
‘सर्टेज’ का कारण गाउँमा कतै औषधि पाइएन भनेर फोन आएपछि भाइलाई स्कुटरको पछाडि राखेर औषधिको खोजीमा निस्किएँ । भौँतारिँदै विराटनगरको अस्पताल चोक पुगेपछि औषधि पाइयो । स्कुटर भाइलाई दिएर घर पठाएँ अनि सिटी सफारी चढ्ने निधो बनाएँ ।
दूरी खासै टाढा थिएन तर घाम चर्किएपछि चढ्नैपर्ने भयो । सफारी रोकाएँ । भाडा सोधेपछि कुरो मिलेन । एक वृद्ध सफारीचालकले ४० रुपैयाँ मागे । महँगो भएजस्तो महसुस भएपछि मैले २० रुपैयाँमा पु¥याइदिन प्रस्ताव गरेँ । उनी टाउको हल्लाउँदै अगाडि बढे ।
हाम्रो संवाद सुनिरहेकी एक महिला सफारीचालकले म भएठाममा आफ्नो सफारी रोकिन् र मलाई भनिन्, ‘जानुहुन्छ ?’ सुरुमा त मलाई केही नौलो लाग्यो । एक त महिलाको हातमा सफारीको ह्यान्डिल थियो । हुन पनि विराटनगरमा सफारीचालकको सङ्ख्या त्यति धेरै छैन ।
केही समयअघि विराटनगर महानगरका नगरप्रहरी प्रमुख राजन पौडेलले महिला सफारीचालकको सङ्ख्या घटेर ६–७ पुगेको बताएका थिए । एक त औँलामा गन्न सकिने महिला सफारीचालकको सङ्ख्या त्यसमाथि कम उमेरकी । उनले दोहोर्याएर सोधिन्, ‘जाने होे भाइ ?’ मैले भाडाबारे सोधेपछि उनले जबाफमा २० रुपैयाँ लाग्ने बताउँदै बस्न अनुरोध गरिन् ।
उनी आफैँले भनिन्, ‘मान्छे हेरेर व्यवहार गर्छन् हाम्रा सहकर्मीहरू । त्यति नजिक पुर्याउन ४० रुपैयाँ रे । जबकि भाडै २० रुपैयाँ हो…।’ मैले उनको कुरा काटेर प्रश्न गरेँ, ‘किन भाडामा असमानता त ?’ ‘यस्तै हो, मान्छे हेरेर व्यवहार गर्छन्,’ उनले थपिन् । कुरैकुरोमा हाम्रो चिनापरिचय भयो ।
उनको नाम, सुशीला थापा (३१) हो । आफ्ना पति र दुई सन्तानसहित विराटनगर महानगरपालिका–३ ठुलोमिलमा डेरा गरी बस्दै आएकी उनी विगत ६ वर्षयता सफारी चलाउँदै रहेछिन् । आर्थिकस्तर उकास्न आफ्ना पतिलाई विदेश नै पठाउनुपर्छ र लेखपढ राम्रो हुँदा जागिर नै खानुपर्छ भन्ने सिद्धान्त लिएकाहरूलाई दह्रो झापड दिने उनको सङ्घर्ष रहेछ ।
००००
सुशीलालाई विराटनगरका धुलाम्मे कच्ची सडक, खाल्डाखुल्डी बाटो, सवारीसाधनको अत्यधिक चाप आजभोलि सामान्यजस्तो लाग्न थालेको छ । केही वर्षअघि जब उनी आफ्ना पतिका साथ विराटनगर पसेकी थिइन्, त्यसबेला उनलाई यहाँका सडक टाउको दुखाइ हुन्थ्यो । तर सफारीचालकका रूपमा भने उनलाई सामान्यजस्तो लाग्न थालेको छ ।
यस्ता समस्याहरू छिचोलेर यात्रुबाट सङ्कलित अलि–अलि रकम हात परेपछि उनी साँझतिर घर पुग्छिन् । बिहान आठ बजेदेखि लगातार सफारीको ह्यान्डिल समातेर रातम्मे भएका हात पखाल्छिन् । जिउभरि टाँसिएको धुलो टकटकाएपछि सिटी सफारी चार्जमा राखेर पकाउने काम थाल्छिन् । दुई नानीहरूलाई खुवाउने, पढाउने र सुताउनेक्रम सकिएपछि आइपुग्छन् उनका श्रीमान्, जितलाल उरावँ ।
जितलाल उनका श्रीमानमात्र होइनन्, परिवार र आफन्त छोडेर रोजेको प्रेमी हुन् । ‘अन्तरजातीय विवाह गरेर मरी’ भन्दै परिवार र आफन्तले काजकिरिया गरेपछि अभिभाकत्व दिने अभिभावक हुन् । यसैले त, जस्तै थकान वा निराशा लिएर जितलाल घर आउँदा पनि सुशीला मुस्कान दिन छोड्दिनन् ।
दुवैको दिनभरिको थकान मेटाउने मुस्कानलाई उनीहरू अचुक औषधिका रूपमा प्रयोग गर्छन् । ‘जस्तै थकान होस्, दुःख, पीडा नै किन नहोस् । हामी एकर्कालाई देख्नेबित्तिकै मुस्कान साट्छौँ, खुसी हुन्छौँ,’ सुशीला भन्छिन्, ‘त्यो औषधि हामीले विगत एक दशकयता लिइरहेका छौँ । जसरी सङ्घर्षका दिनमा साटासाट गर्थ्यौँ ।’
बेलुकी उनीहरू आ–आफ्नै सफारी चार्जमा राखेर थन्क्याउँछन्, खानपिन थाल्छन् । घरधन्दा सकिएपछि दिनभरिको हिसाब गन्दै गरेका जितलाल छेउमा बसेर सुशीला पनि आफ्नो कमाइ फिजाउँछिन् । कहिलेकाहीँ कसको कमाइ धेरै भनेर प्रतिस्पर्धा गर्छन् । रकम गनिसकेपछि खर्च र बचत हिसाब गरेर राख्नछन् अनि सुत्छन् ।
सुशीला बिहान सखारै उठेर चिया, खाजा, खाना पकाउँछिन् । रुच्दो खाना खान्छिन् । पानी सकेसम्म कम खान्छिन् र सफारी लिएर पुनः यात्रु खोज्दै बजारतिर निस्कन्छिन् । जितलाल उठेर खानपिन अनि छोराछोरीलाई खुवाएर सफारीमा स्कुलसम्म पुर्याउँछन् र त्यतैबाट बजारतिर दौडन्छन् । विगत ६ वर्षयता यसरी नै बितेको छ उनीहरूको दिनचर्या ।
००००
२०६६ सालतिर इटहरीको एक होलसेल पसलमा काम गर्थे जितलाल । काम सुरु गरेको केही वर्षपछि त्यहाँ काम गर्न आएकी थिइन्, सुशीला । सुशीलाका बुबा शिक्षक थिए । तर रक्सी पिउने खराब बानीका कारण उनका बुबाले घरबार धान्न सकिरहेको अवस्था थिएन । यसैकारण इटहरीमा पढ्दै, होलसेल पसलमा काम गर्न पुगेकी सुशीला र जितलाल नजिकिए । केही वर्षको प्रेमलाई उनीहरूले विवाहमा परिणत गरे ।
तर अन्तर्जातीय विवाह गरेकै कारण सुशीलाले परिवार र आफन्तबाट टाढिनु पर्यो । सुशीलालाई आफन्तले काजकिरिया गरेरै मनबाट निकाले । अहिले पनि आफन्तले गरेको व्यवहार सम्झिँदा आजित हुन्छिन् उनी । ‘ज्युँदै भए पनि हामीहरूको नाममा श्राद्ध गरेको सुनेकी थिएँ,’ भावुक हुँदै उनी भन्छिन्, ‘त्यसो सम्झिँदा अझै मन चसक्क हुन्छ । उहाँहरूका लागि मैले बाटो बिराएँ होला । तर मेरी आमाले बुबाका कारण दिनानुदिन पाएको दुःख सम्झिँदा त मैले ठिकै गरेको हुँ ।’
इटहरी बसेर होलसेल पसलमै काम गर्दा उनीहरूले जीविको धान्न सकेनन् । आठ हजारको जागिरले उनीहरूलाई पोसाएन । जितलालको घर (इक्राही) मा केही समय त बसे । तर त्यहाँ सहज वातावरण नभएपछि विराटनगर बस्ने लक्ष्यका साथ उनीहरूले कोठा भाडा खोज्न थाले । कोठाका लागि भौतारिरहेका उनीहरूले जातकै कारण डेरा पाएनन् । ‘धेरैले जातमात्र सोध्ने, मेरो थर भन्दा कोठा दिनखोज्ने, उहाँको भन्दा नदिने,’ सुशीला भन्छिन्, ‘धेरै समस्या भोग्यौँ । कुनै कोठामा त ढाँटेर पनि बसेका छौँ ।’
अझै पनि जितलाललाई सानो जात भनेर हेप्ने सुशीलाका आफन्तहरू बोल्दैनन् । जन्म दिने आमासँग भने उनी हालैमात्र नजिकिएकी छन् । तर ‘एक्ला ज्वाइँ’ जितलाल ससुराली घरका जान पाएका छैनन् । ‘मैले अहिलेसम्म ससुराली घर टेकेको छैनँ,’ जितलाल भन्छन्, ‘उनीहरू जान्छन् तर जति आदर पाउने हो त्यति पाउँदैनन् । जातकै कारण हुने दुर्व्वयहारले दुःखी तुल्याउँछ ।’ माइती पक्षमा जातकै कारण कुनै कार्जेमा हुने रुखो व्यवहारले गर्दा उनी माइत जान्नन् । सुशीलाको आफन्तले उनीहरू चारै जनालाई चुलोचौको पस्न दिँदैनन् ।
अनेकन दुःखपछिको सुख
विराटनगर बस्न थालेपछि जितलालले १० हजारको जागिर पाए । सुशीला गर्भवती बनेपछि बढेको तलब पनि अपुग भयो । छोरा जन्मिएपछि खर्च झन् बढ्यो । जागिर छोडेर वैदेशिक रोजगारका लागि जाउँ भन्ने मनसायसमेत बनाएका थिए जितलालले । तर सुशीला र उनको मायाले जितलाललाई जान दिएन । दियोस् पनि कसरी, जसले आफ्ना लागि समाज र आफन्तका लागि लडाइँ लडेको छ । उसलाई कसरी छोड्ने ?
यसैले पनि उनले केही गर्ने, तर आफ्नै गर्ने भन्ठानेर ऋण काढेको रकमले सफारी किन्ने मनसाय बनाए । सफारीका लागि अग्रिम भुक्तानीसमेत दिए । तर त्यसैबेला सुशीला बिरामी भइन् । लगत्तै छोरालाई निमोनिया भयो । उपचार खर्च अभाव भएपछि एड्भान्स रकममध्ये केही फिर्र्ता लिएर सुशीला र छोरालाई निको बनाए । थप ऋण गरेर सफारी निकाले ।
एक वर्ष मिठो–मसिनो खाने पैसो जोगाएरै भए पनि सफारी निकालेको पैसो तिरे । एक वर्षसम्म चाहनाअनुरूप खाएनन् पनि । उता छोरा पढाउने बेलासमेत भइसकेका कारण भविष्य सम्झिएर दुई बुढा–बुढी रुन्थे पनि । तर निरन्तरता र लगनशीलताका कारण उनीहरूलाई सफारीबाट केही उक्सिएको जस्तो अनुभूति भयो ।
त्यसबीचमा सुशीलाले पनि विराटनगरकै एक कसमेटिक पसलमा जागिर गरिन् । तर छोरालाई समय दिन पाइनन् । बिहानैदेखि रातिसम्म पसलमै बस्दा छोराको बिजोग देखेपछि उनले काम छोडिन् । एक्लैले तीन मुखलाई पाल्न मुस्किल भएपनि जितलालले सुशीलालाई सफारी नै कुदाउन सुझाव दिए । ‘सुरुमा त डर लाग्यो, सक्दिनँ कि भन्ने भयो,’ उनी भन्छिन्, ‘त जसरी भए पनि गर्नु नै थियो । आफूमा साहस भरेँ । उहाँले सिकाउनु भयो । आखिरमा चलाएँ नै ।’
पढाइले त उनले १२ पास गरेकी थिइन् । शिक्षा सङ्कायमा बिएड प्रथम वर्षको पढाइ थाल्दै गर्दा नानी जन्मिइन् । खर्चअभावले पढ्न पाइनन् । आफ्नै अवस्था सम्झिएर पनि छोराछोरीलाई पढाउनकै लागि सफारी चलाउने आँट आएको उनको भनाइ छ । ‘रहर होइन, बाध्यता हो,’ उनी भन्छिन्, ‘यसो भन्दै गर्दा मैले सफारी चलाउने काम सानो भन्न खोजेको होइन । तर खर्च अभावकै कारण उहाँले एसएलसीमाथि पढ्न पाउनु भएन । मैले पनि बिएड सक्न पाइनँ । छोरा–छोरीलाई पढाउनकै लागि भएपनि सफारी हाँकेका हौँ ।’
जातीय विभेदले दिएको पीडा
दुवै जना सफारीचालक बनेपछि भने छोरीलाई समय दिन गाह्रो भयो । यसैले कहिलेकाहीँ छोरीलाई कोठाभित्र थुनेर बाहिरबाट ताल्चा लगाएर पनि सफारी लिएर हिँड्थे उनीहरू । कारण थियो, घरबेटीको फेरिएको व्यवहार । घरबेटीले जितलाललाई उरावँ भनेर थाहा पाएपछि उनकी छोरीलाई विभेद गर्न थालेका थिए ।
पहिले–पहिले घरबेटीले सुशीला र जितलालकी छोरीलाई खेलाउँथे । माथिल्लो तल्लामा लगेर हेरिदिन्थे । तर उनीहरूको अन्तरजातीय विवाहबारे जानकार भएपछि घरबेटीले सुशीला र जितलालकी छोरीलाई पिट्न थाले । ‘यता नपस्’ भन्दै हप्कीदप्की गर्न थाले । यस्तो थाहा पाएपछि उनीहरूले छोरीलाई कोठामा ताल्चा लगाएर सफारी चलाउन थाले । तर, सधैँ त्यसरी चल्थेन । यसैले उनीहरू धेरै सङ्घर्षका साथ अर्को कोठामा सरे ।
कोभिड र दुर्घटनाले गर्दा पुनः ऋणमा
दुवैले सफारी चलाउन थालेपछि आम्दानी बढ्यो । छोरोलाई लर्डबुद्ध बोर्डिङ स्कुल पठाउन सके । छोरी जन्मिइन् । शिक्षादीक्षाका लागि खर्च अभाव भएको थिएन । उनलाई पनि त्यतै पढाए । तर कोभिडका कारण देश लकडाउनमा गएपछि दुवै सफारी थन्किए । पैसाको मुख देख्न छोडे । आर्थिक सङ्कटका कारण जीवनस्तर सङ्घर्षपूर्ण अवस्थामा आइपुग्यो । खान–लाउनै नसक्ने अवस्थामा आइपुगे ।
केही समयपछि लकडाउन अलि खुकुलो भयो । आम्दानी गर्ने बाटो खुल्यो भनेर सफारी कुदाउनमात्र के थालेका थिए, दुर्घटनामा परे । उनले कुदाइरहेको सफारीले विराटनगरको सहिद रङ्गशालाअगाडि बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर लाग्यो । एक्कासि, बाटो काट्ने भएका साना बालकलाई ठक्कर दिएपछि उपचारका लागि ५३ हजार रुपैयाँ दिनुपर्यो । एक त कोभिडका कारण आर्थिक सङ्कट, अर्को दुर्घटनाबाट बेहोर्नुपरेको क्षति ।
दुवैतिरबाट समस्यामा चेपिएका उनले पुनः ऋण नै काढेर ती बालकको उपचार गरिदिए । ‘त्यतिबेला हाम्रो अवस्था इन्तु न चिन्तुको भएको थियो,’ जितलाल भन्छन्, ‘धन्न ऋण पाएँ र उपचार गराएँ । तर रकम अभावकै कारण छोरा–छोरीलाई सामुदायिक स्कुलमा स्थानान्तरण गराउनुपर्यो ।’ हाल उनका छोरा–छोरी पोखरीया विद्यालयमा पढ्दै छन् ।
विराटनगरमा घट्दै छ महिला सफारीचालकको सङ्ख्या
सुशीलाले अहिले सफारी त चलाउँदैछिन् तर महिला सफारीचालकका रूपमा उनको यो यात्रा खासै लामो देख्तिनन्, उनी । विराटनगरका असहज सडक, अस्वस्थ प्रतिस्पर्धा, सार्वजनिक शौचालयको अभाव, महिला भएका कारण हुने विभेदपूर्ण व्यवहार उनले पेसा परिवर्तन गर्नुपर्ने कारणहरू हुन् । उनले जति पानी पिउँछन्, त्यो घरमै पिउँछिन् र पिसाब फेर्नका लागि घरै पुग्छिन् । यसैले त उनी बाहिर पानी पिउँदिनन् । पानी अपरिहार्य छ, उनी बुझ्छिन् । तर पिसाब रोकेर रोग पलाउँछ भन्नेमा पनि उनमा ज्ञान छ ।
‘सार्वजनिक शौचालय नहुँदा हामी महिला सफारीचालकलाई साह्रै गाह्रो भइरहेको छ,’ उनी भन्छिन्, ‘पुरुष सहकर्मीहरू बाटोतिरै बस्न सक्नुहुन्छ । हामीलाई बढो ठुलो समस्या छ । यसैले पनि म धेरै पटक बिरामी परिसकेँ । पिसाब फेर्नलाई घरैपुग्न सधैँ सम्भव हुँदैन । साथमा यात्रु हुन्छन् ।’
त्यसबाहेक पनि शरीरै थथर्किने विराटनगरका खाल्डाखुल्डी सडकका कारण उनले धेरै थकित अनुभव गर्छिन् । यात्रुका लागि हुने अस्वस्थ प्रतिस्पर्धाले पनि उनी दिक्क छिन् । ‘हामी महिला सफारीचालकको सङ्ख्या एकदमै कम छ, यसैले पुरुष चालकहरूले सधैँ हेप्छन्,’ उनी भन्छिन्, ‘कहिले उनीहरूको सफारी ल्याएर मेरो सफारीसँग ठोक्काउने, मैले चढाउन लागेका यात्रुलाई जबर्जस्ती तानेर आफ्नोे सफारीमा राख्ने, हप्काउने, सिटी बजाएर जिस्काउँछन् ।’
यस्तै, यात्रु स्वयमले पनि महिला भएकै कारण विभेदपूर्ण व्यवहार गर्नेगरेको उनको गुनासो छ । ‘कतिपय यात्रुहरू मेरो सफारीमा चढ्नै लाग्दा महिलाको पो रहेछ भनेर अर्को सफारीमा बस्नुहुन्छ,’ उनी भन्छिन्, ‘कतिले चढेपछि पनि यतिको मान्छेले के सिटी कुदाएको भन्दै प्रश्न गर्छन् । यसबाट हामी हतोत्साहित हुन्छौँ ।’
यस्ता कारणले पनि महिला सफारीचालकको सङ्ख्या घटेको उनको तर्क छ । उनका अनुसार आजभन्दा केही वर्षअगाडि महिला सफारीचालकको सङ्ख्या १६ जति थियो तर विविध कारणवस घटेर ६ मा झरेको छ । महानगरभित्र हाल ४२ सय सफारी गुडिरहेको नगरप्रहरी प्रमुख राजन पौडेलको भनाइ छ । त्यसमध्ये सात सय ११ सफारीमात्र दर्ता भएर चलेका छन् ।