
सुर्खेत-मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान चार बजे प्रदेश अस्पताल काला गाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो ।
आइतबार साँझ थारुले चलाएको कर्णाली प्रदेश ०२–००१ प ०९९० नं को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे–६–प–३८९० नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता सुरज कार्कीले बताउनुभयो । उहाँका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ११ धुलयाबिट नजिक दुर्घटना भएको हो ।
थारु भेरीगङ्गाको छिन्चुदेखि सुर्खेततर्फ आउँदै गर्नुभएको थियो । थारुले चलाएको मोटरसाइकलमा पछाडि बस्ने गीता चौधरी पनि घाइते हुनुभएको छ । उहाँको शरीरका विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहनु भएको प्रहरीले बताएको छ । यस्तै, भे–६–प– ३८९० नं को मोटरसाइकल चालक गणेश खड्का पनि घाइते हुनुभएको छ । उहाँको पनि हातखुट्टा र शरीरमा चोट लागेको छ । दुवै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
बझाङ-
बझाङको खप्तडछान्ना–५ कि किष्णा जोशी गत शुक्रबार ओरालु (सैन्डाँडा) मेलाका लागि अघिल्लै दिन खप्तड जानुभयो । खप्तड जाँदा उहाँलाई लेक लाग्न सुरू भयो । कागती र केही खाजा बोक्नुभएकी उहाँलाई हिँड्न सहज त भयो तर रिँगटा लाग्ने भने ठीक भएन । गाउँमा आफन्तसँग फोनमा कुरा गरेर आफ्नो समस्या सुनाएपछि नेपाली सेनाको व्यारेकबाट उहाँलाई औषधि ल्याइयो र बिरामी निको भयो ।
बाजुरा काँडाका श्यामलाल रोकायाले पनि खप्तड जाँदा त्यही समस्या भोग्नुभयो । दहपाटनबाट हिँड्नै नसक्ने भएका रोकाया खप्तड व्यारेक पुगेपछि भने सेना उपलब्ध गराएको औषधिले निकै राहत गरेको सुनाउनुभयो । आधा घण्टा ब्यारेकमा आराम गरेपछि भने रोकाया त्रिवेणी पुगेर पूजाआजापछि घर फर्किनुभयो । खप्तडमा यस्ता समस्या हुने दर्जनौँ नागरिकको ओखती बनेको छ, खप्तड व्यारेक । पर्यटक, गोठाला, तीर्थालु भक्तजनलाई पछिल्लो दशकयता भने खप्तडमा बिरामी हुँदा चिन्ता हुँदैन । नेपाली सेनाको व्यारेकबाट उपलब्ध हुने औषधि खाँदा सामान्य बिरामी सजिलै ठीक हुने गोठालो गर्न आउनुभएका विनोद रावलले बताउनुभयो ।
खप्तडमा यस्ता समस्या दिनहुँ हुने भएपछि नेपाली सेनाले पनि विभिन्न मेलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । मेलामा धेरै टाढाबाट र कहिल्यै नआउने तीर्थालुलाई लेक लाग्ने समस्या हुन थालेपछि मेला भइरहेको क्षेत्रभित्रै शिविर आयोजना गर्दै आएको श्री सिंह शार्दुल गुल्म खप्तडका गुल्मपति विनोदकुमार सिलवालले बताउनुभयो ।
ओरालु सैन्डाँडा मेलामा मात्रै होइन, जगन्नाथ मेला, दशहरामा पनि हजारौँ तीर्थालु भक्तजनले सेनाको शिविरबाट सेवा लिने गर्छन् । ओरालु सैन्डाँडामा मात्रै नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट अढाइ सयभन्दा बढीले सेवा लिएको सिलवालले बताउनुभयो ।
उहाँका अनुसार गत महिना जगन्नाथ मेलामा पनि एक सय ४१ जनाले सेवा लिएका थिए । बर्सेनि लाग्ने गङ्गा दशहरा मेलामा त हजारौँको सङ्ख्यामा बिरामीको जाँच तथा उपचार हुन्छ । नेपाली सेनामा कार्यरत स्वास्थ्यकर्मीले दशहरा मेलामा दुई दिनसम्म निःशुल्क उपचार गर्ने गरेको उहाँले बताउनुभयो ।
खप्तडमा लाग्ने मेलामा हरेक वर्ष सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गुल्मपति सिलवालका अनुसार अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याका बिरामी व्यारेकमा बढ्दै गएपछि मेलामा शिविर नै आयोजना गरिएको हो । व्यारेकमा पनि दैनिकजसो १५÷२० जनाले स्वास्थ्य सेवा लिइरहेको उहाँले बताउनुभयो ।
जनैपूर्णिमाको अवसरमा लाग्ने सानो मेलामा समेत नेपाली सेनाले सयौँको सङ्ख्यामा तीर्थालु तथा भक्तजनको उपचार गरेको छ । हरेक मौसममा खप्तड भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि खप्तडमा स्वास्थ्य उपचारका लागि कुनै समस्या नहुने उहाँले बताउनुभयो । “हामीसँग औषधि भए जति आउने सबै बिरामीको उपचार गरेर पठाउँछौँ”, उहाँले भन्नुभयो, “औषधि अपुग भएमा विभिन्न स्वास्थ्य संस्थासँग समन्वयमा औषधि ल्याउने गरेका छौँ ।”
नेपाली सेनाले पर्यटकीय क्षेत्रमा पर्ने मेलामा हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । बडिमालिकाको त्रिवेणी इलाका, खप्तड, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ चोलाङ्लापाटी, काभ्रेको गोसाइँस्थानलगायतका क्षेत्रमा त एकै सिजनमा हरेक वर्ष शिविर आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।