मंगलबार २० मंसिर २०७९

काठमाडौं । नेपालमा प्रति एक लाख व्यक्तिमध्ये ९।४ प्रतिशत व्यक्तिमा दुर्घटनाजन्य क्षति भएको तथ्याङ्क छ ।

यसबाट हरेक वर्ष करिब तीन हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करिब छ हजार व्यक्तिले गम्भीर प्रकृतिको चोटपटकको सामना गरिरहेका छन् ।

विश्वमा हरेक २४ सेकेन्डमा एक जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेको तथ्याङ्क छ । त्यसैगरी विश्व बैङ्कको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाबाट राष्ट्रिय उत्पादनको १।५ प्रतिशत आर्थिक क्षति बेहोर्नु परेको छ ।

नेपाल दक्षिण एसियाली मुलुकमा सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशमध्ये एक हो ।

दुर्घटनाबाट ज्यान जाने, अङ्गभङ्ग हुनेलगायतका क्षति हुन्छन् ।

सडक प्रयोगकर्तामध्ये पैदल यात्री, साइकल यात्री र मोटरसाइकल यात्री सडक दुर्घटनाको सबैभन्दा जोखिममा पर्ने गरेका छन् ।

सन् २०३० सम्म पूरा गर्नुपर्ने दिगो विकास लक्ष्यमा सडक दुर्घटनालाई ५० प्रतिशत घटाउनुपर्ने सूचक छ ।

राजधानीमा आइतबार आयोजित ‘सवारी दुर्घटना र उद्धार’सम्बन्धी गोष्ठीमा यस्तो तथ्याङ्क प्रस्तुत गरियो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्

खोटाङ,

सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कम्पनीको एक्स्काभेटर र व्याकहो लोडरमा ताला लगाएको छ ।दिक्तेल-खोटाङबजार सडक अन्तरगत अस्पताल चोक-लफ्याङको दुबेचिवा (तीन किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै नगरपालिकाले आइतबार निर्माण कम्पनी काम ढुकुछु/बगाले/बिएनटी जेभीको एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएको हो ।

सडकको काम अधुरो छाडेर निर्माण व्यवसायीले निर्माणस्थलबाट क्रमशः मेसिनरी उपकरण अन्यत्र लैजान थालेको सूचनाको आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेशकुमार घिमिरेले निर्माण कम्पनीको एक्स्काभेटर र व्याकहो लोडरलाई एउटै साङ्लोले बाँधेर ताला लगाएका छन् ।लफ्याङस्थित निर्माणस्थलमा राखिएको एक्स्काभेटर र व्याकहो लोडरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका वडाध्यक्ष नवराज राईलगायतको उपस्थितिमा ताला लगाइएको हो । सडक स्तरोन्नतिको अवरुद्ध काम पुन: सुचारु नभइञ्जेल वा अर्को व्यवस्था नभएसम्मका लागि निर्माण व्यवसायीको मेसिनरी सामानमा तालाबन्दी गरिएको हो ।

मिस्त्री पठाएर एक्स्काभेटर र व्याकहो लोडर मर्मत गरेर अन्यत्र लैजान लागेको सूचना प्राप्त भएपछि मेयर तीर्थराज भट्टराईको निर्देशनमा ताला हालेर विज्ञाप्ती टाँस गरिएको वडाध्यक्ष घिमिरेले बताए । अन्य एक्स्काभेटर, ट्रिपर र व्याकहो लोडर भने रातारात अन्यत्र लगिसकेको बताइएको छ । भ्याटसहित पाँच करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक-लफ्याङको दुबेचिवा सडक स्तरोन्नति गर्नेगरी ढुकुछु/बगाले/बिएनटी जेभीले ठेक्का लिएको हो । सो निर्माण कम्पनीले २८ पुस २०७९ सम्ममा सम्पन्न गर्नेगरी २० जेठ २०७८ ठेक्का सम्झौता गरेको थियो । तर बाँकी रहेको करिब दुई महिनाभित्र द्रुततर गतिमा काम गर्दासमेत योजना सम्पन्न गर्न कठिन हुने देखिएको छ ।

निर्धारित समयमा सडक स्तरोन्नतीको काम सम्पन्न नहुँदा साकेला, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाका नागरिकलाई दुःख-सास्ती भइरहेको छ । सो सडक अलपत्र हुँदा नगरपालिकाको विकासमा अवरोध पुगेको वडाध्यक्ष घिमिरेले बताए । ‘विरामी, ज्येष्ठ नागरिक, अशक्त, वालबालिका र महिलालाई आवत-जावतमा सबैभन्दा बढी समस्या भएको छ,’ घिमिरेले भने, ‘अन्य पालिकाबाट दिक्तेल पुग्न र जिल्ला अस्पतालसम्म बिरामी ल्याउन कठिनाई हुँदा हेलीकोप्टर चाटर्ड गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो महत्वपूर्ण सडकलाई अलपत्र पार्ने निर्माण व्यवसायीको मेसिनमा ताला हाल्नु परेको हो ।’

यस्तै, अस्पतालचोक–साप्सु खोला सडक अन्तरगत दुबेचिवा–साप्सुखोला (चार किलोमिटर) सडक खण्ड स्तरोन्नतिको ठेक्का सगरमाथा सजिव आरएन जेभीले लिएको छ । सगरमाथा सजिवले भ्याटसहित दुई करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो । उसले १५ माघ २०७९ सम्ममा सम्पन्न गर्नेगरी २८ चैत २०७८ मा सडक स्तरोन्नतीको सम्झौता गरेको थियो । सो खण्डको काम पनि ढिलासुस्ती देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराईले बताए । दिक्तेलदेखि साप्सुखोलासम्मको दुई खण्डको स्तरोन्नतिको काममा ढिलासुस्ती भएको भन्दै मेयर भट्टराई गत २७ असोजमा सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगामा डेलीगेसन पुगेका थिए । मेयर भट्टराईले कार्यालय प्रमुख इन्जिनियर अरुणकुमार लाल कर्णलाई भेटेर मौखिक स्पष्टीकरण लिएका थिए ।

यस्तै, नगरपालिकाले ३ कात्तिकको मितिदेखि ३५ दिनभित्र नगरभित्रका १७ आयोजनाको प्रगतिसहित मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । ३५ दिनभित्र काम सुचारु नभए र तोकिएको समयसीमाभित्र काम सम्पन नहुने स्थिति सिर्जना भए नगरपालिकाबाट सम्वन्धित नियमक निकायमा निर्माण व्यवसायीलाई कालो सूचीमा राख्नेलगायतका कानुनी कारबाहीको लागि सिफारिस गर्ने तयारी गरिएको छ । तर अस्पताल चोक–लफ्याङको दुबेचिवा सडक स्तरोन्नतीको काम जिम्मा लिएको ढुकुछु/बगाले/बिएनटी जेभी भने काम सुचारु गर्नुको सट्टा अलपत्र छाडेर भाग्न लागेको मेयर भट्टराईले बताए ।


Last Updated on: November 14th, 2022 at 12:40 pm
४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया