सोमबार १० आश्विन २०७९

पोखरा महानगरपालिकाको बजार अनुगमन अन्तर्गत आज खाद्य सामग्रीको अनुगमन गरेको छ । पोखरा महानगर वडा नम्बर १७ का तीन खाद्य स्टोर्समा अनुगमन गरेको हो ।अनुगमनमा लेवल नभएका, म्याद कटेका र पसल नवीकरण नभएको फेला परेको थियो ।

छोरेपाटनमा रहेको एबीसि स्टोर्सबाट म्याद कटेका ६२९० रुपैयाँ बराबरको खाद्य सामग्री नष्ट गरेको छ । कोसेलि तेल १० लिटर, जोन्सन एण्ड जोन्सन लोसन ४ थान, बेकिङ पाउडर ९ बट्टा, भ्यासलिन ३ थान, पोका पाउडर ५ थान नष्ट गरिएको महानगर अनुगमन अधिकृत भरतराज पौडेलले जानकारी दिनुभयो ।

पोखरा महानगरका कार्यवाहक प्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुषा कार्की, पोखरा महानगर बजार अनुगमन अधिकृत भरतराज पौडेल, उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला सहभागी हुनुहुन्थ्यो

पोखरा,

गण्डकी प्रदेशका २६ नगरपालिकामध्ये १३ नगरपालिकाका मेयर र उपमेयरले निर्वाचन खर्च नबुझाएको भेटिएको छ । निर्वाचन आचार संहिता अनुसार उनीहरुले निर्वाचित भएको १ महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने हो । तर १३ जना मेयर र १३ उपमेयरले विवरण बुझाएका छैनन् ।

यस्तै, नगरपालिका तर्फ मेयरका पराजीत ९६ उम्मेद्वार र उपमेयरका पराजीत ६४ जना उम्मेद्वारले पनि खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । नवलपुरका सबै नगरपालिकाका मेयर र उपमेयर कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका सबैलाई ४ लाख ५० हजार जरिवाना तोकिएको छ । आयोगका अनुसार गोरखा नगरपालिकाका २ जना प्रमुख र २ जना उपप्रमुख तथा पालुङटार नगरपालिकाका ७ प्रमुख र १ उपप्रमुखका उम्मेद्वारलाई कारबाही भएको छ ।

बेशीसहरका निर्वाचित मेयर गुमानसिंह अर्याल र उपमेयर पद्या गुरुङ सहित मेयरका ४ उम्मेद्वार र उपमेयरका ३ उम्मेद्वारले जरिवाना तिर्नुपर्ने भएको छ । मध्येनेपाल नगरपालिकाका मेयर रमेश पाण्डे र उपमेयर सीता गुरुङ सहित ६ प्रमुख र ५ उपप्रमुखका उम्मेद्वार कारबाहीमा परेका छन् भने राइनासका निर्वाचित मेयर खड्कबहादुर गुरुङ र उपमेयर पुष्पराज खनाल सहित ५ प्रमुख र ४ उपप्रमुख कारबाहीमा छन् ।

सुन्दरबजारको ३ मेयर र ४ उपमेयरका उम्मेद्वार कारबाहीमा परे । उनीहरु सबै पराजीत भएका हुन् । कुश्माका ३ मेयर र ३ उपमेयर उम्मेद्वारले खर्च विवरण सार्वजनिक गरेका छैनन् । फलेवासका ५ मेयरका उम्मेद्वार र १ उपमेयरका उम्मेद्वार पनि कारबाहीमा परेका छन् ।

गल्याङ नगरपालिकाका २ मेयर र ३ उपमेयर उम्मेद्वार कारबाहीमा छन् भने चापाकोटमा निर्वाचित मेयर देवबहादुर खाँड र उपमेयर इशा राना सहित २ प्रमुख र ३ उपप्रमुखले जरिवाना तिर्नुपर्ने भएको छ । पुतलीबजारमा उपमेयर उम्मेद्वार एकजना कारबाहीमा परे । भीरकोटमा निर्वाचित मेयर गोविन्द कर्माचार्य र उपमेयर भगवती रेग्मीले खर्च विवरण दिएका छैनन् । मेयर उम्मेद्वार नरभुपाल दमाई पनि कारबाहीमा परेका छन् ।

वालिङका २ मेयर तथा १ उपमेयर, बेनीमा २ मेयर र ३ उपमेयर उम्मेद्वार, गल्कोटमा ४ मेयर र १ उपमेयर, जैमिनीमा २ प्रमुख र १ उपप्रमुख तथा ढोरपाटनका २ प्रमुख र १ उपप्रमुखलाई कारबाही भएको छ । बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ र उपमेयर राजु खड्का सहित ४ प्रमुखका उम्मेद्वार र ३ उपप्रमुखका उम्मेद्वारलाई जनही ४ लाख ५० हजार जरिवाना तोकिएको छ ।

कावासोतीमा निर्वाचित विष्णु भुषाल र उपमेयर फूलकुमारी थनेत सहित मेयरका ९ उम्मेद्वार र उपप्रमुखका ४ उम्मेद्वारले जरिवाना तिर्नुपर्ने भएको छ । गैंडाकोटका मेयर मदनभक्त अधिकारी र उपमेयर शान्ति कोइराला सहित मेयरका ५ उम्मेद्वार र उपमेयरका ५ उम्मेद्वारलाई कारबाही भएको छ । देवचुलीका हरि न्यौपाने र उपप्रमुख पार्वता तिवारी सहित मेयरका ८ उम्मेद्वार र उपमेयरका ६ उम्मेद्वार तथा मध्येविन्दु नगरपालिकाका मेयर भीमलाल अधिकारी र उपमेयर पूर्णकला चौधरी सहित मेयरमा १० र उपमेयरमा उम्मेद्वारी दिएका ६ जना कारबाहीमा परे ।

तनहुँ स्थित भानुका मेयर आनन्दराज त्रिपाठी र उपमेयर उमा गोतामे सहित मेयरमा ५ र उपमेयरमा ५ जनालाई कारबाही भएको छ भने भीमादका मेयर दधिराज सुवेदी र उपमेयर शारदा खनाल सहित मेयरमा ५ र उपमेयरमा ४ जनाको खर्च विवरण बुझाउन बाँकी छ । व्यास नगरपालिकामा ५ प्रमुख र १ उपप्रमुख उम्ेमद्वार र शुक्लागण्डकीमा मेयर कृष्णराज पण्डित र उपमेयर खुमबहादुर विक सहित मेयरमा ५ र उपमेयरमा ४ जनाले खर्च विवरण दिएका छैनन् ।


Last Updated on: September 22nd, 2022 at 4:39 pm
१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया