मंगलबार २० मंसिर २०७९

काठमाडौँ-‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ काठमाडौँ महानगरपालिका–११ स्थित थापाथलीको प्रसुती गृह पछाडिको बागमती किनारमा सफाइ गरिएको छ ।

बागमती सफाइ महाअभियानको ४९३औँ हप्ताको सफाइबाट करिब साढे एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइमा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, आयोजना प्रमुख सुवास बस्नेत, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकारलगायत अभियानकर्मीको सक्रियता थियो ।

सफाइमा बागमती फोहर उन्मुलन उपभोक्ता समिति, नेपाल प्रहरी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुलगायत संस्थाको संस्थागत सहभागिता थियो । अर्को हप्ता शनिबार छठ पर्वको तयारीस्वरुप गुह्येश्वरीअघिको नदी किनारमा सफाइ गरिने शाहीले जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । सफाइमा अभियानकर्मीसहित स्थानीयवासी र जनप्रतिनिधिको पनि सहभागिता रहने गरेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकुल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको बताइएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेकोे अभियानकर्मीले बताएका छन् । बागमती सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ ।

यसैगरी गुह्येश्वरीमाथिको बागमतीलगायत यसका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी छ । सफाइ अभियान जारी रहे पनि दिगो हुन नसकेकमा भने चिन्ता व्यक्त हुन थालेको छ ।

महोत्तरी-

दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण गृहिणीले धेरथोर नगद थैलीमा भर्न पाएका छन् ।दीपावली (तिहार) पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै घरआँगन र करेसामा शोभाका लागि लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत बनेको हो । घरको सौन्दर्य र दैनिक पूजाअर्चनाको उद्देश्यले लगाइएको फूलबाट घरमै आएका व्यापारीले राम्रो रकम दिन थालेपछि यहाँका सर्वसाधारण गृहिणीका थैली अहिले पैसाले खँदिला बनेका छन् ।

“हेर्नोस न, त्यही मठवरिपरि लगाइएको फूल न हो”, भङ्गाहा नगरपालिका–४ की गृहिणी गोमादेवी पुmँयालले भन्नुभयो, “हिजो घरमै फूल खोज्न आएका व्यापारीले रु दुई हजारमा दिनोस् भन्दै बैनास्वरुप (पेश्की, सामान किन्दा गरिने बोलकवोल) रु एक हजार दिएर गए ।” तुलसीको मठवरिपरि एकाध जग्गाकै सयपत्री फूलले आफ्नो घरको आवश्यकता टारेर दुई हजार दिने भएपछि फुँयाल अब भने तिहारलक्षित सयपत्री फूलखेती नै गर्ने टुङ्गोमा पुग्नुभएको छ ।

आफ्नै घरआँगनको फूलले अतिरिक्त आम्दानी दिने भएपछि फुँयालका अन्य छिमेकी गृहिणी महिला पनि अब व्यावसायिकरूपमै फूलखेती गर्ने टुङ्गोमा पुगेका छन् । “मखमली र सयपत्री फूल खोज्न आउने व्यापारीले मैले भनेकै मूल्यमा फूल लाने टुङ्गो गरेका छन्”, आफ्नो आँगन छेउका ५० बोटजति सयपत्री फूलका बोट देखाउँदै सो बस्तीकै अर्की गृहिणी समिता महतोले भन्नुभयो, “अबचाहिँ बिक्री नै गर्ने गरी फूलखेती गरिन्छ ।” यसपालि तिहार सुरु हुनपूर्व नै आफ्नो घरआँगनमा फुलेको फूलले नसोचेको आम्दानी दिएपछि जिल्लाको उत्तरवर्ती क्षेत्रका गृहिणी महिलाको अब व्यावसायिकरूपमै फूलखेती गर्ने सोच बनेको हो ।

कुनै व्यावसायिक प्रयोजनबिना नै शोभा र चाडपर्वमा आफ्नै आवश्यकताका लागि लगाइएको घरआँगनको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई–चार हजार आम्दानी बनाइदिएको घरायसी काममै ब्यस्त रहने गृहिणी महिलाको भनाइ छ । यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ५० वटा जति बोटका सयपत्री फूल लाँदा तीन हजारभन्दा बढी आम्दानी हुने भएको बर्दिवास–२ बारनचौडीकी गायत्री आचार्य बताउनुहुन्छ ।

अहिले तिहार नजिकिएसँगै फूल खोज्ने ग्राहक र व्यापारीको जिल्लाका गाउँ, नगर बस्तीमा लर्को नै देखिने गरेको छ । पर्वविशेषले गर्दा फूल खोज्नेहरूले मोलमोलाइ नगरीकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिने गरी फूल खेती गर्न आफ्नो वरपरका सबैजसो गृहिणी महिला अग्रसर देखिएका बर्दिवास–६ कृष्णपुरकी दीपा राजभण्डारीको भनाइ छ ।

जिल्लामा फूलको व्यावसायिक खेती गरिएको खासै नदेखिए पनि अब यसको सम्भावना बढेको कृषि विज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं् पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती सुरु गरिए थप एउटा आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत डा रामचन्द्र यादव बताउनुहुन्छ ।


Last Updated on: October 23rd, 2022 at 11:54 am
७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया