बिहिबार १९ माघ २०७९

–झापाको धुलाबारी घर भएका गणेश लम्सालले २०५२ सालमा अन्तरजातीय विवाह गरेर समाज परिवर्तनका लागि विद्रोह थाले । घर नजिकैकी कमला विश्वकर्मासँग भागेर बिहे गर्दै गर्दा गणेश जातीय व्यवस्थाको विषयमा समाजमा चेतना फैलिँदै छ, सबै कुरा ठिक हुनेछ भन्ने सोच्थे । तर उनले विवाह गरेको २६ वर्ष बितिसक्दा पनि समाज उस्तै छ, जातीय छुवाछुत कायमै छ ।

जुन जातीय छुवाछुत हटाउन गणेश र कमलाले विद्रोह थालेका थिए, त्यो अझै पनि कुनै न कुनै रूपमा कायम रहँदा चिन्तित छन् उनीहरू । हाल गणेश र कमलाका दुई छोरी छन्, पूजा र आशिका । तर जातीय विभेदले ग्रस्त समाजका कारण उनीहरू दुवैको न्वारानसमेत भएको छैन । ‘बिहे गरेको एक वर्षपछि पूजा जन्मिई तर विधिवत् रूपमा न्वारान भएन’, कमला भन्छिन्, ‘पण्डितलाई न्वारानका लागि बोलायौँ । तर पण्डित नआएपछि कान्छी छोरी आशिकाको पनि न्वारान गरेका छैनौँ ।’

कमलाले गणेशसँग लगनगाँठो कसेपछि उनको माइती पक्षलाई धम्की आयो । छोरीलाई लुकाउन लगाएर गणेशमाथि झुटो मुद्दा लगाइयो । विराटनगरस्थित एक होटेलमा काम गर्दै गरेका गणेशलाई मानव बेचबिखनको मुद्दा लगाएर पक्राउ गरियो । पक्राउ परेर धुलाबारी थानामा बसेका बेला समाजका अगुवाहरूले छुटाए । त्यसपछि उनीहरू पथरी बस्न थाले । चार वर्ष त्यहाँ बसेपछि गणेशले विराटनगर आएर पत्रकारिता गरिरहेका छन् । विराटनगर आउँदा पनि कोठाको समस्यालगायत अन्य धेरै समस्या आइरहे । ‘त्यस बेलादेखि अहिलेसम्म धेरै कुरा भोग्दै आयौँ, सहँदै आयौँ’, गणेश भन्छन्, ‘मेरी छोरीहरू मावल जान्छन् तर घर जान पाउँदैनन् । मलाई बहिस्कार गरेको घरका सदस्यलाई मैले पनि बहिस्कार गरेको छु । २६ वर्ष भयो, मेरी दिदीसँग कुरा भएको छैन, उहाँको हातबाट मैले टीका लगाएको छैन । मैले मेरै बुबालाई पनि बहिस्कार गरेको छु । कहिलेकाहीँ जान्छु घर तर उहाँलाई भनेको छु, म तपाईँलाई आर्थिक र परिआउने समस्यामा सहयोग गर्दिनँ ।’

–झापाको काँकडभिट्टाका पर्वत पोर्तेलसँग २०६७ सालमा अन्तरजातीय विवाह गरेकी कविता नेपालका लागि अझै पनि माइतीको हृदयले सम्मानजनक स्वागत गरेको छैन । पर्वतसँग भागी बिहे गरेपछि सङ्घर्ष गर्दै जाँदा माइती पक्षको ढोका खुले पनि अझैसम्म अन्तरजातीय विवाह गरेर साहस देखाएकी उनको बुबाले हृदय खुल्ला गरेर नबोलाइदिँदा मन चसक्क दुख्छ ।

झापा चन्द्रगढी माइती भएकी कविताका बुबा शिक्षक र पण्डित पनि हुन् । सानैदेखि धेरै कुरामा वर्जित हुँदै हुर्किनेक्रममा कवितालाई ब्राह्मण केटासँग बिहे गर्न मन लाग्दैन थियो । आमासँग कहिलेकाहीँ यसबारे भन्थिन् पनि । नभन्दै पछि त्यस्तै हुन पुग्यो । पत्रकार पर्वतसँग अन्तरजातीय बिहे गरेकी कविताले लामो समय माइतीसँग कुरा गर्न पाइनन् । बिहे गरेको केही वर्षसम्म भने म्यासेजमा उनलाई पटक–पटक धम्की आउँथ्यो । म्यासेजमा ‘थ्रेट’ आउन थालेपछि उनले सिम नै निकालेर फाल्नुपर्ने अवस्था आयो ।

सङ्घर्षकै क्रममा उनका लागि परिवारको ढोका त खुल्यो तर बिहे गरेको १२ वर्ष बित्नै लाग्दा पनि माइती पक्षको हृदयले स्वागत गरेन । ‘मेरो बुबा कट्टर ब्राह्मण हो, धेरै नियम–कानुनले मलाई थुप्रै कुरामा वर्जित गरेको थियो’, कविता भन्छिन्, ‘१२ वर्षमा खोला पनि फर्केर आउँछ भन्थे, त्यस्तै भयो । अहिले माइत जाँदा बुबासँग कुरा हुन्छ तर समाजले भने हामीमा नजर लगाइरहेको हुन्छ । म त्यहाँ जाँदा बुबालाई कति धेरै असर परेको छ भन्ने कुरा मैले महसुस गरेकी छु ।’

अहिले पर्वत पनि ससुराली जान्छन्, कविता र उनकी छोरी पनि माइत–मावल जान्छन् । तर उनीहरूमाथि त्यहाँ विभेद नै छ । नातिनीलाई भान्सा कोठामा पस्न नदिएर सासूआमाले विभेद गरेको पर्वत बताउँछन् । ‘हुन त उहाँहरूले लामो समय जातीय विभेद देख्नु भयो, चट्टै हटाउन गाह्रो होला’, उनी भन्छन्, ‘म एडजस्ट गर्न सकुँला तर मेरी छोरी भान्सामा पसिदिँदा उहाँहरूले गरेको विभेदले छोरी रुइन । हाम्रा भावी पुस्तालई यस्ता कुराहरूबाट टाढै राखेको राम्रो हुन्छ ।’

–जीवन भट्टराई र लक्ष्मी बर्देवाको भेट एन्टेना फाउन्डेसनले गरेको रेडियो नाटकका क्रममा भेट भयो । सुरुमा दिदी–भाइजस्तो सम्बन्धमा भेटिएका उनीहरूको सहकार्यले प्रेम, लिभिङ टुगेदर हुँदै विवाहसम्मको रूप लियो । प्रेम हुँदादेखि नै उनीहरूले आफ्नो प्रेमले सफलता पाउला भन्ने सोचेका थिएनन्, तर उनीहरूले २०७४ सालतिर आफ्नो प्रेमलाई विवाहमा रूपान्तरण गरे । उनीहरूलाई लाग्थ्यो, शिक्षित समाजले यी जातीय व्यवस्थाका व्यवहार त्याग्छ, जातलाई लिएर विभेद गर्दैन । तर अझैसम्म पनि जातलाई लिएर हुने हिंसा बढिरहेको देख्दा अनि आफैँले जातीय रूपमा पाएको असमान व्यवहारका कारण जीवन र लक्ष्मी आजित छन् ।

रेडियो नाटकका क्रममा भेटिएका जीवन र लक्ष्मीले सँगै मण्डला थिएटरमा नाटक सिके । नाटक पनि एकसाथ गरे । पछि प्रेम बसेपछि दुई वर्ष लिभिङ टुगेदरमा बसे । त्यसपछि जीवनले विवाह गर्ने निधो बनाएर लक्ष्मीको घरमा कुरा राखे । लक्ष्मीका बुबा पनि अन्तरजातीय विवाह गरेका परिआउने परिस्थितिबारे जानकार थिए । लक्ष्मीका बुबाले उनलाई भने, ‘पछि तपाईँ विरुद्ध हुने विभेदपूर्ण व्यवहारबाट कसरी उम्कनु हुन्छ ?’ त्यस बेला आत्मविश्वासले भरिपूर्ण जवाफ दिएका जीवन बिहेकै कुरा गर्न आफ्नो घर पुगे । आफ्ना बुबालाई लक्ष्मीसँग बिहे गर्न लागेको भन्ने कुरा सुनाएपछि भने उनले नमिठो जवाफ पाए ।

जीवनका बुबाले सामाजिक बाध्यता र पारिवारिक मूल्यमान्यताका कारण अन्तरजातीय विवाह स्विकार्न नसक्ने जनाए । तर जीवनले आफ्नो साहस अझ बलियो बनाएर लक्ष्मीसँग बिहे गरे । अहिले जीवनको परिवारले दुवैलाई बहिस्कार गरेको छ, बोलचाल छैन । तर लक्ष्मी र जीवन भने सङ्घर्ष गरिरहेका छन्, कलाकारिताबाट होस् वा आफ्नै भोगाइबाट होस् जातीय विभेदलाई जरैबाट हटाउन ।

यी तीन जोडी प्रतिनिधि पात्र मात्र हुन्, अहिलेको शिक्षित समाजमा पनि अन्तरजातीय विवाह गरेर जातीय विभेदविरुद्ध आन्दोलन गर्ने अभियन्तालाई उस्तै व्यवहार गरिन्छ, जस्तो व्यवहार अशिक्षित समाजमा हुन्थ्यो । आर्थिक सक्षमता, शैक्षिक स्थिति र चेतनाको कमीका कारण जातीय विभेद कायमै रहेको समाजशास्त्री डाक्टर चन्द्र उपाध्याय बताउँछन् । समाज शिक्षित भए पनि जातीय व्यवस्थालाई बढवा दिँदै आएका व्यक्तिहरू समाजमा रहेका कारण यस विरुद्धको चेतना आउन समय लाग्ने बताउँदै उनी भन्छन्, ‘शिक्षाले जातपात र त्यसले निम्त्याएको हिंसा निर्मूल पार्न सहयोग गरिरहेको अवस्था छ । जातको कुरा सामाजिक वा कानुनी रूपमा पातलिँदै गरेको छ, धुलमिल हुँदै छ । यसमा दुई मत छैन । तर एउटा पुस्ता अहिले पनि त्यही अवस्थामा छ जुन अवस्थामा जातीय व्यवस्थालाई मलजल गरिएको थियो । त्यसपछि दोस्रो पुस्ता केही सहज हुँदै गएको छ र तेस्रो पुस्ताले भने जात व्यवस्थालाई प्रश्न उठाउन थालेको छ ।’

‘त्यही परम्परा र त्यही संस्कृतिबाट हुर्केर आएको पुस्ता र जात व्यवस्थाविरुद्ध प्रश्न गरिरहेको पुस्तालाई दोस्रो पुस्ताले सहजीकरण गरिरहेको अवस्था छ’, उनी भन्छन्, ‘हुन त यसमा आर्थिक सक्षमता भर पर्छ । कोही आर्थिक रूपमा सबल भएको खण्डमा उसले दमन खप्दैन वा जात व्यवस्थाकै कारण हुने हिंसा सहँदैन । आर्थिक रूपमा सक्षम भएको मानिसलाई हिंसामा पर्ने अवस्था आउँदैन । आफूमाथि हिंसा आउने अवस्था देखिए, थिचोमिचो वा दमन गर्न खोजेमा स्वतन्त्रता खोज्दै त्यसको विरोधमा उत्रिन्छ । तर आश्रित व्यक्ति दमन खप्न बाध्य छ ।’

नेपालको कानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ  । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछुतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ । तर पनि कुनै न कुनै रूपमा समाजमा जातीय विभेद कायमै रहँदा शिक्षित बर्गले समाजलाई प्रश्न तेर्साइरहने बेला आएको छ, ‘आखिर जातीय विभेद कहिलेसम्म ?’

प्रतिक्रिया दिनुहोस


Last Updated on: November 28th, 2022 at 11:42 am
१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया