आइतबार १७ मंसिर २०८०

मङ्गलबारदेखि भएको अविरल बर्षाका कारण मेलम्ची बजार डुवानमा परेको छ ।

बाढीपछि जमेका बालुवायुक्त माटोले घरका दोस्रो तलासम्म ढाकेको तस्विरहरु सार्वजनिक भएको छन् । बाढीले सिन्धुपाल्चोक जिल्लाभर १० भन्दा बढी मानिस सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको छ । मेलम्चीका सडकहरू बगाएको छ भने मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ ।

अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको डिएसपी सापकोटाले जानकारी दिए । मेलम्चीको आमा ह्योल्मो बसपार्क समेत बाढीले बगाएको छ ।

मङ्गलबार राति केटिएम दैनिकको सम्पर्कमा आएका त्यहाँ एक स्थानीय व्यक्तिले खोला बजार क्षेत्रमा प्रवेश गरेपछि मानिसहरु ज्यान जोगाउन डाँडाकाँडा र जङ्गलतर्फ लागेका बताएका थिए । उनले भने, ‘बाढीका कारण ज्यान जोगाउनै हम्मेहम्मे परेको छ । जनजीवन अस्तव्यस्त छ, के कति क्षति भयो भन्न सकिने अवस्था छैन । राति भएकाले उद्धार तथा अन्य सहयोगको पनि कुनै सम्भावना देखिँदैन ।’

खोला छेउमा रहेका टहराहरु बाढीले बगाएको छ भने आज रातभरीमा बाढीपहिरोले ठूलो धनजनको क्षति गर्ने आँकलन गरिएको छ । यस्तै मेलम्चीस्थित चनौटेमा रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।

साथै हेलम्बुमा माछा फर्मसगै बाढीले केही मानिस बगाएकाे हुँन सक्ने र उनीहरु सम्पर्कमा नआएकोे सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मङ्गलबार राति केटिएम दैनिकलाई बताएका थिए ।

अहिले त्यस क्षेत्रमा भएको मानवीय र अन्य भौतिक क्षति बारे बुझने काम भइरहेको तर एकिन तथ्याङ्क संकलन नभएको उनले बताए । ‘उक्त फर्ममा काम गर्ने कामदारलाई बगाएको भन्ने छ तर कति जना बगायो भन्ने बारेमा विवरण संकलनको काम भइरहेको छ ।

यसै गरि बाढीले हेलम्बुमा पुल केही होटलहरु पनि बगाएको उनले बताए ।


Last Updated on: June 16th, 2021 at 11:42 am
३९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया