
काठमाडौं : दसैंको चहलपहल सुरु भएसँगै काठमाडौं उपत्यकाबाट आ-आफ्नो घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ ।
अहिले दैनिकरुपमा नागढुंगा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि छ । यसपटक दसैंमा करिब २० लाख मानिसले उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए।
अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दसैंका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून थियो । तीन वर्षअघि उपत्यकाबाट दसैंको समयमा घर फर्कनेको सङ्ख्या २० लाखको
हाराहारीमा रहेको तथ्याङ्क छ ।
दसैंमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका विभिन्न स्थानमा १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ ।
सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिए।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले दसैं मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएमा खबर गर्न आग्रह गरेको छ ।
यातयात व्यवसायीले पनि दसैंका लागि पर्याप्त सवारीसाधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ ।
अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारीसाधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैं सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।
रासस
झापा :
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार बनेको एक महिनाभित्र नेपाली नागरिकतासम्बन्धी विवाद समाधान हुने बताएका छन्।
संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण बारे राष्ट्रपति विद्यादेवी भण्डारी र गठबन्धन सरकारबीच विवाद चर्किरहेको बेला उनले सो कुरा बताएका हुन्।
गृह जिल्ला झापाका आएका एमाले अध्यक्ष ओलीले आइतबार दमकमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जन्मसिद्ध नागरिकको सन्तानलाई दिने नागरिकता एमाले नेतृत्वमा सरकार बनेको एक महिनाभित्रै पूरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।
उनले भने, ‘पाँच वर्षभित्र नेपालबाट नागरिकता र सुकुम्वासीको समस्या समाधान हुन्छ, ग्यारेन्टीका साथ भन्छु, यो कुरा एमालेको चुनावी घोषणापत्रमा पनि उल्लेख हुन्छ।’
एमाले सरकारमा हुँदा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्छ भनेर संविधान बमोजिम ऐन ल्याउन खोजिएको उनले बताए।
‘विधेयक प्रस्तुत गर्यौं। ‘तर, संसदमा विपक्षी पार्टीका सभापतिले तीन वर्षसम्म नागरिकता विधेयक रोके,’ उनले भने।
‘अध्यादेशमार्फत पनि विधेयक ल्याउन खोज्यौं,’ उनले भने, ‘सर्वोच्च अदालतले त्यसलाई पनि रोक्यो, जनतालाई परेको समस्यामा राजनीति गर्न नहुने ठाउँले राजनीतिको हतियार र मतियार बन्नु हुँदैन थियो, त्यो कुरा भयो।’
छलफल गरेर नागरिकता विधेयक ल्याउनका लागि सदैव तयार रहेको उनले बताए।
‘विधेयक प्रस्तुत गर्नुअघि राष्ट्रपतिसँग इजाजत लिनुपर्छ, उहाँलाई बताउनुपर्छ। दम्भ र सत्ता अहंकारको गठबन्धनकै कारणले नागरिकता विधेयक अड्किएको हो। उनीहरूले नै अहिले अनेकौँ बखेडा खडा गर्न खोज्दैछन्,’ उनले भने।