
काठमाडौ ।
लगातारको वर्षाले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षती भएको छ । अहिले सम्म ७ जनाको मृत्यु पुष्टि भएको छ । जसमध्य ६ जनाको सनाखत भएको छ भने एक जनाको पहिचान खुलेको छैन । ति शव इन्द्रवती नदी किनारमा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय मेलम्चीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाँच पुरुष र दुई महिला छन् ।
मृत्यु हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं। ३ का ६५ वर्षीय टीकामाया खड्का, वडा नं। ७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं ६ का ३५ वर्षीय चेङा तामाङ, चौतारा साँगाचोकगढी नगरपालिका निवासी कर्मचारी २३ वर्षीय समुन्द्र नेपाल छन् । एक महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।. प्रहरीका अनुसार मेलम्चीमा मात्रै पाँच सय मानिस विस्थापित भएका छन् ।
सुरक्षाकर्मीहरु उद्दार र सहयोगलाई प्राथमिकतामा राखेर काम गरेका छन् । अहिले क्षतीको संकलन गरिएको छैन । त्यसैले हेलम्बु क्षेत्रको क्षतिको विवरण प्राप्त भएको छैन । उद्धारमा गएका सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ ,
राप्रपा अध्यक्ष पशुपति शम्शेर राणा र बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री युवराज दुलालसहित हेलम्बु र मेलम्चीका जनप्रतिनिधिले आपतकालीन बैठक बसेर उद्धारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित बनाउनेबारे छलफल गरेका छन् । मेलम्ची क्षेत्रमा बाढी र पहिरोले गरेको मानवीय र भौतिक क्षतिको स्पष्ट विवरण आउन बाँकी छ ।