आइतबार १४ आश्विन २०८०

सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ ३६ हजार ४५ मत गणना सकिएको छ ।निर्वाचन अधिकृतको कार्यालय धरानले सार्वजनिक गरेको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गोमा तामाङ (सरिन)ले अग्रता कायमै राखेका छन् ।

उनले ७१३५ मत प्राप्त गरेका छन् भने एमाले जसपाका उम्मेदवार अशोककुमार राईले ६१५५ मत पाएका छन् ।यस्तै, गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले ५८९६ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार मनोज मेन्याङ्बोले ४९६२ मत पाएका छन् ।

यसै गरी, राप्रपाका उम्मेदवार अशोक राई (अविरल)ले ३९४९ मत, मातृकाप्रसाद भट्टराईले १४८२ मत, तर्कबहादुर मगरले १८८९ मत पाएका छन् ।उता कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २५१९ मतले पछाडि पार्दै गुरुङ विजयी भएका हुन् ।

गुरुङले २५७०८ मत ल्याउँदा बराल २३१८९ मतमा रोकिए ।त्यस्तै सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् ।उनी १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए।

कार्की ३४ मतान्तरले विजयी भएका हुन् ।त्यस्तै नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन् । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् ।

सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा(२)को मतगणना जारी छ उता आफ्नै पार्टीभित्रको खुलेआम असहयोगका बीच प्युठानमा कांग्रेसका युवा नेता रोज राणाले इतिहास फर्काएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा १ मा एमालेले गठबन्धनलाई सरप्राइज दिएर विजय हासिल गरेकोमा प्रदेशसभा २ मा भने रोजले सरप्राइज दिएका छन् ।

२०४८ सालमा प्युठानबाट मुक्तिप्रसाद शर्माले सांसद जितेयता अहिलेसम्म नेपाली कांग्रेसबाट कोही पनि निर्वाचित हुनसकेको छैन । ३१ वर्ष अगाडि कांग्रेसको त्यो जीतलाई कांग्रेसका युवा नेता रोज राणा (सरोज थापा) ले कम्युनिष्टहरुकै साथमा पुनर्जीवन दिएका छन् ।

कम्युनिष्टहरुको बलियो किल्ला मानिएको यो जिल्लामा उनको जीतले सबैको ध्यान केन्द्रित गरेको छ । त्यसो त राणा कम्युनिष्टहरुको गठबन्धनबाट यहाँ उम्मेदवार बनेका थिए । तर, प्रतिनिधिसभामा जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती दुर्गा पौडेल अनि प्रदेशसभामा माओवादीका उम्मेदवार कृष्ण अधिकारी दुवै जना पराजित हुँदा राणाको विजय थप रोचक बनेको हो ।

राणासँग प्रतिस्पर्धामा रहेका एमालेका हरि रिजाल पार्टी केन्द्रीय सदस्य तथा यसअघिका सांसद र पूर्वमन्त्रीसमेत हुन् । यहाँबाट एमालेका बलिया उम्मेदार रिजाललाई पराजित गरेर उनले जिल्लामा आफ्नो अस्तित्व देखाएका छन् ।नेपाल विद्यार्थी संघबाट राजनीतिमा जोडिएका राणा तरुण दलको केन्द्रीय सदस्य हुँदै कांग्रेसको पार्टी राजनीतिमा जोडिएका हुन् ।

पार्टीको प्रदेशसभा २ को सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित उनी पार्टीमा सभापति शेरबहादुर देउवा समूहका हुन् ।उनलाई निर्वाचनअघि टिकट टुंग्याउने र निर्वाचनको समयमा पनि पार्टीभित्रैबाट ठूलो छेकबार नलागेको होइन । तर, ती अवरोध छिचोल्दै राणाले कठिन जीत निकालेर ३१ वर्षपछि जिल्लामा पार्टीको तर्फबाट जीत दर्ता गराएका छन् ।

प्युठान नगरपालिका वडा नं ८ गेजवाङ स्थायी घर भएका रोज राजनीतिभन्दा पनि चलचित्र निर्माताका नामले बढी चिनिन्छन् । उनी व्यवसायी पनि हुन् । तर, लुम्बिनी प्रदेशसभाका सांसद बनेपछि राजनीति वा चलचित्र कुन प्राथमिकतामा पर्छ भन्ने नेपाल प्रेसको प्रश्नमा उनी एकछिन अलमलमै परे ।

‘यति लामो समयपछि जिल्लामा कांग्रेसबाट सांसद बनेको छु, कम्युनिष्टहरुको बलियो जिल्ला र किल्लाका नामले चिनिएको ठाउँमा नयाँ काम गरेर देखाउनेछु, राजनीतिसँगै मेरो चलचित्र क्षेत्रको काम पनि चलिरहन्छ’, उनले भने ।चुनावी तयारीमा लागेपछि चलचित्र निर्माता संघको महासचिव बनिसकेका राणा अध्यक्ष बन्नतिर नलागेको बताउँछन् ।

‘उताको जिम्मेवारी कम गर्दै राजनीतिमा समय दिएको हुँ, यता काम गरेर देखाउनुपर्नेछ, पार्टीभित्र र बाहिर उस्तै चुनौती खेपेको अनुभव छ । त्यसैले पनि नमुना काम गरेर देखाउने हो’, राणा भन्छन् ।प्युठान प्रदेशसभा २ बाट प्रदेश सांसदमा निर्वाचित उनका बुवा पनि शिक्षण पेशापछि राजनीतिमा जोडिएका थिए ।

अहिले बुवा नभए पनि आमा घरमै भएको र बुवाले बनाएको योजना पूरा गर्ने सोच भएको उनी बताउँछन् ।उनले नेकपा एमालेका हरि रिजाललाई १ हजार ७१२ मतान्तरले पराजित गरेका हुन् । उनले २२ हजार ५१८ मत ल्याउँदा एमालेका रिजालले २० हजार ८०७ मत पाएका थिए ।

२०४८ मा मुक्तिप्रसादले जितेपछि यो क्षेत्रमा निरन्तर राष्ट्रिय जनमोर्चा, एमाले र माओवादीले पालैपालो जितिरहेका थिए ।फिल्म निर्माता, कलाकार तथा निर्देशक रहेका राणाले बनाएका थुप्रै चलचित्रले नाम र दाम कमाएका छन् । ‘दादागिरी’ बाट फिल्म निर्माणमा हात हालेका राणाले ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’ लगायतमा लगानी गरेका हुन् भने ‘जय पशुराम’बाट निर्देशनमा डेब्यु गरेका हुन् ।


Last Updated on: November 25th, 2022 at 1:13 pm
३८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया