मंगलबार २० मंसिर २०७९

काठमाण्डौ – दशैँको नवमीदेखि पूर्णिमासम्म नै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज र भोलि घाम लागे पनि पर्सी नवमीदेखि देशभर पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा अति ठूलो वर्षाकोसमेत सम्भावना रहेको छ । विशेषगरी पश्चिमी क्षेत्रमा सबैभन्दा धेरै वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

यो अवधिमा बाढी पहिरोको जोखिमसमेत रहेकाले सावधानी अपनाउन उहाँको सुझाव छ । अहिले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यो प्रणालीको असर नवमीदेखि पर्ने अनुमान गरिएको छ ।

नवमीदेखि पूर्णिमासम्म नै देशका धेरै ठाउँमा हल्कादेखि मध्य वर्षा हुनेछ भने दशैँको टीकाको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मोसमविद् वरुण पौडेलले बताउनुभयो ।

यस्तै, एकादशीको दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ । गएको जेठ २८ गते भित्रिएको मनसुन ढिलो गरी बाहिरिने भएको छ । मनसुनको अवधि आज अर्थात अक्टोबर २ तारिखसम्म मात्रै रहे पनि अन्तिममा फेरि सक्रिय हुँदै छ । यो हप्ताभरी नै मनसुन रहने अनुमान छ ।

यसैबीच, मौसमविद्ले ठूलो वर्षाको सम्भावना रहेकाले खेतीपातीको काम गर्दा पनि सचेत रहन आग्रह गरेका छन् । बाली भित्र्याउँदै आज र भोलि भित्र भित्र्याइसक्न नभए अर्का हप्तासम्म पर्खन सुझाव दिइएको छ

काठमाण्डाै – दशैँ मनाउन घर फर्कनेहरुको भिड बढेसँगै आज बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा गाडीको चाप बढेको छ ।

उपत्यकाको जडीबुटी, कोटेश्वर, कलङ्कीलगायतका ठाउँमा अहिले गाडी जाममा रहेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यी क्षेत्रबाट विशेष गरी पूर्वका इलाम, झापा, धरान, जनकपुर, सर्लाही, सिरहा तथा पश्चिम क्षेत्रका बाँके, बर्दिया, दाङ, गुल्मी, पाल्पालगायतका जिल्लामा जानेको सङ्ख्या धेरै छ।

यी क्षेत्रमा लागेको भिडलाई सहज बनाउन आज बिहान ३ बजेदेखि नै उपत्यकाका विभिन्न ठाउँमा एक हजार जना ट्राफिक प्रहरी खटिएका कार्यालयले जनाएको छ । हिजो र अस्तिभन्दा आज काठमाण्डौ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या धेरै छ । हिजो डेढ लाख जनाले काठमाण्डौ उपत्यका छोडेका छन् । आज योभन्दा बढी हुने अनुमान छ।

दसैँमा गाउँमा देखि नै छोडे पिङ
ढोरपाटन, १५ असोज (रासस) ः“उति बेला दसैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ हाल्ने युवतीले राति धजा बान्ने चलन थियो, अहिले त न पिङ हाल्छन् न धजा बान्छन्, के–के चलन आएआए, पुराना संस्कृतिहरु सबै हराए ।”

बागलुङ निसीखोला–४ की ७३ वर्षीया मनकली घर्ती पुराना संस्कृति हराउँदै गएकोमा चिन्तित हुनुहुन्छ । जब–जब दसैँ तिहार जस्ता पर्व आउँछन् तबतब उहाँलाई पुराना दिनका सम्झनाले सताउँछ । पिङ हालेको, खेलेको र रमाइलो गरेको याद उहाँका मानसपटलमा अझै ताजै छन् । उहाँ भन्नुहुन्छ, “दसैँ आयो भने मान्छे सबैभन्दा पहिले पिङ खेल्ने सम्झिन्छन्, उहीले पिङ बनाउने र खेल्ने चलन निकै थियो, अहिले सबै संस्कृति हटे कसले संरक्षण गर्ने ? युवा पुस्ताले चासो दिएनन् ।”

युवाले पिङ हालेपछि युवतीले धजा बान्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गथ्र्यो । पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास भएको हुँदा पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको बताइन्छ । “ अहिले यो प्रचलन त छँदै छैन, धजा बाँन्दा कोही पनि पिङबाट नलड्ने जनविश्वास पनि थियो”, उहाँले भन्नुभयो ।

पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मियता बनाउने काम गथ्र्यो । सुख, दुःख र वेदनाका कुरा गर्ने अवसर पिङले जुराउथ्यो । उहाँले भन्नुभयो, “अहिले पिङ पनि बनाउँदैनन्, आफन्तसँग भेट हुन पनि पाइँदैन, फोनमा कुरा ग¥यो, फोनमै भट्यो ।”

स्थानीय ७० वर्षीय नरबहादुर क्षेत्रीले विस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि पिङप्रति बेवास्ता बढेको बताउनुभयो । वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहे पनि विस्तारै टुट्दै गएको छ । मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको छ । “बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, उस्तै परे वर्षभरीमा एकपटक पनि धर्ती छोड्दैनन्”, क्षेत्रीले भन्नुभयो, “जमाना फेरिए, मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो ।”

उहाँले दसैँ आउनुभन्दा एक हप्ता पहिले नै गाउँमाथिको डाँडामा मान्छेहरु जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “ हाम्ले पिङ हालेको ठाउँ अहिले मोटरबाटो पुगेर भत्किएको छ ।”

स्थानीय युवा बिमल बुढामगरले पछिल्लो समय आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको बताउनुभयो । बुढामगर भन्नुहुन्छ, “हामी सानोसानो हुँदा लिङ्गे पिङ धेरै खेल्ने गरिन्थ्यो, अहिले त गाउँमा लुठो बाट्ने मान्छे पनि भेटिन छोडे, युवाले पनि खास्सै चासो नदिएर पनि होला हराउँदै गएको छ ।”-

 

Leave a Reply


Last Updated on: October 2nd, 2022 at 2:34 pm
९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया