
इस्लामावाद-बाढीबाट क्षति पुगेको पाकिस्तानमा डेङ्गुको प्रकोप थप बढेको यहाँका अधिकारीहरुले जनाएका छन् । पाकिस्तानका अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि प्रतिदिन बढ्दै गएको जनाएका छन् ।पाकिस्तानको सिन्ध प्रान्त डेङ्गुबाट बढी प्रभावित देखिएको छ । पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएको सो प्रान्तमा डेङ्गुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ ।
यस प्रान्तमा मात्र डेङ्गुको प्रकोपबाट कम्तीमा पनि ३० जनाको ज्यान गएको सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार यहाँ डेङ्गुबाट गएको २४ घन्टा यतामात्र यहाँका चार सय दुइ जनालाई डेङ्गु लागेको छ । यसपछिको प्रभावित क्षेत्र कराँची हो । कराँचीमा मात्र गएको २४ घन्टामा दुई सय ७९ जनामा यसको सङ्क्रमण देखिएको छ ।
सिन्ध र कराँची यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका प्रान्त हुन् । बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेङ्गुको ज्वरोको प्रकोप बढेको बताइएको छ ।सेप्टेम्बर महिनामा मात्र सिन्धमा चार हजार तीन सय भन्दा बढीमा डेङ्गुको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसमम छ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।
पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा पाँच हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।
विराटनगर :
उच्च अदालत विराटनगरले कर्मचारीको सरुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रदेश १ सरकारलाई सरुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
कानुन विपरित कर्मचारी सरुवा गरेको भन्दै उच्च अदालतमा रिट परेको थियो।
आसन्न निर्वाचनको मुखमा भदौ १९ पछि गरिएको कर्मचारी सरुवा निजामती सेवा ऐन, २०४९ विपरित देखिएपछि उच्चले अन्तरिम आदेश दिएको हो ।
सरुवामा परेका १० जना कर्मचारीहरुले अन्तरिम आदेश माग गर्दै दिएको रिटमाथि सुनुवाइमा उच्च अदालतले भदौ २२, असोज ४ र असोज ६ गतेको सरुवा कार्यान्वयन नगर्न भनेको हो।
प्रदेश १ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अवधि नपुगेका, दरबन्दी नभएका र सेवा नमिलेका कर्मचारीहरु समेतलाई सरुवा गरेको थियो ।
यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत सचिन लिम्बूलाई यातायात सेवा कार्यालय धनकुटा र विराटनगर यातायात सेवा कार्यालयका नविन माझीलाई सोही कार्यालयमा एउटै पदमा सरुवा गरेपछि उनीहरु अदालत पुगेका थिए ।
अदालतको आदेश पश्चात लिम्बू र माझीसँगै अवकाश प्राप्त गर्न ७ महिना बाँकी रहेका खड्ग पौडेलको सरुवा पनि रोकिएको छ । पौडलेलाई प्रदेश सरकारले भोजपुर खानेपानी तथा सरसफाई डिभिजनबाट चन्दा मोहोना सिचाँइ आयोजनामा सरुवा गरेको थियो ।
यस्तै, यातायात व्यवस्था कार्यालय इटहरीमा सातौँ तहमा कार्यरत पर्वत श्रेष्ठलाई सो भन्दा तल्लो दरबन्दी भएको यातायात सेवा कार्यालय इलाममा गरिएको सरुवा पनि अदालतले रोकेको छ । निजामती सेवा ऐन २०४९ मा अवकाश प्राप्त हुन १ वर्ष बाँकी रहेकालाई सहमतिबिना सरुवा गर्न नपाइने प्रावधान छ ।
तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ऐन विपरित भदौ १९ गते ९१ जना कर्मचारीको सरुवा गरेको छ । अहिले पनि पुरानो मितिमा कर्मचारीहरुको सरुवा भइरहेको स्रोतको दाबी छ ।