शुक्रबार १५ मंसिर २०८०

नेपाली समाजमा विगत दुई दशकबाट एक लोक गीत चर्चित छ । वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामनाा सुनेर हुर्केका बालबालिका अहिले किशोर या युवा युवती भइसके । तर पनि यो गीतको रौनक घटेको छैन । तर विगत केही समय यता यस गीतका गायकलाई भने धेरैले बिर्सिसकेको भान हुन्छ ।

नेपाली समाजमा पूर्वेली लोक भाकालाई देशैभर चिनाउने श्रेय पनि यही गीतका गायकलाई जान्छ । पचासको दशकदेखि हालसम्म विवाह, पिकनिक या कुनै रमाइलो माहोलमा गुञ्जिन छुट्दैन, ‘वारि जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना’ बोलको गीत । पचासको दशकको मध्यदेखि नेपालीको ओठमा झुण्डिएको यो गीतसँगै चिनिएको नाम हो खेमराज गुरुङ । त्यही समयदेखि सुरु भयो, सबै पुस्तामा लोकगीत सुन्ने चलन ।

यो गीतले गाउँमा मात्र घन्किने लोकगीत शहरका प्रवेश गरायो । मेलापात गर्दा गाइने भनेर हेला गरिएको लोक गीत यो गीत आएपछि त डिस्कोमा समेत घन्किन थाल्यो । लोक गीत सुन्नेहरुको जमात बढेर लोकगीत सर्वप्रिय बन्यो । यही गीतले गायक खेमराज लोकप्रिय भएका थिए । नेपाली मौलिक शब्दहरुलाई खोजी खोजी रेकर्ड गरेपछि गीतसँगै उनको चर्चा समेत चुलियो ।

संखुवासभाको खाँदबारीमा जन्मिएका खेम रत्नराज्य क्याम्पसमा विद्यार्थी राजनीति गर्दै संगीतमा प्रवेश गरेका थिए । ‘वारी जमुना पारी जमुना’ गाएरै संसार घुम्ने अवसर पनि पाएका थिए । यस गीतको क्यासेट नेपाली संगीतमा अत्यधिक बिक्री हुनेमध्ये प¥यो । गीतबाटै चर्चित भएर बीबीसीमा अन्तर्वार्ता दिने पहिलो गायक उनी नै बने ।

तर नेपाली नेपाली लोक गीतलाई त्यो उचाईमा पुर्‍याएका खेमराज भने छिट्टै भगवानको प्यारो हुनु पर्यो । उनले २०७३ भदौ ९ गते यो सन्सार छोडेका थिए । उनी कलेजोका बिरामी थिए । चाबहिल स्थित मेडिकेयर अस्पतालमा उनको उपचार भै रहेको थियो । त्यही उनको निधन भएको थियो । खेमका जीवन, जीवन भाग २, अनमोल, धरान पोखरा, सोल्टी, आलुतामा लगायतका एल्बमहरु छन् ।


Last Updated on: June 17th, 2021 at 2:47 am
५१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया