मंगलबार २० मंसिर २०७९

झापा : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार बनेको एक महिनाभित्र नेपाली नागरिकतासम्बन्धी विवाद समाधान हुने बताएका छन्।

संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण बारे राष्ट्रपति विद्यादेवी भण्डारी र गठबन्धन सरकारबीच विवाद चर्किरहेको बेला उनले सो कुरा बताएका हुन्।

गृह जिल्ला झापाका आएका एमाले अध्यक्ष ओलीले आइतबार दमकमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जन्मसिद्ध नागरिकको सन्तानलाई दिने नागरिकता एमाले नेतृत्वमा सरकार बनेको एक महिनाभित्रै पूरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।

उनले भने, ‘पाँच वर्षभित्र नेपालबाट नागरिकता र सुकुम्वासीको समस्या समाधान हुन्छ, ग्यारेन्टीका साथ भन्छु, यो कुरा एमालेको चुनावी घोषणापत्रमा पनि उल्लेख हुन्छ।’

एमाले सरकारमा हुँदा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्छ भनेर संविधान बमोजिम ऐन ल्याउन खोजिएको उनले बताए।

‘विधेयक प्रस्तुत गर्‍यौं। ‘तर, संसदमा विपक्षी पार्टीका सभापतिले तीन वर्षसम्म नागरिकता विधेयक रोके,’ उनले भने।

‘अध्यादेशमार्फत पनि विधेयक ल्याउन खोज्यौं,’ उनले भने, ‘सर्वोच्च अदालतले त्यसलाई पनि रोक्यो, जनतालाई परेको समस्यामा राजनीति गर्न नहुने ठाउँले राजनीतिको हतियार र मतियार बन्नु हुँदैन थियो, त्यो कुरा भयो।’

छलफल गरेर नागरिकता विधेयक ल्याउनका लागि सदैव तयार रहेको उनले बताए।

‘विधेयक प्रस्तुत गर्नुअघि राष्ट्रपतिसँग इजाजत लिनुपर्छ, उहाँलाई बताउनुपर्छ। दम्भ र सत्ता अहंकारको गठबन्धनकै कारणले नागरिकता विधेयक अड्किएको हो। उनीहरूले नै अहिले अनेकौँ बखेडा खडा गर्न खोज्दैछन्,’ उनले भने।

जनकपुरधाम :

आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दल परिवर्तन गर्ने होडबाजी चलिरहँदा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन्। उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन केपी शर्मा ओली धनुषा आएका हुन्।

शनिबार धनुषाको बिदेह नगरपालिका तिनकौरियामा नेपाल कम्युनिष्ठ पार्टी एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले सचेतक अरगरियालाई पाटी प्रवेश गराउन लागेका हुन्। ओली कार्यक्रममा जाँदा उनलाई जनकपुरधाममा जनता समाजवादी पार्टीका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै युवाहरुले नाराबाजी गर्दै ओलीलाई कालो झण्डा देखाएका हुन्। काठमाडौंदेखि प्लेनमा जनकपुरधाम पुगेका ओली रेल चढ्न रेल्वे स्टेशन जाँदै गर्दा बाटोमा उनलाई युवाहरुले कालो झण्डा देखाएका हुन्।

यसअघि उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबाट अरगरिया महन्त ठाकुरको लोसपामा प्रवेश गरेका थिए।


Last Updated on: September 26th, 2022 at 12:03 pm
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया