनि पूर्ण रुपमा अबरुद्ध रहेको प्रहरीले जनाएको छ । बेनी–बागलुङ सडक खण्ड पनि अबरुद्ध भएको छ भने मालढुङ्गा–बेनी सडक खण्डको लस्तीमा पनि अवरुद्ध भएको छ ।
कालीगण्डकीको बहाब बढ्दा बेनी–गलेश्वर सडक खण्डको डल्लेपीपल नजिक सडक बगाउने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।