शुक्रबार १५ मंसिर २०८०

भूकम्पले घर भत्किदा डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

काठमाडौं : डोटीमा मंगलबार बेलुकी र बुधबार राति फरक-फरक समयमा तीनवटा भूकम्पका धक्का गएका छन् ।

सबैभन्दा पहिले मंगलबार राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ म्याग्निच्युड र ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्पले अर्को धक्का दियो । ती दुई भूकम्पले खासै ठूलो असर पारेन । तर, मध्यरात २ बजेर १२ मिनेटमा भूकम्पले अर्को धक्का दियो जुन ६ दशमल ६ म्याग्निच्युडको थियो । जसले सुदूरपश्चिमदेखि भारतको राजधानी नयाँदिल्लीसम्म धक्का महसुस गरायो ।

खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर भत्किदा डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । घाइतेहरुको अहिले उपचार भइरहेको छ ।

भूकम्पका साना धक्काहरु दिनहुँझै आइरहेका हुन्छन् । विक्रम सम्वत् २०७२ वैशाख १२ गतेको भूकम्पको ठूलो झड्का व्यहोरेका नेपालीहरुले सानातीना धक्काहरुलाई वेवास्ता गरिरहेका छन् । काठमाडौं उपत्यका र सो आसपासमा आउने भूकम्पका धक्काहरुलाई २०७२ सालमा आएको भूकम्पको पराकम्पको रुपमा भूकम्पविद्हरुले विश्लेष्ण गर्दै आएका छन् ।

तर, शृङ्खलाबद्ध रुपमा मंगलबार बेलुकी र बुधबार बिहान डोटीमा आएका भूकम्पका तीनवटा धक्का गोरखा भूकम्पको पराकम्प होइनन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले मंगलबार राति डोटीमा गएको भूकम्पलाई २०७२ को गोरखा भूकम्पको पराकम्पका रुपमा लिन नहुने बताए । भूकम्पविद् कोइरालाले अन्‍नपूर्णसँग भने,‘डोटीमा गएराति गएका धक्काहरु भूकम्पका नयाँ शृङ्खला हुन् । पराकम्प होइनन् । भूकम्पको जोखिम त सधैं भइरहन्छ ।’

झण्डै ५सय १७ वर्षदेखि गोरखा पश्चिमबाट भारतको देहरादुनसम्मका स्थानमा शक्तिशाली भूकम्प गएको छैन । ती क्षेत्रहरु भूकम्पको उच्च जोखिममा रहेका छन् । भूकम्पको जोखिम सदैव हुने गरेपनि गोरखा पश्चिमदेखि भारतको देहरादुनसम्मका स्थानहरु भूकम्पीय हिसाबले उच्च जोखिमा छन् । ती क्षेत्रहरुमा भूकम्पको शक्ति संचय भइरहेको भूकम्पविद्हरुले बताउँदै आएका छन् ।

‘भूकम्पका धक्काहरुसँग सधैं सजग रहनुपर्छ तर, भर्खरै भूकम्प गएका कारण डोटी र त्यस क्षेत्रका सर्वसाधारणहरुले बढी सजगता अपनाउनुपर्छ,’ भूकम्पविद् कोइरालाले भने।

भूकम्प कुन बेला, कुन समय तथा स्थानमा जान्छ भनेर अग्रिमरूपमा बताउनसक्ने प्रविधिको विकास अहिलेसम्म भएको छैन ।

वि.सं. २०७२ वैशाख १२ गते गएको ७ दशमलव ६ रेक्टर स्केलको विनाशकारी भूकम्प र त्यसपछिका सयौं परकम्पमा परी आठ हजार सात सय बढी मानिसको मृत्यु भयो । करिब २३ हजार पाँच सयभन्दा बढी मानिस घाइते भए । भूकम्पका कारण आठ लाख ५० हजारभन्दा बढी घर ध्वस्त वा क्षतिग्रस्त भएका थिए ।

विभिन्न समयमा भएका अध्ययनहरू र भूकम्पविद्हरूले गर्ने गरेका भविष्यवाणीहरूका आधारमा नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औं जोखिमपूर्ण स्थानमा छ भने काठमाडौं उपत्यका त विश्वकै जोखिमपूर्ण सहरका रूपमा रहेको मानिन्छ ।

अव्यवस्थित सहरीकरण र वर्षौं पुराना भौतिक संरचनाले झनै जोखिम बढाएको विज्ञहरूले समय-समयमा सचेत गराउँदै आएका छन् ।


Last Updated on: November 9th, 2022 at 1:35 pm
२५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया