
मस्को : रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको ८० वर्षको उमेरमा निधन भएको छ । कीर्तिमानी समय अन्तरिक्षमा बसेका उनले सन् १९९४-१९९५ को बीचमा ४३७ दिन मीर अन्तरिक्ष स्टेशनमा बिताएका थिए।
त्यहाँ उनले मंगल ग्रहमा लामो दूरीको यात्रा गर्नुपर्यो भने मानिसहरूले आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्न सक्छन्-सक्दैनन् भन्ने अध्ययन गरेका थिए। उनको १४ महिनाको परीक्षणमा अन्तरिक्षमा बस्दा उनको कार्यशैलीमा कुनै असर पुगेन।
रुसी अन्तरिक्ष एजेन्सीले पोल्याकोभको उनको मृत्यु भएको घोषणा गरेको हो। उनको मृत्युको कारण भने अझै थाहा भएको छैन।
अन्तरिक्ष एजेन्सी रोजकोसमोसले टेलिग्राममा लेखेको पोस्टमा पोल्याकोभको अनुसन्धानले मानव शरीर टाढा अन्तरिक्षमा पनि प्रतिकूलताहरूको सामना गर्न सक्षम छ भन्ने कुरा प्रस्तुत भएको लेखेको छ।
उनको जन्म मस्कोको तुला शहरमा १९४२ मा भएको थियो। उनी पहिले एक चिकित्सक थिए र पछि अन्तरिक्ष यात्री बने। उनको पहिलो मिशन अगस्त १९८८ मा सुरु भयो। सो समय उनले आठ महिना अन्तरिक्षमा बिताए।
यसपछि उनले ६ वर्षपछि सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बसेर कीर्तिमान कायम गरे। जुन अहिलेसम्म कायमै छ । पोल्याकोभले ८ जनवरी १९९४ देखि २२ मार्च १९९५ सम्म मीर स्पेस स्टेशनमा काम गरे। यस क्रममा उनले ७ हजारभन्दा बढी पटक पृथ्वीको परिक्रमा गरेका थिए ।
पछि उनले मंगल ग्रहमा बिताएको समय र त्यहाँ जान र आउन लागेको समय बराबर भएको बताएका थिए। मिर स्पेस स्टेशन सन् १९८६ मा अर्बिटमा पठाइएको थियो । पहिले सोभियत संघको नियन्त्रणमा थियो र पछि रुसको नियन्त्रणमा आयो । बीबीसी
पोखरा,
गण्डकी प्रदेशका २६ नगरपालिकामध्ये १३ नगरपालिकाका मेयर र उपमेयरले निर्वाचन खर्च नबुझाएको भेटिएको छ । निर्वाचन आचार संहिता अनुसार उनीहरुले निर्वाचित भएको १ महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने हो । तर १३ जना मेयर र १३ उपमेयरले विवरण बुझाएका छैनन् ।
यस्तै, नगरपालिका तर्फ मेयरका पराजीत ९६ उम्मेद्वार र उपमेयरका पराजीत ६४ जना उम्मेद्वारले पनि खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । नवलपुरका सबै नगरपालिकाका मेयर र उपमेयर कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका सबैलाई ४ लाख ५० हजार जरिवाना तोकिएको छ । आयोगका अनुसार गोरखा नगरपालिकाका २ जना प्रमुख र २ जना उपप्रमुख तथा पालुङटार नगरपालिकाका ७ प्रमुख र १ उपप्रमुखका उम्मेद्वारलाई कारबाही भएको छ ।
बेशीसहरका निर्वाचित मेयर गुमानसिंह अर्याल र उपमेयर पद्या गुरुङ सहित मेयरका ४ उम्मेद्वार र उपमेयरका ३ उम्मेद्वारले जरिवाना तिर्नुपर्ने भएको छ । मध्येनेपाल नगरपालिकाका मेयर रमेश पाण्डे र उपमेयर सीता गुरुङ सहित ६ प्रमुख र ५ उपप्रमुखका उम्मेद्वार कारबाहीमा परेका छन् भने राइनासका निर्वाचित मेयर खड्कबहादुर गुरुङ र उपमेयर पुष्पराज खनाल सहित ५ प्रमुख र ४ उपप्रमुख कारबाहीमा छन् ।
सुन्दरबजारको ३ मेयर र ४ उपमेयरका उम्मेद्वार कारबाहीमा परे । उनीहरु सबै पराजीत भएका हुन् । कुश्माका ३ मेयर र ३ उपमेयर उम्मेद्वारले खर्च विवरण सार्वजनिक गरेका छैनन् । फलेवासका ५ मेयरका उम्मेद्वार र १ उपमेयरका उम्मेद्वार पनि कारबाहीमा परेका छन् ।
गल्याङ नगरपालिकाका २ मेयर र ३ उपमेयर उम्मेद्वार कारबाहीमा छन् भने चापाकोटमा निर्वाचित मेयर देवबहादुर खाँड र उपमेयर इशा राना सहित २ प्रमुख र ३ उपप्रमुखले जरिवाना तिर्नुपर्ने भएको छ । पुतलीबजारमा उपमेयर उम्मेद्वार एकजना कारबाहीमा परे । भीरकोटमा निर्वाचित मेयर गोविन्द कर्माचार्य र उपमेयर भगवती रेग्मीले खर्च विवरण दिएका छैनन् । मेयर उम्मेद्वार नरभुपाल दमाई पनि कारबाहीमा परेका छन् ।
वालिङका २ मेयर तथा १ उपमेयर, बेनीमा २ मेयर र ३ उपमेयर उम्मेद्वार, गल्कोटमा ४ मेयर र १ उपमेयर, जैमिनीमा २ प्रमुख र १ उपप्रमुख तथा ढोरपाटनका २ प्रमुख र १ उपप्रमुखलाई कारबाही भएको छ । बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ र उपमेयर राजु खड्का सहित ४ प्रमुखका उम्मेद्वार र ३ उपप्रमुखका उम्मेद्वारलाई जनही ४ लाख ५० हजार जरिवाना तोकिएको छ ।
कावासोतीमा निर्वाचित विष्णु भुषाल र उपमेयर फूलकुमारी थनेत सहित मेयरका ९ उम्मेद्वार र उपप्रमुखका ४ उम्मेद्वारले जरिवाना तिर्नुपर्ने भएको छ । गैंडाकोटका मेयर मदनभक्त अधिकारी र उपमेयर शान्ति कोइराला सहित मेयरका ५ उम्मेद्वार र उपमेयरका ५ उम्मेद्वारलाई कारबाही भएको छ । देवचुलीका हरि न्यौपाने र उपप्रमुख पार्वता तिवारी सहित मेयरका ८ उम्मेद्वार र उपमेयरका ६ उम्मेद्वार तथा मध्येविन्दु नगरपालिकाका मेयर भीमलाल अधिकारी र उपमेयर पूर्णकला चौधरी सहित मेयरमा १० र उपमेयरमा उम्मेद्वारी दिएका ६ जना कारबाहीमा परे ।
तनहुँ स्थित भानुका मेयर आनन्दराज त्रिपाठी र उपमेयर उमा गोतामे सहित मेयरमा ५ र उपमेयरमा ५ जनालाई कारबाही भएको छ भने भीमादका मेयर दधिराज सुवेदी र उपमेयर शारदा खनाल सहित मेयरमा ५ र उपमेयरमा ४ जनाको खर्च विवरण बुझाउन बाँकी छ । व्यास नगरपालिकामा ५ प्रमुख र १ उपप्रमुख उम्ेमद्वार र शुक्लागण्डकीमा मेयर कृष्णराज पण्डित र उपमेयर खुमबहादुर विक सहित मेयरमा ५ र उपमेयरमा ४ जनाले खर्च विवरण दिएका छैनन् ।