
म तेस्रो तलामा थिएँ, दोस्रो तलासम्म डुबिसकेछ
June 17, 2021 60
मेलम्ची । बुधबार विहान सबेरै बाढीले मेलम्ची बजार डुबाइसकेको थियो । स्थानीय सानु राईसहित चारजना विभिन्न घरबाट उद्दारका लागि हा’रगुहार गरिरहेका थिए । जसमध्ये दुई मेलम्चीकै रोज होटलको फसेका थिए ।
एक निजी घरको छतबाट गुहार मागेका राई र होटलको छतबाट हा’रगुहार मागेका अरू तीन जना भारतीय नागरिकलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गर्यो । सेनाले उद्धार गरी उनीहरुलाई व्यारेकमा ल्याएको थियो । उनीहरु चारैजना अत्यन्त त्रसित अवस्थामा थिए । उद्दारपछि इन्द्रेश्वर माविमा भेटिएका मेलम्चीकै वासिन्दा राईले घटनाक्रम संक्षेपमा यसरी सुनाए :
मंगलबार साँझ खाना खाइवरी म सुत्ने तरखरमा थिएँ । साँझ सात बजेतिर माइकिङको आवाज सुनियो । वडा कार्यालयले गरेको माइकिङमा भनिएको थियो, ‘इन्द्रावतीमा पानीको वहाव बढेकाले सबैजना सुरक्षित स्थानमा जान अनुरोध गरिन्छ ।’ तर त्यसलाई खासै महत्व दिएको थिइनँ ।
केही साथीहरु भने घरतर्फ लागे । म आफू बस्ने घरमा नै बसिरहेको थिएँ । तर पानी नरोकिएपछि तेस्रो तलामा गएर सुतेँ । बिहान झिसमिसेमा एक्कासी निद्रा खुल्यो । बाहिर झ्यालबाट हेर्दा आफू सुतेको घरको दुई तला डुबिसकेको रहेछ । छतमा गएर चारै तिर नियाल्न थालेँ ।
इन्द्रावतीले बजार डुवाइसकेको थियो । धेरै मानिस घरबाहिर सुरक्षित ठाउँमा निस्किएको देखेँ । हातको इशाराले उद्धार गर्न अनुरोध पनि गरेँ । थाहा छैन उनीहरुले मेरो आवाज सुने कि सुनेनन् । होटलको छतमै छटपटाउँदै बसिरहेको थिएँ । आकाशमा हेलिकप्टर कराएको आवाज सुनें । हेलिकप्टर आफू भएको तिरै आइरहेको देखेँ । लाग्यो इन्द्रावतीको बाढी हेर्न आएको होला भनेर, तर त्यस्तो होइन रहेछ । हाम्रै उद्धार गर्न आएको रहेछ ।
इन्द्रावतीमा बाढी ठूलो आइरहेको सूचना स्थानीय जनप्रतिनिधिले माथिल्लो भेगका जनताबाट पाइसकेको थियो ।
वडा कार्यालयले सोही सूचनाको आधारमा माइकिङ गर्ने व्यवस्था मिलायो । बाढी आउने पूर्व जानकारी आएको भन्दै स्थानीयलाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको वडा–११ का अध्यक्ष रुद्रप्रसाद दुलालले बताए ।
उनले भने, ‘हामीले दुई पटक माइकिङ गर्दै सुरक्षित स्थानमा जान स्थानीयसँग आग्रह गर्यौं । जोखिमपूर्ण स्थानका वासिन्दाहरु नजिकैको विद्यालयमा गएर बसे । जसले गर्दा ठूलो मानवीय क्षति हुनबाट जोगियो ।’
बाढीको जोखिमबाट बच्न प्रायः जोखिम ठाउँका स्थानीय इन्द्रेश्वर उच्च माविमा गएर बसे । उनीहरुले साँझपख आफ्नो घर छाडेर विद्यालयमा गएर बास बसे । केही स्थानीय निदाए होलान् । केही निदाउन सकेनन् ।
बिहान उज्यालो भएपछि विद्यालयको शरणमा पुगेका स्थानीयहरु आ–आफ्नो घर भएको ठाउँतिर लागे । बिहान उठेर हेर्दा कसैले आफ्नो घर आधा डुबेको अवस्थामा देखे भने केहीले आफ्नो घरको नामोनिसाना ठम्याउन सकेनन् ।
स्थानीय व्यवसायी विनोद श्रेष्ठ भन्छन्, ‘उज्यालो भएपछि हेर्न जाँदा इन्द्रावतीको बाढीले घरको दुई तला डुबाएको रहेछ ।’
‘राति ८ बजेसम्म घरमै बसिरहेको थिएँ । बाढी आफ्नो घरसम्म नआउला भन्ने लागेको थियो,’ उनले भने, ‘तर जति रात छिप्पिँदै गयो बाढी झन्झन् बढ्दै गएर आफ्नो घरसम्मै आइपुग्न थाल्यो । त्यसपछि ज्यान बचाउन विद्यालयमा गएर बसेँ ।’