बिहिबार १९ माघ २०७९

नेपाली सेनाको गाडी पर्यो दुर्घटनामा, घाइते १३ जनालाई हेलिकप्टरबाट ल्याइयो काठमाण्डौ

पाँचथर

पाँचथर र धनकुटाको सिमावर्ती छ नम्बर बुधबारेबाट पाँचथरको जोरपोखरी तर्फ आउँदै गरेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

रणशेर गणअन्तर्गत पाँचथरको बुधवारे पोष्टमा तैनाथ “ग” गुल्मको फौज सामुहिक तालिमको लागि अदली बदली गर्ने क्रममा सडक दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।

बा १ ग ३४४२ नम्बरको वानटन गाडी आइतबार अपराह्न इलामको माङसेवुङ गाउँपालिका वडा नम्बर ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भइ दुर्घटनामा परेको थियो ।

घाइते मध्य १३ जनालाई हेलिकप्टरमा अहिले काठमाण्डौ ल्याएर छाउनी अस्पतालमा उपचार शुरु गरिएको छ । क्याप्टेन किशोर बोगटीको कमाण्डमा २७ जना बा २ झ ४८० नम्बरको बोलेरो जीप र बा १ ग ३४४२ नम्बरको टाटा ट्रकमा सवार भएका थिए ।

दुर्घटनामा घाइते १५ मध्ये २ जनाको अवस्था केही चिन्ताजनक छ ।

दुर्घटनामा सैनिक प्युठ कााशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रवी तामाङ, रमेश चौधरी, सूर्य थारु, चन्द्रबहादुर कार्की, दिलबहादुर साही, लोटन थारु, देवीलाल सुनुवार, हवल्दार प्रकाश आचार्य, लेस नायक रञ्जित चौधरी, र जवान धर्मैश कापर छन् ।

‘सुकुम्बासी हुनु आर्थिक परिस्थिति मात्र होइन, सामाजिक अवहेलना पनि हो । हामीलाई रहरले सुकुम्बासी भएका हुन् भन्नेहरु हो ! आएर एक रात यो छाप्रोमा बिताऊ, भोलिपल्टदेखि तिम्रा हजार गाली सहन तयार छौं ।’
मंसिर १७, २०७९मधु शाही

काठमाडौँ — अहिले सुकुम्बासीलाई खतरनाक हुकुम्बासीका रूपमा पनि चित्रण गर्न थालिएको छ, कतिपय त्यस्ता पनि छन् । तर, सुकुम्बासी हुनु आर्थिक परिस्थिति मात्र होइन, सामाजिक अवहेलना पनि हो । आम मान्छेहरू कसरी सुकुम्बासी बन्न बाध्य हुन्छन् ? म सुकुम्बासी हुँ भन्दै क्यामरामा बोल्नु रहर हो कि बाध्यता ? उत्तर खोज्न हामीले अहिले चर्चामा रहेकै वाग्मती किनार थापाथलीका सुकुम्बासी बस्ती चहारेका छौं ।

 

थापाथलीस्थित सुकुम्बासी बस्तीका ९० वर्षीय बलध्वज राई । बस्ती हटाउन महानगरको डोजर आएकै दिन कान्छा छोराको निधन भएपछि उनी शोकमा छन् । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर
दलमर्दन कामीको थातथलो वाग्मती किनार होइन । उनी तेह्रथुमको विकट दागंपा (हाल लालीगुराँस नगरपालिका–५) मा जन्मिएका हुन् । अन्न उब्जनी हुने खेती थिएन, घरबाहेक जमिन थिएन । वर्षभरि फलामका भाँडा पिट्ने, अन्न फल्ने बेला घरघर डुलेर ज्याला संकलन गर्ने । बालीघरे प्रथामा उनको परिवार निर्भर थियो, तर वर्षभरि खान पुग्ने अन्न जुट्दैनथ्यो ।

 

बुबाआमा र ९ छोराछोरीसहित ११ जनाको परिवार एउटै छानोमुनि बस्थ्यो । गरिबीको चपेटा त दलमर्दनको परिवारले भोगेकै थियो, त्यसमा पनि दलितमाथिको सामाजिक विभेद सहिनसक्नु थियो । एक दिन उनी स्कुल जाँदै थिए । बाटैमा कथित उपल्लो जातिका छिमेकी भेटिए । ‘आत्मीय भावमा मैले काका ! कहाँ जान लाग्नुभएको भनेर सोधेको मात्रै थिएँ, उनले त थुक्क कामी साइत बिगारिस् भन्दै मुखमा थुकिदिए,’ दलमर्दन सम्झिन्छन्, ‘मेरो कलिलो दिमाग घाइते भयो, म त मान्छे नै होइन कि क्या हो भन्ने छाप पर्‍यो ।’

त्यो घटनापछि उनी स्कुल जान छाडे र ‘मान्छे’ बन्ने थलो खोज्दै काठमाडौं आइपुगे । तर निरक्षर दलित उनलाई न्यानो सद्भाव दिने कोही थिएन । भोकै–प्यासै महिनौं र वर्षौं बित्दै गए, कतैबाट उछिट्टिएर वाग्मती किनारामा पुगे । उनी अहिले त्यहीं सुकुम्बासी बस्तीमा २८ वर्षदेखि संघर्ष गरिरहेका छन् । दलित अधिकार र राजनीतिक क्षेत्रमा जोडिएका छन् । ‘म मान्छे हुँ भनेर चिनाउन काठमाडौं आएँ, राजनीतिमा लागें, तर समाजमा जस्तै राजनीतिमा पनि विभेद छ,’ उनी भन्छन्, ‘राज्यले नै विभेद गर्छ, न्याय खोज्न कहाँ जाऊँ ?’

सुकुम्बासीहरूको तत्काल व्यवस्थापनको माग गर्दै अनशन बसेका दलमर्दन कामी । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

 

दलित भनेपछि सुरुका दिनमा उनले काठमाडौंमा डेरा पनि पाएनन् । नाम–थर ढाँटे, ‘गणेश कार्की’ बनेर तीन वर्ष भाडामा बसे । आफ्नै पहिचान लुकाएर बस्नुपर्दाको पीडाले उनलाई झन् ठूलो चोट दियो । पछि जे पर्छ भन्दै खुलेर दलर्मदन कामी भनी चिनाउन थाले । त्यसपछि भाडा मात्रै होइन, जागिर पाउन पनि मुस्किल परेको उनी बताउँछन् । ‘टेक्ने समाउने ठाउँ नै नभएपछि म सुकुम्बासी अवस्थामा आइपुगें,’ उनी भन्छन् ।

दलमर्दनका दुई सन्तान छन् । तिनैको अनुहारले निराश हुनबाट जोगाएको छ । आफूले जस्तै अशिक्षित, बेरोजगार, भूमिहीन, सुकुम्बासीजस्ता उपनाम सन्तानले भोग्नु नपरोस् भनेर उनी सचेत छन् । तर सरकारको डोजर भोलि आउँछ अरे, आजै आउँछ अरे, महानगरबाट हिँडिसक्यो अरे भन्ने सुनेर लालाबाला दिनहुँ आतंकित हुन्छन् ।

परिवार र आफूलाई पनि भरोसा दिन उनीसँग कुनै पहुँच छैन, त्यसैले महानगरपालिकाले डोजर ल्याएको दिनदेखि उनी आमरण अनशन पनि बसे । तर, राष्ट्रिय भूमि आयोगले तत्काल कुनै पनि स्थानका भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई नहटाउन सम्बन्धित सबै सरकारी निकायलाई निर्देशन दिएपछि शुक्रबारदेखि उनले अनशन तोडेका छन् ।

दलमर्दनका अनुसार सुकुम्बासी टोलमा अधिकांश दैनिकी मजदुरी गरेर जीविकोपार्जन गर्ने निमुखा वर्ग छन् । पहिले यहाँ २ सय ६५ परिवार थिए, अहिले १ सय ३५ मात्र छन् । सरकारले बेलाबेलामा तर्साउँदा धेरै परिवार छिन्नभिन्न भइसकेका छन् ।

दलमर्दनको छिमेकी टहराबाहिर लत्ताकपडा छरपस्ट थिए । पानी थाप्ने प्लास्टिकका भाँडा, भात पकाउने कसौडी र केही थाल–बटुका । ओछ्यान छाप्रोबाहिर धुलाम्मे भुइँमै । सिसा फुटेको थोत्रो दराजको छेउमा पर्मेसीदेवी मुखिया अडेस लागेकी थिइन् । बेलाबेला छामछाम छुमछुम पनि गर्दै थिइन् । फेरि भुइँमा असरल्ल ओछ्यान मिलाउन थाल्थिन् ।

दुवै आँखा नदेख्ने पर्मेसीले फुटेको ऐना छाम्नुको कारण के होला ? ‘यही दराज छ, अलि महँगो सामान भनेको । कसैले उठाइहाल्छ कि भनेर घरिघरि छाम्छु,’ उनी भयभीत हुँदै भन्छिन् । पर्मेसी र पति सल्टु मुखिया दुवै दृष्टिविहीन छन् । काठमाडौं महानगरपालिकाले गत सोमबार डोजर लगाउने तरखर गर्दा छाप्रोबाट सामान निकाल्न दृष्टिविहीन दम्पतीलाई कम्ता सास्ती परेन । अन्दाजका भरमा सामान निकाल्दा दराजको सिसै फुट्यो । उनीहरूको छाप्रोभित्रको महँगो वस्तु भनेकै यही दराज हो । त्यो पनि कसैले दयाले दिएको ।

थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका दृष्टिविहीन दम्पती सल्टु र प्रमेसी मुखिया । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

पर्मेसी पाँच वर्षको उमेरसम्म आँखा देख्थिन्, त्यसपछि ज्योति बिस्तारै कमजोर हुँदै गयो । ‘पछि त फिटिक्कै देख्न नमिल्ने भयो,’ उनी भन्छिन् । सिरहाको बल्टिया गाउँमा जन्मेहुर्केका पर्मेसीका छिमेकी थिएन सल्टु । उनी जन्मँदै दृष्टिविहीन थिए । ऐलानी जग्गामा बस्दै आएका सल्टु ९ सन्तानमध्येका साइँला हुन् । दृष्टिविहीन, त्यसमा पनि गरिबमाथि गरिने अमानवीय व्यवहार । बुबाआमालाई सास्ती परेका बेला सल्टु १२ वर्षकै कलिलो उमेरमा काठमाडौंमा आए । मागेर पेट पाल्न थाले ।

‘आँखा नदेख्नेले अरू के काम गर्न सक्छ र ?’ उनी भन्छन्, ‘वाग्मतीकै पुलमा बसेर दुई दशकदेखि मागेर पेट पालेको छु ।’ उनी आउँदा वाग्मती पुल पक्की बनिसकेको थिएन । काठको पुल छेउछाउ दिनभर हात पसारेर माग्थे । बेलुका खोलाकै किनारमा सुत्थे । जंगल र झाडी भएको ठाउँमा सल्टुले स्याउलाको बार लगाएर रातमा सुत्न थाले । त्यही छाप्रोमा बस्दाबस्दै पछि पर्मेसीलाई बिहे गरे । वाग्मती किनारको दुर्गन्ध त उनले पचाइसकेका थिए । छाप्रोमा आनन्दले सुत्ने अवसर भने उनीहरूले कहिल्यै पाएनन् । लागूऔषध खाने, मदिरा सेवन गर्ने बदमास केटाकेटी आएर उनीमाथि लुटपाट गर्थे । मागेर जम्मा गरेको पैसा पनि धेरैपटक लुटियो, तर दुःखै भए पनि उनीहरूले मिलेरै जीवन गुजारा गर्दै आएका छन् ।

सुकुम्बासी टोलमै उनले दुई छोराछोरी जन्माएका थिए । पाँच वर्षको छोरा बिरामी परेर बिते । छोरीलाई भने विदेशी संस्थाले पढाउन लगेको सल्टु बताउँछन् । ‘स्याउलाको छाप्रो देखेर विदेशीले टिनको छानो राखिदिए, त्यसैलाई अहिले बिल्डिङ भनेर प्रचार गर्छन्, गाली गर्छन् । सराप्छन् । तर जसका आँखा छैनन्, जोसँग शिक्षा छैन, जोसँग धन र रोजगारी छैन, अब दुनियाँले सरापे पनि योभन्दा बढी के नै होला र ?’ पर्मेसी आफैंसँग बोल्छिन् ।

सुकुम्बासी बस्तीमा डोजर पहिलो पटक आएको होइन । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला राति घेराबन्दी गरेर अचानक डोजर चलाइएको क्षणले यो दम्पतीलाई अहिले पनि तर्साउँछ । त्यतिबेला उनीहरूले एउटा पनि भाँडाकुँडा बाहिर निकाल्न पाएनन् । ‘अहिले महानगरपालिकाले डोजर ल्याउँदा पनि सामान निकालेका थियौं, तर जाने कहाँ ? हाम्रो जग्गा जमिन बताइदेऊ, सरक्कै जान्छौं,’ पर्मेसी भन्छिन् ।

थापाथलीको सुकुम्बासी बस्तीमा थरीथरी समुदायका नागरिक छन् । तर, धेरैजसो भने दलित समुदायका छन् । मोरङ जन्मथलो भएकी कमला रणपहेली (माझी) र गोपाल रणपहेली दम्पती तीनपुस्तादेखि सुकुम्बासी छ । घर कहाँ हो भनेर सोध्दा उनीहरूसँग जवाफ छैन । जन्मेहुर्केको गाउँ भने पथरी शनिश्चरे हो । गाउँकै ऐलानी जग्गामा उनीहरूका पुर्खा बिते । उनीहरू २० वर्षदेखि काठमाडौंमा सुकुम्बासी जीवन बिताइरहेका छन् ।

०५९ मा प्रेमविवाह गरेका उनीहरूलाई गाउँमा बस्ने वातावरण भएन । लुकेर भाडामा बस्न थाले । तर, आफन्तको हेलाहोचो, समाजको तिरस्कार र बेरोजगारीले काठमाडौं आइपुगे । वाग्मती किनारको छाप्रोमै उनीहरूका दुई छोराछोरी जन्मिए । छोराले पनि कलिलैमा बिहे गरेपछि परिवारको संख्या बढ्दो छ, छाप्रोको आकार उही । ‘सुकुम्बासी बन्न कसको रहर होला र ?’ कमला भन्छिन्, ‘सुकुम्बासी भनेको गरिब हुनु मात्र होइन, हेला पनि सहन बाध्य हुनु पनि हो । हामीलाई रहरले सुकुम्बासी भएका हुन् भन्नेहरू हो, आएर एक रात यो छाप्रोमा बिताऊ ।’

उमेरले ९० वर्ष टेकेका भोजपुरका बलध्वज राईको जीवनमा पनि कहिल्यै उज्यालो आएन । सुकिलो घरमा बस्ने उनको सपना अपूरै छ । यतिबेला उनलाई दुई थरी प्रश्नले चिमोटिरहेको छ । अर्को आफूलाई माया गर्ने कान्छो छोरा भर्खरै बितेका छन् । यही बेला छाप्रोमा डोजर लागे कहाँ गएर जीउ लुकाउने ?’ उनको प्रश्नको जवाफ दिने कोही छैन ।

९० वर्षीय बलध्वज राई ।

हुन पनि बस्ती हटाउन महानगरको डोजर आएको दिन उनका कान्छा छोरा अस्पतालमा मृत थिए । उनको अन्त्येष्टि गर्ने कि डोजर रोक्ने ? बूढो ज्यानले सोच्न सकेन । ‘छोरो सम्झेर रोऊँ कि घर सम्झेर, सहारा दिने छोरो दैवले लग्यो, ओत लाग्ने छाप्रो सरकारले खोस्दै छ । अब म कहाँ जाऊँ ?’ प्रश्नमा घोरिएर उनी बर्बरी रोए ।

भोजपुरको भिरालो पाखामा माटाको घर थियो उनको । अन्न उब्जनी गर्ने खेतबारी थिएन । दिनभर साहूको गोठालो गरेर बेलुका ४ माना कोदो पाउँथे । त्यही कोदो पनि ढिकीमा कुट्दा भुस निकालेर ३ मानामा झर्थ्यो । ‘अन्न नहुँदा पेटभरि कहिल्यै खान पाइएन,’ उनी सुनाउँछन् । त्यसैले उनी सहर पसेका हुन् । तर परिस्थितिले किनारामा पुर्‍यायो, उनीजस्ता नागरिकलाई राज्यले किनाराबाट मूलधारमा ल्याउनुपर्ने हो, उल्टै धकेल्ने नीति लिएको छ ।

कतै टेको नपाएपछि वाग्मती किनारका छाप्रामा आइपुग्ने थुप्रै छन् । जसमध्ये, सिरहा लहानकी रन्जुदेवी साह पनि हुन् । सानैमा आमाबुबा गुमाएकी उनको बालविवाह भयो । श्रीमान्को नाममा केही जमिन थियो । एक छोरा र छोरी जन्माएपछि श्रीमान्ले अर्को बिहे गरे । उनी घरबाटै लखेटिइन् । पढाइलेखाइ नभएकी रन्जु सुत्केरी अवस्थामै काठमाडौं आइन् । अरूको घरमा काम गर्न थालिन् । भाडा तिरेर डेरा बस्ने उनको हैसियत थिएन । सुकुम्बासी टोलमा उनी सारीले बारेर बस्न थालिन् । ‘म १७ वर्षदेखि यहीं बस्दै आएकी छु, पहिले लोग्नेले निकालिदियो, महानगरले पनि लखेट्दै छ, म कहाँ जाने थाहा छैन,’ उनी बिलखबन्दमा छिन् ।

धनुषाकी लक्ष्मी यादवको दुवै खुट्टा छैनन् । सानैदेखि शारीरिक अपांगता भएका उनको उपचार गर्दागर्दै परिवारले धेरै खर्च गरे । आमा रहिनन्, जमिन सकियो । त्यसपछि लक्ष्मीको जीवन–संघर्ष सुरु भयो । शिक्षा र सीप छैन, दुवै खुट्टा छैनन् । अरू उपाय नभएपछि मागेर खान थालिन् । माग्न हरेक दिन लगनखेलको सडक धाउँछिन्, ओत लाग्न थापाथली आउँछिन् । ‘सुकुम्बासी बस्तीमा छाप्रो बनाएर बसेको १८ वर्ष पुग्यो, मेरो पूरै जीवन यहीं किनारमा बित्यो, बुढेसकालमा सहारा दिने ठाउँ छाडेर म कहाँ जाऊँ ?’ उनको प्रश्न पनि अनुत्तरित छ ।

 


Last Updated on: December 5th, 2022 at 11:26 am
५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया