मंगलबार २० मंसिर २०७९

मध्यविन्दु । नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुन् । उनी बोल्न र हातले केही पनि गर्न सक्दैनन् । तर खुट्टाको सहयोगमा भने अन्य काम गर्छन् ।

साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई रहर पनि उनी जस्तै बन्ने छ । पच्चिस वर्षीय खाम्चाको स्मरण शक्ति राम्रो छ, मनोबल पनि उच्च छ । उनले खुट्टाको सहायताले लेख्ने र सामाजिक सञ्जाल प्रयोग गर्छन् ।

उनका बुबा मनबहादुर खाम्चा भन्छन्, “कुपोषणका कारण शरीरका केही अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि निको बनाउने परिवारको आशा निराशामा परिणत भयो ।”

अन्य व्यक्ति जस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने ठूलो छ । खुट्टाको सहायताले उनले कक्षा १२ कक्षा उत्तिर्ण गरेका छन् । अब उनी उच्चशिक्षा हासिल गर्ने सुरसारमा छन् । सन्तानको सपना पूरा गराउन परिवार सङ्घर्षशील छ तर अब आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले मनबहादुर सताएको छ । उनी भन्छन् “छोराले एसइई परीक्षा उत्तिर्ण गरेपछि पढाइएका रामपुर नगरपालिका–१ बर्दाकोट, पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका–३ मा बसाइँ सरी आएको हो ।”

यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ । अनि त्यो सपना पूरा गर्ने ठूलो अभिलाषा लिएर अगाडि बढेका उनले अहिलेसम्म चार सय ४६ मुक्तक खुट्टाकै सहाराले लेखिसकेका छन्। “अब रहर छ, त्यसलाई फुलबुट्टा भरेर सार्वजनिक गर्ने”, उनले भने । अवस्था सहज भने छैन । उनी परिवारको चार सन्तानमध्ये माइलो हुन् । आठ वर्षसम्म ओछ्यानमा बिताएका यमले आफ्नो आवाज अरूसामु पुर्‍याएको देख्दा आमा योगमाया औधी खुसी छन् ।

योगमाया भन्छन्, “मलाई विस्तारै बुढ्यौलीले छुँदैछ, ६१ वर्षकी भए, छोराको रेखदेखमै दिन बित्छ । जतिबेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ, तर कसरी पढाउने ?।” छोराको भविष्य सम्ँिझदै आँसु पुछ्दै उनले भनिन्, “छोराको भविष्यको चिन्ताले सधँै सताउँछ । उसका लागि केही गरेरै मर्न पाए हुन्थ्यो ।”

प्रतिक्रिया

बझाङ-

बझाङको खप्तडछान्ना–५ कि किष्णा जोशी गत शुक्रबार ओरालु (सैन्डाँडा) मेलाका लागि अघिल्लै दिन खप्तड जानुभयो । खप्तड जाँदा उहाँलाई लेक लाग्न सुरू भयो । कागती र केही खाजा बोक्नुभएकी उहाँलाई हिँड्न सहज त भयो तर रिँगटा लाग्ने भने ठीक भएन । गाउँमा आफन्तसँग फोनमा कुरा गरेर आफ्नो समस्या सुनाएपछि नेपाली सेनाको व्यारेकबाट उहाँलाई औषधि ल्याइयो र बिरामी निको भयो ।

बाजुरा काँडाका श्यामलाल रोकायाले पनि खप्तड जाँदा त्यही समस्या भोग्नुभयो । दहपाटनबाट हिँड्नै नसक्ने भएका रोकाया खप्तड व्यारेक पुगेपछि भने सेना उपलब्ध गराएको औषधिले निकै राहत गरेको सुनाउनुभयो । आधा घण्टा ब्यारेकमा आराम गरेपछि भने रोकाया त्रिवेणी पुगेर पूजाआजापछि घर फर्किनुभयो । खप्तडमा यस्ता समस्या हुने दर्जनौँ नागरिकको ओखती बनेको छ, खप्तड व्यारेक । पर्यटक, गोठाला, तीर्थालु भक्तजनलाई पछिल्लो दशकयता भने खप्तडमा बिरामी हुँदा चिन्ता हुँदैन । नेपाली सेनाको व्यारेकबाट उपलब्ध हुने औषधि खाँदा सामान्य बिरामी सजिलै ठीक हुने गोठालो गर्न आउनुभएका विनोद रावलले बताउनुभयो ।

खप्तडमा यस्ता समस्या दिनहुँ हुने भएपछि नेपाली सेनाले पनि विभिन्न मेलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । मेलामा धेरै टाढाबाट र कहिल्यै नआउने तीर्थालुलाई लेक लाग्ने समस्या हुन थालेपछि मेला भइरहेको क्षेत्रभित्रै शिविर आयोजना गर्दै आएको श्री सिंह शार्दुल गुल्म खप्तडका गुल्मपति विनोदकुमार सिलवालले बताउनुभयो ।

ओरालु सैन्डाँडा मेलामा मात्रै होइन, जगन्नाथ मेला, दशहरामा पनि हजारौँ तीर्थालु भक्तजनले सेनाको शिविरबाट सेवा लिने गर्छन् । ओरालु सैन्डाँडामा मात्रै नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट अढाइ सयभन्दा बढीले सेवा लिएको सिलवालले बताउनुभयो ।

उहाँका अनुसार गत महिना जगन्नाथ मेलामा पनि एक सय ४१ जनाले सेवा लिएका थिए । बर्सेनि लाग्ने गङ्गा दशहरा मेलामा त हजारौँको सङ्ख्यामा बिरामीको जाँच तथा उपचार हुन्छ । नेपाली सेनामा कार्यरत स्वास्थ्यकर्मीले दशहरा मेलामा दुई दिनसम्म निःशुल्क उपचार गर्ने गरेको उहाँले बताउनुभयो ।

खप्तडमा लाग्ने मेलामा हरेक वर्ष सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गुल्मपति सिलवालका अनुसार अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याका बिरामी व्यारेकमा बढ्दै गएपछि मेलामा शिविर नै आयोजना गरिएको हो । व्यारेकमा पनि दैनिकजसो १५÷२० जनाले स्वास्थ्य सेवा लिइरहेको उहाँले बताउनुभयो ।

जनैपूर्णिमाको अवसरमा लाग्ने सानो मेलामा समेत नेपाली सेनाले सयौँको सङ्ख्यामा तीर्थालु तथा भक्तजनको उपचार गरेको छ । हरेक मौसममा खप्तड भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि खप्तडमा स्वास्थ्य उपचारका लागि कुनै समस्या नहुने उहाँले बताउनुभयो । “हामीसँग औषधि भए जति आउने सबै बिरामीको उपचार गरेर पठाउँछौँ”, उहाँले भन्नुभयो, “औषधि अपुग भएमा विभिन्न स्वास्थ्य संस्थासँग समन्वयमा औषधि ल्याउने गरेका छौँ ।”

नेपाली सेनाले पर्यटकीय क्षेत्रमा पर्ने मेलामा हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । बडिमालिकाको त्रिवेणी इलाका, खप्तड, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ चोलाङ्लापाटी, काभ्रेको गोसाइँस्थानलगायतका क्षेत्रमा त एकै सिजनमा हरेक वर्ष शिविर आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।


Last Updated on: September 24th, 2022 at 5:10 pm
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया