आइतबार १० आश्विन २०७८

स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित आँधीखोलामा बिहान एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो ।

आज बिहान ६ बजेतिर स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय वालिङ र दहथुम प्रहरी चौकी बयरघारीबाट गएको प्रहरीको टोली र स्थानीयले शव निकालेका हुन् । अन्दाजी ५०÷५५ वर्षको जस्तो देखिने पुरुषको शवको सनाखत हुन सकेको छैन ।

शवलाई पोष्टमार्टमका लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा ल्याइएको छ । आँधीखोला बढेर आएसँगै माथितिरबाट बगाएर ल्याएको हुनसक्ने भएकाले उक्त ठाउँभन्दा माथिका आँधीखोला तथा सहायक खोला छेउछाउका बस्तीहरुमा पहिचानका लागि सूचना गरिएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

त्यस्तै पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उहाँका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरी चौकी हार्थोक र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले पुष्टि गर्नुभयो । शव परीक्षण गरी शव आफन्तलाई बुझाइएको छ । घटनास्थलको मुचुल्का बनाई क्षतिको विवरण लिने कार्य भइरहेको हार्थोक प्रहरी चौकीका प्रमुख कृष्ण रेग्मीले जानकारी दिनुभयो । लगातारको वर्षाका कारण ग्रामीण भेगका धेरै घर जोखिममा परेका छन् ।


Last Updated on: June 16th, 2021 at 12:01 pm
३५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया