बिहिबार १९ माघ २०७९

भैरहवा, १५ मंसिर;रुपन्देहीकाे बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन । विगत दुई वर्षदेखि प्रधानाध्यापक हुँदाहुँदै हालै सरुवा भई आएका शिक्षकलाई जबर्जस्ती प्रधानाध्यापक बनाइएको भन्दै अध्ययनरत विद्यार्थी र अभिभावकहरूले विद्यालयमा ताला लगाई आन्दोलित बनेका हुन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापकको विषयलाई लिएर पटकपटक विवाद हुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएकाे थियाे । १५ वैशाख ०७७ बाट निमावि तहको राहततर्फका शिक्षक इलियास खान प्रधानाध्यापक भई जिम्मेवारी सम्हाल्दै आएका थिए । विद्यालयका प्रावि तहका शिक्षक सन्जयकुमार धवल गत १५ भदौमा सरुवा भई अन्यत्र गएपछि सरुवा भई १३ भदौमा आएका प्रावि तहका स्थायी शिक्षक अब्दुल रहमान खानलाई नै प्रअको जिम्मेवरी दिएको थाहा पाएपछि विद्यार्थीहरूले पुरानै शिक्षक प्रअ हुनुपर्ने माग गर्दै मुख्य गेटमा ताला लगाएका हुन् ।

विद्यालयको विकासमा धेरै योगदान गरेको र शैक्षिक सुधार भएको भन्दै पहिलाको प्रअलाई नै जिम्मेवारी दिनुपर्ने स्थानीय सवित्री गुरुङले बताइन् ।

अर्का अभिभावक बासुदेव आचार्यले शिक्षा जस्तो संवेदनशील ठाउँमा भ्रष्टाचार गर्ने जोकोहीलाई निस्कासित गर्नुपर्ने, बालअधिकारको हनन गर्ने र परीक्षाको मुखमा आएर गलत व्यक्तिलाई जिम्मेवारी दिन लागेको भन्दै यथाशीघ्र सच्चयाउनुपर्ने बताए ।

जिम्मेवारी दिन लागेका शिक्षकले अभिभावकहरूलाई आफ्नो बच्चा विद्यालयबाट लैजान, अनाहकमा विद्यार्थीलाई यातना दिने गरेको फुलमति हरिजनले बताइन् । अरु विद्यालयमा उनले गरेको गतिविधिका कारण त्यस्तो व्यक्तिबाट अध्ययन गराउन नहुने उनकाे तर्क छ ।

अभिभावक र विद्यार्थीहरुले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र क्षेत्रीलाई समेत अनियमितता गरेको आरोप लगाएका छन् । उनले विद्यालयको सम्पत्ति व्यक्तिगत रूपमा प्रयोग गरेका छन् । विद्यालयमा हाँस, कुकुर पालेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रीले आफूले भन्दा पनि नगरपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले प्रअको जिम्मेवारी दिएको बताए । आफूले कुनै अनियमिततता नगरेको बताउँदै उनले सावित भए कारबाही भोग्न तयार रहेकाे उनकाे भनाइ छ । सिद्धार्थनगर नगरपलिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साललाई यस विषयमा सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

सोलुखुम्बु :

विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र बिस्तारै सुनसान बन्दै गएको छ। पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो।

 

केही समय अघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु अहिले सुनसान बनेका छन्। पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौ धौ परेका यहाँका होटल व्यवसायीहरुलाई समेत यतिखेर फुर्सद मिलेको स्थानीय होटल व्यवसायी दामु शेर्पाले बताइन्।

केही हप्ता अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र अहिले शान्त छ। सिजनमा आवातजावतसमेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले सिमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्यांक अनुसार पछिल्लो एक सातामा १३ सय ९० जना पर्यटक भित्रिदा २१ सय ७ जनाले खुम्बु छोडेका छन्। सिजनमा दैनिक ७ सय जनासम्म पर्यटक भित्रिएको खुम्बुमा अहिले भित्रिने पर्यटक न्यून रहेको निकुञ्जका सुचना अधिकारी मनोज मण्डलले जानकारी दिए। पर्यटकको अवगमन न्यून भएसँगै निकुञ्ज चेकपोष्टका कर्मचारीहरु पनि केही फुर्सदिला बनेको निकुञ्जको कार्यालयले जनाएको छ।

सिजनमा अत्यन्तै चाप हुने भएकाले सिजन सकिएपछि घुम्नका लागि अधिकांश व्यवसायी तथा होटल सञ्चालकहरु बाहिर निस्कने गरेका छन्। यस क्षेत्रका नागरिकहरुको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले सिजन सकिएसँगै उनीहरु फुर्सदिला बनेका हुन्। सिजनमा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर,भ्रमण लगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरुको विशेषता जस्तै बनेको छ।


Last Updated on: December 1st, 2022 at 4:36 pm
६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया