बिहिबार १९ माघ २०७९

एमाले र सत्ता गठबन्धन दुवै जसपा र राप्रपाको आधिकारिक निर्णय पर्खंदै

मोरङ — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल चुनावसँगै सकिएको र अब नयाँ ढंगले अघि बढ्ने अभिव्यक्ति दिएपछि प्रदेश १ को राजनीति तरंगित बनेको छ । यादवको विचारले हालै सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा बहुमत प्राप्त गरेको एमाले गठबन्धनको सत्तारोहण अन्योल बनेको छ । सत्ता गठबन्धनले जसपा र राप्रपालाई सरकार गठनका लागि फकाइरहेको छ । यस प्रदेशमा एमाले गठबन्धन वा सत्ता गठबन्धनमध्ये कसको सरकार बन्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ । सरकार गठनका लागि दुवै गठबन्धनले जसपा र राप्रपाको निर्णय पर्खिरहेका छन् ।

प्रदेश १ मा नेकपा एमाले सबै भन्दा ठूलो दल बनेको छ । ९३ सदस्यीय प्रदेश १ सभामा समानुपातिकतर्फ १५ र प्रत्यक्षको २५ गरी एमालेले ४०, कांग्रेसले प्रत्यक्षतर्फ १७ र समानुपातिकको १२ गरी २९, माओवादी केन्द्रले प्रत्यक्षतर्फ ९ र समानुपातिकको ४ गरी १३ सिट जितेको छ । यस्तै, राप्रपाले प्रत्यक्षमा २ र समानुपातिकमा ४ गरी ६, एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी ४ र जसपाले समानुपातिकमा १ सिट जितेको छ । दलहरूले प्राप्त गरेको सिट संख्याको आधारमा एमाले गठबन्धनले ४७ प्रदेश सांसदसहित बहुमत प्राप्त गरेको छ । प्रदेश सरकार गठनका लागि जसपाको समर्थन निर्णायक बनेको छ ।

 

तर अध्यक्ष यादवले सत्ता गठबन्धनकै सरकारमा जाने निर्णय पनि भइनसकेको बताए । उनले निर्वाचन प्रणाली, न्यायिक प्रणाली, समावेशीकरणका सवाल, पहिचानका सवाल र प्रदेशलाई अधिकार सम्पन्न बनाउने जस्ता आधारभूत कुराहरूलाई ठीक पार्नु आवश्यक रहेको बताए । यी विषयहरूलाई मध्यनजर गरेर संघ र सातवटै प्रदेशमा सरकारमा सहभागिताको विषयमा पार्टीको बैठकले एकै किसिमको निर्णय गर्ने यादवले बताए ।

सुनसरी १ बाट एमालेको सहयोगमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले अध्यक्ष यादवको भनाइलाई व्यक्तिगत भनेका छन् । दुवैको अभिव्यक्ति व्यक्तिगत हुनु स्वाभाविक भएको जसपाका प्रवक्ता मनीष सुमनले भनेका छन् । यादव, राई र सुमन तीनै जनाले पार्टीको बैठकले सरकारमा सहभागिता जनाउने विषयमा निर्णय लिने प्रष्ट पारेका छन् । जसपाको केन्द्रीय बैठकले निर्णय नगरुञ्जेल प्रदेश १ सरकार गठन अन्योल बन्ने भएको छ । यस प्रदेशमा जसपाले समानुपातिकमा पाउने एक जना प्रदेश सांसद नै सरकार गठनका लागि निर्णायक बनेको हो ।

एमाले गठबन्धनमा रहेर चुनाव लडेको राप्रपाले पनि एमालेसँगै गठबन्धन गरेर जाने निश्चित देखिएको छैन । राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले पनि यादवकै जस्तै भनाइ राखेका छन् । ‘निर्वाचन आयोगले समानुपातिकतर्फको प्रदेश सांसद निर्वाचित गरेपछि सत्ता साझेदारीको विषयमा निर्णय गरेर अघि बढ्छौं,’ उनले भने, ‘एमाले गठबन्धनसँगै सरकारमा जाने कुरा अहिले छैन, अब पार्टीको निर्णय गरेर अघि बढ्छौं ।’ राप्रपाले प्रतिपक्षमा नै बस्ने संकेत गरिसकेकाले एमालेको सरकार गठन चुनौतीपूर्ण देखिएको छ । पहिलो प्रदेशसभामा एमालेको सरकार ढलेपछि बनेको ५ दलीय गठबन्धन सरकारमा जसपाका जयराम यादव बहालवाला स्वास्थ्यमन्त्री छन् । एमाले गठबन्धनबाट मोरङ ५ (२) मा उम्मेदवार भएका यादव कांग्रेसका अमृत अर्यालसँग ५ हजार २ सय ७८ भोटले पराजित भएका छन् ।

 

समानुपातिकमा एउटा सांसद पाउने जसपा नै यो प्रदेशमा सरकार गठनको निर्णायक बनेको छ । सत्ता गठबन्धनले एमाले गठबन्धनमा निर्वाचनमा गए पनि यादवलाई मन्त्रीबाट नहटाएको रणनीति यतिखेर फलदायी हुने देखिएको छ । मोरङ ६(२) बाट प्रदेशसभामा निर्वाचित एव) अहिलेका आन्तरिक मामिला तथा कानुनमन्त्री कांग्रेसका केदार कार्कीले यसअघि ५ दलीय सरकार गठनको बेलामा १० वटा सिट भएको एकीकृत समाजवादीका राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार गठनका लागि जसपासहितको गठबन्धनले नै यस प्रदेशमा निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले अबको प्रदेश सरकार कांग्रेसको नेतृत्वमा गठन हुने र त्यसमा जसपाको सहभागिताले निरन्तरता पाउनेमा कुनै शंका नभएकाले सरकार गठनको तयारीमा लागेको बताए ।

एमाले गठबन्धनले बहुमत प्रदेश सांसद पाए पनि सरकार बनाउनेमा ढुक्क देखिँदैन । निर्वाचनमा तालमेल भएका राप्रपा र जसपाको नेतृत्व तहमा कुरा टुंगिएपछि मात्रै सरकार गठनको विषयमा भन्न सकिने एमालेका प्रदेश १ अध्यक्ष तुलसीप्रसाद न्यौपानेको भनाइ छ । ‘जसपा अध्यक्ष उपेन्द्र यादवको अभिव्यक्ति लगायतको विषय उठेकाले अहिले नै सरकारमा गइहाल्ने अवस्था छैन,’ उनले भने, ‘यसका लागि पार्टीको नेतृत्व तहमा कुरा भइरहेकाले त्यो निष्कर्षमा पुगे पछि मात्रै प्रदेश सरकार गठनको स्पष्ट मार्गचित्र प्रष्ट हुन्छ ।’

सत्ता गठबन्धन दल सरकार बनाउनेमा ढुक्क देखिए पनि राप्रपा र जसपाले सत्ता साझेदारीको बारेमा निर्णय गरिसकेका छैनन् । यी दुवै दलले निर्णय गरेर समर्थन गरेपछि मात्रै प्रदेश सरकार गठनको आधार तय हुने देखिएको छ । कांग्रेसबाट कानुनमन्त्री कार्की, केन्द्रीय सदस्यद्वय अमृत अर्याल र प्रदीपकुमार सुनुवार, समानुपातिकमा एक नम्बरमा नाम रहेका प्रदेश अध्यक्ष उद्धव थापा, माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र जीवन आचार्य र एमालेबाट हिक्मत कार्की यस प्रदेशमा मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् ।


Last Updated on: December 9th, 2022 at 1:18 pm
५० पटक हेरिएको

तपाईको प्रतिक्रिया