मंगलबार २० मंसिर २०७९

विराटनगर : भारतीय भएर नेपाली नागरिकता लिएको आशंकामा विराटनगरको एउटा निजी विद्यालयका सञ्चालकमाथि छानबिन सुरु भएको छ।

झुठा विवरण पेस गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले छानबिन एवं अनुसन्धान सुरु गरेको हो। विराटनगर महानगरपालिका–१५ मा रहेको मदर मेरिज इङ्लिस स्कुलका सञ्चालक ५५ वर्षीय देवप्रकाश रायलाई छानबिन एवं अनुसन्धानको दायरामा ल्याइएको प्रशासनले जनाएको छ। उनलाई गत बुधबार प्रहरीले नियन्त्रणमा लिएर प्रशासनको जिम्मा लगाएको थियो।

देवप्रकाशले ३३ वर्षअघि वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेको प्रशासनको रेकर्डमा छ। सुनसरीको अमडुवा–३ ठेगाना राखेर बाबुको नाम टेकनारायण राय उल्लेख गर्दै १८६४÷८० नम्बरको नागरिकता २०४६ साल जेठ २८ गते उनको नाममा जारी भएको छ। नागरिकतामा उल्लेख भएको ठेगाना हाल सुनसरीको बर्जु गाउँपालिका–४ मा पर्छ ।

देवप्रकाशले झन्डै अढाई दशकदेखि विराटनगरमा निजी विद्यालय सञ्चालन गरिरहेका हुन्। २०५५ सालदेखि सञ्चालन गरिएको विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुन्छ। बाबु टेकनारायण भारतीय नागरिक भएको खुलेपछि प्रशासनले देवप्रकाशको नाममा जारी भएको नेपाली नागरिकतामाथि छानबिन थालेको हो।

टेकनारायणको नाममा भारतको बिहार फारवेशगन्ज अररियास्थित जोगवनीमा कित्ता नम्बर २७३६ र २७३७ को जग्गाको जग्गाधनी प्रमाण पूर्जा छ। राजस्व थाना नम्बर १७६ र तौजी नम्बर २४ का आधारमा उनको परिवारले घर र जग्गासमेतका सम्पत्तिको राजस्व तिर्दै आएको प्रमाणित डिष्ट्रिक रेकर्ड रुम अररियाले गरिदिएको छ। बिहार सरकार राजस्व एवं भूमिसुधार विभागले पनि बाबुको नाममा जोगवनीमा २७ कट्ठा जग्गा रहेको प्रमाणित गरिदिएको छ।

देवप्रकाशले भने झुठा विवरण पेस गरी बाबुको नाम पनि एउटै उल्लेख गरेर नेपाली नागरिकता लिएको हुनसक्ने प्रशासनले जनाएको छ। प्रशासनको प्रारम्भिक छानबिनबाट सुनसरीमा देवप्रकाशको पैतृक सम्पत्ति र पुरानो बसोबास नरहेको पाइएको छ। स्रोतका अनुसार भारतीय नागरिकले नेपाली नागरिकता लिएर नेपालमा लामो समयदेखि निजी विद्यालय सञ्चालन गरिरहँदा पनि राज्य संयन्त्र भने बेखबर छन्। प्रशासनसँग ‘सेटिङ’ मिलाएरै उनलाई नेपाली नागरिकता दिलाइएको हुनसक्ने स्रोतको दाबी छ।

दिनभर नेपालमा विद्यालय सञ्चालन गर्ने र राति बस्नलाई भने उनी भारतको सिमावर्ती जोगवनीतिरै जाने गरेको उनीनिकट स्रोतले बतायो। देवप्रकाशकी पत्नी प्रीतिदेवी रायको नाम भारतीय मतदाता नामावलीमा समावेस छ। भारतीय निर्वाचन आयोगले प्रीतिदेवीको नाममा जी वाई क्यू ५४६६२५५ नम्बरको भारतीय मतदाता परिचयपत्र जारी गरेको छ। भारतीय नागरिक हुँदाहुँदै नेपाली नागरिकतासमेत प्राप्त गरेको सूचना पाएको प्रशासनले उनीमाथि पनि छानबिन सुरु गर्ने तयारी थालेको छ।

देवप्रकाशका दाजु श्रीप्रकाश तथा भाइहरु देवेन्द्रप्रकाश र भानुप्रकाश भारतीय नागरिक हुन्। श्रीप्रकाशको नाममा टी एफ एस ०६०९२६३, देवेन्द्रप्रकाशको जी वाई क्यू ५७३६८०६ र भानुप्रकाशको नाममा बी आर-२२-१२९-५९७५८४ नम्बरको भारतीय मतदाता परिचयपत्र छ। भारतीय मतदाता नामावलीमा सबैका बाबुको नाम टेकनारायण राय नै उल्लेख छ।

भारतको बिहारको अररिया भाग-१८ अन्तर्गत श्रीप्रकाशको ३६४, देवेन्द्रको ३६३, भानुप्रकाशको ३६६ तथा देवप्रकाशकी पत्नी प्रीतिदेवीको ३६५ निर्वाचन सिरियल नम्बर छ। उनीहरु बिहार राज्यको अररिया जिल्लाअन्तर्गत उच्च विद्यालय जोगवनीको दक्षिणभागका मतदाता हुन्। यद्यपि देवप्रकाशको भने भारतीय नागरिक प्रमाणित हुने कागजात फेला पर्न बाँकी रहेको प्रशासनले जनाएको छ। खोजी भइरहेको जनाइएको छ।

‘परिवारका सबै सदस्य भारतीय हुने र एक जना चैँ नेपाली नागरिक हुने सम्भावना नै छैन,’ प्रशासनका एक अधिकृतले भने, ‘भारतीय नागरिक स्थापित हुने आधार खोज्दैछौं।’ उनका अनुसार देवप्रकाशले नागरिकता प्राप्त गरेको स्थानबाट उनी नेपालमा जन्मिएका हुन् र उनका परिवार नेपाली नै हुन् भन्ने कुनै आधार प्राप्त हुन सकेन।

भारतीय नागरिक हुन् र पछि वंशजको आधारमा नेपाली नागरिकता लिए भन्ने बारेमा भने धेरै आधारहरु भेटिएको ती अधिकृतको भनाइ छ। ‘नेपालमै नजन्मिएको मान्छेले कसरी वंशजको नागरिकता पाए भन्ने बारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘बाबु भारतीय हुँदाहुँदै झुठा विवरण पेस गरेर नागरिकता ऐन २०२० अनुसार नेपाली नागरिकताको प्रमाणपत्र लिएको आशंका छ।’

देवप्रकाशले लिएको नेपाली नागरिकताविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न १७ वटा निकायमा गत भदौ २८ गते उजुरी परेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीयले नेपाली नागरिकता लिएको उजुरी परेपछि छानबिन एवं अनुसन्धान सुरु गरिएको जानकारी दिए । ‘उजुरी परेपछि आवश्यक प्रमाण संकलन गरेर बुझ्नुपर्ने कुराहरु बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘भारतीयले नेपाली नागरिकता प्राप्त गरेको विषयलाई गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको छ ।’

प्रशासनकै आग्रहमा प्रहरीले देवप्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि बुझाएको यादवले बताए। ‘तत्काललाई प्रारम्भिक चरणको छानबिन गरेर तारेखमा छाडिएको छ,’ उनले भने, ‘अरु प्रमाण संकलन गरेपछि थप कुरा बुझ्नु परेमा बोलाइने छ।’ देवप्रकाशले भने प्रशासनले छानबिन सुरु गरेकाले आफूले धेरै कुरा बोल्न नमिल्ने बताए।

प्रशासनकै भूमिकामा प्रश्न

भारतीय नागरिकले नेपाली नागरिकता लिएको विषयमा छानबिन एवं अनुसन्धान गर्दा प्रशासनकै भूमिकामा प्रश्न उठ्ने गरेको छ। पछिल्लो यो घटनामा पनि प्रशासनको भूमिका शंकास्पद देखिएको छ। नागरिकतासँग सम्बन्धित विषय प्रशासनले हेर्ने हो। तर नेपाली नागरिकता लिएको आरोप लागेका व्यक्तिलाई प्रमाण नै नष्ट गर्ने मौका प्रशासनले दिएको स्रोतले बतायो।

‘भारतीयले नेपाली नागरिकता लिएको प्रष्ट हुँदाहुँदै सामान्य हिसाबले छाडिएको छ। मिलेमतोमा प्रमाण नष्ट गर्ने पर्याप्त समय दिइयो,’ प्रशासन स्रोतले भन्यो, ‘अरु धेरै प्रमाणले उनी भारतीय नागरिक हुन् भन्ने प्रष्ट छ। थप प्रमाण जुटाउन हिरासतमा लिएर अनुसन्धान अघि बढाउनुपर्नेमा मिलेमतो गरेर छाडियो।’

राष्ट्रियतासँग जोडिएको नागरिकताजस्तो संवेदनशील विषयको अनुसन्धानमा प्रशासनले ठूलै लापरबाही गर्ने गरेको एक अधिकृत बताउँछन्। उनका अनुसार नागरिकता दिलाउने आफ्ना कर्मचारी कारबाहीमा पर्ने भएकाले प्रशासनले अनुसन्धान नै प्रभावित पार्ने प्रयास गर्ने गरेका धेरै उदाहरण छन्। अनुसन्धान सुरु गरिएका व्यक्ति फरार भएमा पक्राउ गर्न पनि गाह्रो हुन्छ।

विदेशी नागरिकलाई झुठा विवरणको आधारमा नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा २५ देखि ५० हजार रुपैयाँसम्म जरिवाना अर्थात दुवै सजाय हुने कानुनी व्यवस्था छ। कानुन अनुसार झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएका विदेशी नागरिकलाई १ वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना अर्थात दुवै सजाय हुन्छ। कुनै अचल सम्पत्ति भए सरकारले जफत गर्छ। नेपाली नागरिकता रद्ध हुन्छ।


Last Updated on: September 24th, 2022 at 5:51 pm
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया